ब्लगशनिबार, जेठ १५, २०७३

कवायदका किताब

कमल दीक्षित

डेढसय वर्ष अघि नेपालीमा निकालिएका सैनिक किताबहरूले हाम्रो भाषामा पनि नयाँ शब्दहरू थपिदिएछन् ।

b8mCFic२०० वर्षयता यो विश्वमा नेपाली जातिलाई चिनाउने भनेको एउटै शब्द छ ‘गुर्खा’ या ‘गोर्खा’। हाम्रो जातिको विद्या कला कौशलबाट हामी अझैं चिनिन थालेका छैनौं । त्यति पहिले मानौं अनि अगाडि बढूँ। तर, त्यसो भन्नासाथ यस्तो एउटा प्रश्न उठिहाल्छ– हामी ‘गुर्खा’ या गोर्खाली नै हौं भने हामीलाई त्यतापट्टि ढाल्ने या ‘मोल्ड’ गर्ने संयन्त्र के त?

हामीले सिपाही हुनलाई पनि केही सिक्नु त पर्‌यो नै, अवश्य तालीम समेत लिनुपर्‍यो होला। कसरी लिन्थ्यौं त हामीहरू तालीम? त्यस्तो तालीम लिने–दिने कुनै प्रकारको लेखोट वा ग्रन्थ अथवा किताबहरू थिए नै होलान् त्यसबेला पनि। खोइ त ती? भए कहाँ–कहाँ छन्? जङ्गी अड्डामा छन्? हामीलाई थाहा छैन।

हामीलाई कति थाहा छ भने मदन पुरस्कार पुस्तकालय (मपुपु) मा १९६० सालअघि छापिएका केही दर्जन पुराना सैनिक पुस्तकहरू छन्। तिनमा सबैभन्दा पुरानो एउटा छ– जङ्गबहादुरको शासनकाल १९२६ सालमा छापिएर प्रकाशित भएको। महाराज जङ्गबहादुरकै कान्छा भाइ ‘सान्नानी’ कम्याण्डर इन चीफ धीरशमशेरले तयार पार्न लगाएको त्यो मसिनो किताबको नाम हो ‘सेना कर्तव्य, कवायेत्को किताब’।

पछि श्री ३ महाराज हुने चन्द्रशमशेर र भीमशमशेरहरूले पनि नेपालीमा त्यस्ता कवायदका किताब लेखेर छपाएका रहेछन्। १९४९ र १९५६ सालका बीच चन्द्रशमशेरले तीनोटा किताब निकाले– पैदल फौजको ‘बटालियन’, ‘ब्रिगेड’ ड्रिल अनि पैदल फौजको ‘डिफेन्स’ नामका।

भीमशमशेरले चाहिं तीभन्दा अलि माथि गएर बन्दूक र तोपको पुस्तक छपाएका रहेछन् ‘गनरी’ नामको १९५७ सालमा।

सैनिक विषयका यी किताबहरू देखौवा थिएनन्, कामका थिए। ती पढिन्थे। तिनकै आधारमा सिपाहीहरूको तालीम हुन्थ्यो। जङ्गी अड्डाले चलाएको ‘मिलिटरी स्कूल’ मा पाठ्यपुस्तकका रूपमा ती किताबहरू पढाइन्थे।

निजामतीपट्टि ‘चारपास’ को व्यवस्था भए झैं राणाकालमा जङ्गीतर्फ पनि ‘पास’ को जाँच हुन्थ्यो। कति हो ‘पास’ नभई सैनिकहरूको बढुवा हुँदैनथ्यो। मैले नै देखेको छु, उसबेला शहरका छिंडीहरूमा डेरा गरी बस्ने ‘दलेल’ र सिपाहीहरूले लालटिन या टुकीको उज्यालोमा कवायदका किताबहरू घोकिराखेका। त्यस्ता किताबका दफाका दफा कण्ठ पार्थे उनीहरू, अनि चण्डी पाठ गरेजस्तो सर्र उध्रन्थे!

यति लामो भूमिका बाँधेर भन्न खोजेको यत्ति हो―सैनिक विषयका यी किताबहरू पनि नेपाली पुस्तक सम्पदा हुन्, किनभने एक सय वर्ष भन्दा बढी समय तिनले पनि नेपाल राज्यको एउटा ठूलो वर्गलाई प्रभावित पारेका थिए। प्रभाव पारेको मात्र होइन, ती किताबहरूले त पहाडका अधिकांश रैतीलाई नियन्त्रणमा राखेका थिए भने हुन्छ।

जङ्गबहादुरले मुलुकी ‘आइन’ जारी गरिसकेपछि सेनालाई तालीम गर्ने पनि एउटा ‘म्यानुवल’ बनाउन लगाएका रहेछन्, १९१४ सालमा। त्यसको तर्जुमाकार को थियो, थाहा भएन। तर पछि कम्याण्डर इन चीफ रणोद्दीप सिंहले धीरशमशेरलाई त्यो परिमार्जन गरेर अर्को किताब बनाउन अह्राए।

आदेशानुसार धीरशमशेरले कर्णेल बंबीर जङ्गलाई माथि वर्णन गरिएको ‘सेना कर्तव्य’ नामक पुस्तक लेखाएर १९२६ सालमा छपाए। त्यो किताब सरकारी ‘इश्तिहार’ नै भएर आयो। भन्नाले, त्यस किताबले ऐनको दर्जा पायो। त्यस किताबको ‘प्रियाम्बल’ अथवा शिरबेहोरा पढ्दा भने अचम्म लाग्छ, यसरी संस्कृत श्लोकमा लेखिएकोले :

“पुण्यविक्रम संभार शतेन समुपार्जितम्।

राज्यं यत्नेन पाल्यन्त दैकमत्येन सादरम्।।

श्रीमहराज जङ्गादि बहादुराख्य बर्मणा।

पुत्रवत् पालित चमू शिक्षार्थमि यमा दरात्।।

कवायतस्य भाषाद्राक् बोधाय खलु मुद्रिता।

अनया शिक्षा जन्नेय भटानां विजयो भवेत्।।

अन्याय करणे दण्ड नरका विति शासनम्।

इति संस्मृत्य सर्वेषां मनो न्यायेषु युज्यताम्।।

श्लोकको अन्तिम पंक्तिले भन्छ– अन्याय गरुर्‍यो या अन्यथा गरुर्‍यो भने नरक परिनेछ, त्यसैले सबैले आफ्नो मनमस्तिष्क ठीक कुरामा लगाउन् इत्यादि। त्यो भनेको के भने सिपाहीहरूले कवायदका नियमहरू ठीकसँग पालन गरून् नत्र सजाय पाइनेछ। त्यसो भन्ने किताबहरूले नेपाली रैतीलाई किन प्रभाव नपारुन्? पारेछन्।

कतिसम्म भने, तिनले हाम्रो भाषामा केही नयाँ शब्द पनि निर्माण गरिदिएछन्! जस्तो; हाम्रो ‘टेन्छेन्’। अझ्, हामीकहाँ भित्रिएको ‘आजबार’ समेत अंग्रेजी सैनिक ‘कमाण्ड’ ‘याज यू वेर’ बाट आएको रहेछ।

त्यस्तै, ‘ठन्डेल हिच्’ ‘इस्ट्यान्ड याट ईज’ बाट। काठमाडौंमा मात्र होइन, पहाड–पहाडसम्म यी नेपाली पहिरनका मिलिटरी शब्दहरू सरोबरी भएर चले। फारसी र अरबी शब्दहरूलाई पचाएर आफ्नो पार्ने नेपाली जातिले यस्ता धेरै लबजहरूलाई नेपालीकरण गरिदिनु अचम्म होइन।

अब यो प्रकरणलाई टुंग्याऊँ धीरशमशेरको ‘सेना कर्तव्य’ का शुरूका दुई वाक्य नमूना दिएरः

‘पहिले नञा सिपाहीलाई बदं दुरुस्त राखन सिकाउनु सिर हात् घुडा हिलाउन षुंच्याउन भुञिमा हेर्न नदिनु सामंन्य १०० कदं सम्म टाडा हेर्न सिकाउनु सिर नहिलाइ तेर्छो आखाले दाहिना बाञा ३ फइल संम ट्रेस हेर्न सिकाउनु. पेसं को कां लिंदा टु टु लगाउनु टु टु मा कां साफ भयापछि वां टु थृ को गिन्तिमा पेसं को कां साफ भयापछि गिन्ति नलगाउनु म्यानुवल एक्सरसाइज प्लाटुं एकसरसाइजको पहिले दलेल गर्दा टु टु लगाउनु…।’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...