समाचारआइतबार, जेठ १६, २०७३
बजेटबारे महत, पुन र खनालको धारणा
नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले हालै सरकारले ल्याएको बजेटले मुलुकको अर्थतन्त्रलाई संकटमा पार्न सक्ने चेतावनी दिएका छन् ।
उनले बजेट कार्यान्वयन हुन नसक्ने दाबी गर्दैे संसद विकास कोषको रकम, सामाजिक सुरक्षाभत्ता र कर्मचारीको तलब बृद्धिले अर्थतन्त्रमा प्रतिकुल असर पार्नेतर्फ ध्यान नदिइएको बताए ।
बजेटलाई ‘कसैको ईच्छापत्र’ भन्दै उनले सरकारले स्रोत जुटाउन नसक्ने ठोकुवा समेत गरे ।
रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा महतले भने, “सरकारले साधन स्रोत जुटाउन सक्दैन ।साधारण खर्चमै अधिकांश बजेट सकिन्छ, विकास खर्चमा रकम नै बाँकी रहँदैन ।”
राजनीतिक लक्ष्यका साथ आएको बजेटबाट आफूहरु सन्तुष्ट नभएको भन्दै महतले कृषिमा दिएको अनुदान दुरुपयोग भएर उत्पादकत्व बृद्धि नहुने, ६.५ प्रतिशतको आर्थिक बृद्धिदर सम्भव नभएको, ७ प्रतिशतमा महंगी नियन्त्रण गर्नेकाम असम्भव रहेको र बजेटले महंगी मात्रै बढाउने दावी गरे ।
“यो बजेटले मुल्य बृद्धि गराउँछ, सरकारले एउटा हातले दिएर अर्को हातले लिन खोजेको छ,” महतले भने, “भूकम्प पीडितलाई दुई लाख दिन नसकेको अवस्थामा तीन लाख दिन सम्भव छैन, आन्तरिक ऋण पनि खर्बमा सम्भव छैन ।”
उनले बैदेशिक अनुदान दिनप्रतिदिन घटिरहेको र लक्ष्य अनुसार आन्तरिक राजस्व परिचालन पनि सम्भव नभएको बताए ।
पूर्व अर्थमन्त्री वर्षमान पुनले मधेशको असन्तुष्टी संबोधन हुन नसकेको र तत्काल खर्च गर्ने क्षमताको बृद्धि हुन नसक्ने भएकोले बजेट कार्यान्वयनमा चुनौति भएको बताए ।
उनले बजेट सकारात्मक भए पनि कार्यान्वयनमा चुनौति भएकाले सबै मिलेर कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
पुनले संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी काम टुङग्याउने, उत्पादकत्व बढाउने र सामाजिक सुरक्षा बजेटको प्राथमिकता भएको भन्दै ठूला आयोजनाहरु आफै निर्माण गर्ने संकल्प सकारात्मक भएको टिप्पणी गरे ।
यद्यपि उनले अर्थमन्त्रीको जिल्लामा १२ वटा ठूला आयोजना र प्रधानमन्त्रीको क्षेत्रमा त्यो भन्दा बढी आयोजना बनाएर मध्य र सुदुरपश्चिममा कम आयोजना परेको विषय राजनीतिक भएकोले यसमा अर्थमन्त्रीले प्रष्ट पार्नु पर्ने धारणा राखे ।
पुनले पुर्ननिर्माणमा पर्याप्त रकम विनियोजन भएपनि त्यसको खर्च गर्ने स्पष्ट आधार सहित विश्वास दिलाउन सक्नु पर्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने गरी बेपत्ता परिवारलाई राहतको कुरा नपरेकोप्रति भने असन्तुष्टी ब्यक्त गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको कुराहरु नीति तथा कार्यक्रम र बजेटमा नपरेको प्रति टिप्पणी गर्दै उनले नेतृत्वले बोल्दा जहिले पनि यथार्थ धरातलमा आधारित रहेर बोल्नु पर्ने अन्यथा नेतृत्वप्रतिको विश्वासमा संकट पैदा गर्ने तर्फ सचेत गराए ।
“जनता त्रिपालमा बसेका छन । चन्द्रमामा घर बनाउने कुरा गर्नु हुँदैन,” उनले भने, “सपना पनि यथार्थको धरातलसँग मिल्ने देख्नुपर्छ ।”
पूर्व अर्थसचिव रामेश्वर खनालले दिगो रुपमा राजस्व बढ्छ भन्ने निश्चित नभई आन्तरिक राजस्व बढाउन खोजिएकोले ठूलो संकट ल्याउने सम्भावना औल्याउँदै बजेट ठूलो आँधी आएको बेला जहाज बचाउने प्रयास जस्तो मात्रै भएको टिप्पणी गरे ।
उनले बजेटको कार्यक्रममा खोट लगाउने ठाँउ नभए पनि सामाजिक सुरक्षा भत्ता र तलब बृद्धिले समस्या पार्न सक्ने भन्दै बजेटले विपन्नको ज्यालाको सुरक्षा नगरी करदाताको करबाट बाँच्नेको सुरक्षा मात्रै गर्न खोजेको तर्क गरे ।
उनले बजेट कार्यान्वयनमा चुनौति रहेको स्पष्ट पार्दै अर्थमन्त्रीले कार्यान्वयनमा हिम्मत गर्नु पर्ने र जनता पनि सचेत हुनु पर्ने आवश्यकता औल्याए ।
खनालले यस्तै बजेट ल्याउँदा ग्रिस र भेनेजुएला संकटमा परेको उदाहरण प्रस्तुत गर्दै बजेट राम्रो भनेर तारिफ गर्न खोज्दा खोज्दै पनि केही विषयहरुले झस्काएको धारणा राखे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
