समाचारआइतबार, जेठ १६, २०७३
बजेटको आलोचनामा कुनै दम छैनः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष लगायतले आगामी आव २०७३।७४ को बजेट ठूलो आकारको र वितरणमुखी भयो भनी गरेको आलोचनाको पछाडि कुनै दम नरहेको टिप्पणी गरेका छन् ।
आज संसद् भवन नयाँ बानेश्वरमा बसेको नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने, “देशको विकास, जनताको उत्थान र संविधानले कल्पना गरेको समाजवाद उन्मुख बजेट आएको छ ।”
जनताका समस्या सम्बोधन र नेपाललाई अघि बढाउने सन्दर्भमा बजेटले स्पष्ट नीति र दृष्टिकोणका साथ कार्यान्वयनको लक्ष्य लिएको प्रधानमन्त्री ओलीले दाबी गरे ।
उनले प्रमुख प्रतिपक्ष भएका नाताले ‘असहमति त राख्नैपर्यो’ भनेर कांग्रेसले बजेटमाथि टीक्काटिप्पणी गरेको पनि दाबी गरे ।
उनले भने, “नेपाल राष्ट्र बैंकमा रहेको पैसा अर्थ मन्त्रालयमा पोको पारेर राख्ने होइन, बाटोघाटो, पुल, औषधि, स्थास्थ र शिक्षाको विकासका लागि बजेट छरेकै हो ।”
गत वर्षको तुलनामा यस आवमा चार प्रतिशतले बजेटको आकार कम रहेको भन्दै ओलीले बजेटका सिद्धान्त र प्राथमिकताले देशलाई विकास र समृद्धिमा अघि बढाउन कुनै कसर बाँकी नराखेको पनि बताए ।
“देश विकास कसरी हुन्छ, कसरी गर्नुपर्दोरहेछ भन्ने कुरा बजेट कार्यान्वयनबाट देखाइनेछ,” ओलीले भने ।
कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिपक्षलाई बजेट मन नपरेर होइन, सरकारले बढी लोकप्रियता प्राप्त गर्ने चिन्ताले आलोचनाका लागि मात्र टिप्पणी गरेको धारणा व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
