Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
साहित्यमा वादको विकृति (मञ्जुश्री थापासँग कुराकानी) - Himalkhabar.com

अन्तर्वार्ता/विचारसोमबार, जेठ १७, २०७३

साहित्यमा वादको विकृति (मञ्जुश्री थापासँग कुराकानी)

हिमालखबर

manjushreeअंग्रेजीमा लेख्ने थोरै नेपाली साहित्यकारमध्येकी एक मञ्जुश्री थापा (४८) का आख्यान, गैरआख्यान र अनुवाद गरी १० वटा पुस्तक प्रकाशित छन् । नवीनतम उपन्यास ‘अल अफ अस् इन आवर ओन् लाइभ्स्’ सार्वजनिक गर्न यसै साता क्यानाडाबाट काठमाडौं आएकी थापासँगको कुराकानीको अंश:

द ट्युटर अफ हिष्ट्री र सिजन्स् अफ फ्लाइट दुवै उपन्यास व्यक्तिगत स्वतन्त्रतामा केन्द्रित थिए । अल अफ अस् इन आवर ओन् लाइभ्स् मा फरक के छ ?
यो उपन्यासमा मैले नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, गैरसरकारी संस्था र जनताबीचको सम्बन्धको कथा बुनेकी छु । जुन समाजमा मान्छेको जीवनको मूल्य कम छ, त्यो समाजमा गैरसरकारी संस्थाको जीवन कसरी चलिरहेको छ ? लाभान्वित भनिने समुदायको अवस्था कस्तो छ ? त्यसैको चरित्र चित्रण गर्ने कोशिश गरेकी छु ।

कथामा दाता र जनता भए पनि लेखनीमा मेरो ‘थिम’ भने बौद्ध दर्शनसँग सम्बन्धित छ । कहिल्यै नदेखेका, नचिनेका मान्छेले हाम्रो जीवनमा कसरी प्रभाव पारिराखेका हुन्छन् ? हामी कसरी आपसमा निर्भर हुन्छौं ? भन्ने विषयवस्तु केलाइएको छ ।

दातामुखी अर्थतन्त्रले नेपालमा वर्गीय खाडल बढाएको एकथरीको तर्क छ । के तपाईंका पुस्तक यसखाले विकृतिबारे बोल्छन् ?
मैले भन्न खोजेकै यही हो । मेरा पात्रहरू क्यानाडा, काठमाडौं र बुटवलका गाउँ–गाउँसम्म पुगेका छन् । गैरसरकारी संस्थाले कसरी अंग्रेजी बोल्ने वर्गलाई फाइदा पु¥याइरहेको छ र जनता कसरी प्रयोग भइरहेका छन् भन्ने सन्दर्भ पनि छ । मैले जानेसम्मको दाता राजनीतिलाई उपन्यासमा उतार्ने प्रयत्न गरेकी छु ।

manjushree2सामाजिक सञ्जालमा खरो राजनीतिक टिप्पणी गर्न रुचाउने तपाईं कृति भने बौद्ध दर्शन प्रभावित भएको बताउनुहुन्छ । यो विचारको विरोधाभास त होइन ?
त्यस्तो होइन । आख्यानमा एउटा ‘थिम’ हुन्छ । बौद्ध दर्शन त्यही हो । यहाँ पनि पुराना कृतिमा जस्तो सामाजिक र राजनीतिक विषय नभएका होइनन् । तर, पहिलो जस्तो सोझो हिसाबबाट तर, पहिलो जस्तो सोझो होइन रिफ्र्याक्टेड (परावर्तित) ढंगबाट आएका छन् । तर, मेरो लेखनीको सामाजिक र राजनीतिक चिन्तनमा त उही छ ।

के हो त तपाईंको सामाजिक र राजनीतिक चिन्तन ?
साहित्य लेखनीको प्रारम्भदेखि नै म प्रगतिशील समूहसँगको बाक्लो संगतमा थिएँ । त्यो बेलादेखि अहिलेसम्म म यही चिन्तनलाई पछ्याइरहेकी छु जस्तो लाग्छ ।

साहित्यमा आफूलाई उदारवादी भन्ने संकीर्ण अनि प्रगतिशील भन्ने नै पाखण्डी भएका पात्र प्रशस्त देखिन्छन् । किन यस्तो हुन्छ ?
यो भनाइ तपाईंको हो । तर, जसले आफूलाई उदारवादी र प्रगतिशील भन्छन्, उनीहरू व्यवहारमा पनि त्यस्तो देखिनुपर्छ ।
नेपालमा म यी दुई विचारमा साहित्यकारबीच अनावश्यक ध्रुवीकरण देख्छु । यो विकृति हो । साहित्यमा यी दुई विचार सँगसँगै जानुपर्छ । म बसिरहेको क्यानाडामा त ‘लेफ्ट लिबरल’ पनि मध्यमार्गी अवधारणा नै हो ।

कतिपयमा उदारवाद र प्रगतिशीलता फेसनजस्तो लाग्छ । तर, गुदीमा ध्यान दिनुपर्छ । प्रगतिशील भनिनेहरूले पनि प्रकाशन र समालोचनामा ध्यान दिनसकेका छैनन् । नयाँ पुस्ताले केही गर्दैछन्, तर त्यो पर्याप्त छैन ।

सम्राट उपाध्यायलगायत अंग्रेजीमा लेख्ने नेपाली साहित्यकारहरूले नेपाली जनजीवनको चुरो नबुझी लेखिरहेको आरोप लाग्ने गरेको छ नि ?
ठ्याक्कै त्यस्तो हो जस्तो मलाई लाग्दैन । बरु यसका दुईवटा पाटा हुनसक्छन् । पहिलो त अंग्रेजी भाषामा लेख्नेहरूले धेरै काठमाडौं मात्र लेखिरहेका छन् । बाँकी नेपालबारे लेख्नै बाँकी छ । अर्को कुरा चाहिं विश्वसाहित्यका पाठकलाई मनमा राखेर सबैलाई बुझाउन खोज्दा लेखकले समाजका जटिल सम्बन्धलाई पनि सरल र स्पष्ट पार्न खोज्छन् । पाठकलाई विश्वसनीय र सरल पार्ने लोभमा अपनाइने यही शैलीलाई सतही भनिएको हुनसक्छ । तर, सम्राट उपाध्याय जस्ता लेखकले आफ्नो कृतिमा नेपालबारे लेख्नु नै गर्वको कुरा हो ।

म भने समाजका जटिलतालाई त्यही रूपमा उतार्नुपर्छ भन्छु । जेरीजस्तो, हेर्दा कति ठाउँ गाँठो परेको तर खाँदा स्वादिलो ! तर, त्यस्ता कृति अनुवादबाट मात्र विश्वसाहित्यमा आउन सम्भव छ ।

अहिलेका नयाँ अंग्रेजी लेखकहरूले पनि नेपाली भाषामा लेख्ने साहित्यकारसँग संसर्ग बढाएका छन् । देश घुम्न थालेका छन् । यसबाट उनीहरूको लेखनमा समाजका वास्तविक चित्रण आउन थालेको छ । यो सकारात्मक कुरा हो ।

manjushree1तपाईंको हेराइमा विश्वसाहित्यमा नेपाली साहित्यको कमजोरी कहाँनेर छ ?
विषयवस्तु र लेखनशैली दुवैमा नेपाली साहित्य संसारका कुनै पनि साहित्यभन्दा कमजोर छैन । मात्र अनुवादको कमी छ । म अमेरिकामा पढें, हुर्किएँ । नेपाली भएकाले नेपाली साहित्यसँगै सम्बन्ध गाँस्न चाहें । नेपाली साहित्य बुझ्ने क्रममा विस्तारै अनुवाद गर्न र छपाउन थालें । मेरो अनुभवले पनि भन्छ, हाम्रा धेरै कृति बलिया छन्, छानी छानी तिनको अनुवाद गराउनुपर्छ । म आफैं पनि कोशिश गरिरहेकी छु ।

कस्तो कोशिश ?
म यतिबेला इन्द्रबहादुर राईको ‘आज रमिता छ’ उपन्यासलाई अंग्रेजीमा अनुवाद गरिरहेकी छु । अरू थुप्रै अनुवाद गर्ने रचना र कृति मसँग छन् । तर, लामो समय लाग्ने र कसैबाट आर्थिक सहयोग नपाइने विधा हो, यो । यसका लागि एकेडेमी जस्ता सरकारी लगानीका संस्थाले विशेष योजना अघि सार्नुपर्छ ।

तपाईंले २०५७ सालको हिमाल खबरपत्रिका को अंकमा ‘धन्न लेख्दैछन् हाम्रा साहित्यकार’ आलेखमा लेखकको आर्थिक उपार्जनको चिन्ता गर्नुभएको थियो । स्थिति सुध्रिएको वा उस्तै छ ?
केही सुधार त भएको छ । दुई, चार जना लेखक लेखेरै बाँच्न सक्ने पनि भएका छन् । एक हूल लेखकले राम्रो पाठक पनि पाएका छन् । पहिले त पुस्तक छपाउनु नै कठिन थियो । एकेडेमी जस्ता सरकारी प्रकाशन गृहबाट पुस्तक छपाउन लामो समय पर्खनुपथ्र्यो । आफैं छाप्दा बजार र आर्थिक भार थेग्न मुश्किल थियो । अहिले निजी प्रकाशन संस्थाको उदय र प्रकाशनको गुणस्तरले आश गर्ने ठाउँ दिएको छ । तर, गर्न अझै बाँकी छ । राम्रा सहित्यका पाठक बढाउनु आवश्यक छ ।

आइरिस लेखक डर्भला मर्फीको नेपाल नियात्राको प्रसंग उठाउँदै ६ वर्षअघि तपाईंले न्यूयोर्क टाइम्स मा परिवर्तनको पर्खाइबारे लेख्नुभयो । पर्खाइ जारी छ, होइन ?
निश्चय नै । मेरो बाल्यकालदेखि नै म देशमा आन्दोलन देखिरहेकी छु । अहिले त लाग्छ, जीवनभरि नै आन्दोलन चलिरहेछ र आउँदो पुस्ताले त्यसको फल पाउनेछ ।

आन्दोलनले चेतनाको क्रान्ति नै ल्याएको छ । तर, दुर्भाग्य त्यो चेतना ल्याउने अहिलेका यिनै नेताहरूले चेतनशील वर्गको नेतृत्व गर्न सकेनन् । आफैंले ल्याएको चेतनाको भेल व्यवस्थापन गर्न सकेनन् र देश राजनीतिक अस्थिरतामा फँसेको छ । तर, चेतना सधैं दबेर बस्दैन । आज नभए भोलि चेतनाको नेतृत्व गर्ने व्यक्ति आएरै छाड्छ । गोपालप्रसाद रिमालले ‘हो, बा त्यो आउँछ’ भने झैं त्यो आएरै छाड्नेछ ।

तपाईंका फुटकर लेख र टिप्पणीले एकैपटक गायत्री स्पिभाकका सवाल्र्टनका पात्र र अरुन्धती रोयका विद्रोही स्वरमा स्वर भर्न खोजिरहे झैं लाग्छ । तपाईंको लेखन यसैको विस्तार हो ?
हो, म साहित्य लेखनको त्यही पंक्तिमै छु । विश्वको ठूलो हिस्सा त्यो पंक्तिमा छ । अमेरिका, उत्तर–अमेरिका, क्यानाडा जस्ता देशहरूको स्थिति अलग छ तर त्यसबाहेकका देशमा साहित्यले समाज र राजनीतिकै कुरा उठाइरहेको छ । प्रगतिशील लेखनको ठूलो समूह र प्रवृत्ति त्यहाँ छ । कतैकतै यस्ता लेखकलाई ‘इन्गेज राइटर्स’ पनि भनिन्छ । यस्तो विषयमा कलम चलाएर म लेखक हुनुको कर्तव्य निभाइरहेको छु जस्तो लाग्छ ।

पछिल्लो समय सरकार विरोधका स्वरलाई दबाएर भयको राज्य निर्माण गर्न खोजिरहेको देखिन्छ । यसलाई कसरी बुझ्नुभएको छ ?
महाभूकम्प र त्यसपछिका राजनीतिक घटनाक्रमले नेपालीमा देश बचाउन केही गर्नुपर्छ भन्ने भाव जागृत गरेको थियो । तर, सरकार यो जनभावनाको दुरुपयोग गरिरहेको छ । भूकम्पपीडितलाई राहत दिन असफल सरकार आफ्नो कमजोरी र अक्षमता लुकाउन विरोधी विचारलाई दबाउन थालेको देखिन्छ । सरकारको ‘इन्फेरियोरिटी कम्प्लेक्स’ बाट ग्रस्त छ । यस विरुद्ध लेखकले लेख्ने–बोल्ने बेला हो, यो ।
प्रस्तुति:रविन गिरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>