रमझमशनिबार, जेठ १५, २०७३
गिटारिस्टको सेवा
१२ वैशाख, २०७२ को भूकम्पपछि धेरै युवा राहत वितरण र स्व्यंसेवामा खटिए र विस्तारै आफ्नै दिनचर्यामा फर्किए। तर; जोरपाटी, काठमाडौंका बबी लामा भने अहिले पनि राहतमै खटिरहेका छन्।
सिन्धुपाल्चोक, भोताङका स्थायी बासिन्दा लामाले जिल्लाका भोताङ, थाङ्पालकोट, बरुवा, बासखर्कवासीलाई रु.५० लाखजतिको राहत सामान र नगद दिइसकेको बताउँछन्।
सांगीतिक समूह ‘मंगोलियन हार्ट’ का गिटारिस्ट एवं सहगायक लामाका मुख्य दाता फेसबुकका साथी हुन्।
“भूकम्पको चार दिनपछि हेलिकप्टर चार्टर गरेर भोताङ र बरुवाका घाइतेलाई काठमाडौं ल्यायौं”, उनी भन्छन्, “त्यसपछि विभिन्न गाविसका २०० गरीब परिवारलाई रु. ६ हजारका दरले रकम बाँड्यौं।” राहत अन्तर्गत उनले सिन्धुपाल्चोकका २५ विद्यालयलाई स्टेशनरीका साथै स्वास्थ्य शिविर पनि आयोजना गरेका छन्।
हाल १० वटा विद्यालयलाई सांगीतिक सामग्री बाँड्न सिन्धुपाल्चोक डुलिरहेका लामा अप्ठेरो बाटोका कारण सामान पुर्याउन गाह्रो परेको बताउँछन्। “काम थालिहालियो अब सकुञ्जेल लागिरहन्छु”, उनी भन्छन्।