समाचारसोमबार, जेठ १७, २०७३

माओवादीसँगको सहमति राष्ट्रिय सहमतिका लागि हो: नेता नेपाल

हिमालखबर

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीसँगको सहमति राष्ट्रिय सहमतिका लागि भएको बताएका छन् ।

प्रेस चौतारीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले संविधानको कार्यान्वयन, राष्ट्रिय आवश्यकता एवम् चुनौतीको सामना गर्न राष्ट्रिय सहमतिको विकल्प नभएको र त्यसका लागि नेकपा एमाले तयार रहेको बताए ।

सङ्क्रमणकालीन अवस्थामा राष्ट्रिय सहमतिबाटै अघि बढ्नुपर्नेमा उनको जोड थियो । सरकारले प्रस्तुत गरेको बजेट जनमुखी भएको उल्लेख गर्दै नेता नेपालले नेपाली जनतामा आशा जगाएको बताए ।

कृषि, ऊर्जा र औषधोपचारलाई बजेटमा प्राथमिकता दिइएको बताउँदै पूर्व प्रधानमन्त्री नेपालले देशको समग्र विकासका लागि एकद्वार नीतिलाई अवलम्बन गरी अघि बढ्नुपर्ने धारणा राखे ।

सांसद विकास कोषका लागि विनियोजित रकम भने आवश्यक नभएको उनको भनाई छ । राष्ट्रिय परिचयपत्र र गरिब पहिचान परिचयपत्र वितरण कार्यलाई अघि बढाउन सके त्यसले राष्ट्रियतालाई थप मजबुत बनाउने र नागरिकताको विवाद अन्त्य गर्ने पनि उनले धारणा व्यक्त गरे ।

राजनीतिक क्रान्तिको अगुवाइ गरेको नेकपा एमालेले आर्थिक क्रान्तिको पनि अगुवाइ गर्नसक्ने बताउँदै उनले योग्यता क्षमताको मूल्याङ्कन गर्दै पार्टीमा अधिकतम सल्लाह गरी अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>