ब्लगसोमबार, जेठ १७, २०७३
प्रधानमन्त्रीलाई खुलापत्र: खै बुझेको वेदना ?
कर लिने बेला हामीलाई तपाईंको पक्ष वा विपक्षी सोधिंदैन तर करको हिसाब खोज्दा विरोधी झैं व्यवहार गरिन्छ, किन ?
आदरणीय प्रधानमन्त्रीज्यू,
म राजनीति बुझने प्रयास गरिरहेको एक नेपाली हुँ । राजनीतिले मेरो जीवनसँग प्रत्यक्ष सरोकार राख्छ । तपाईं जस्ता राजनीतिज्ञहरूको जीवनको प्रमुख खर्च हामीले तिरेकै करबाट धानिने हुनाले पनि राजनीतिप्रति हामी आँखा चिम्लिन सक्दैनौं ।
तपाईंको मत वा योजनामा कटाक्ष गर्ने मलाई कुनै रहर छैन न त फुर्सद नै छ । म सक्षम नागरिक हुँ, राज्यको कानून र करको दबाबको सम्मान गर्दै काम गरिरहेकै छु । विदेश जान नपाएर हैन, नचाहेर देशमै बसेको हुँ । हामीजस्तो मध्यमवर्गीय परिवारका लागि जीविकोपार्जन नै ठूलो चुनौतीका रूपमा छ ।
चुनौतीकै आलोकबीच आफ्नो जीवन मात्र होइन, अभिभावकको स्वास्थ्य, सन्ततिको भविष्यको चिन्ताले हरक्षण पिरोलिरहन्छ । स्वास्थ्य, शिक्षा र महँगीमा फैलिएको विकृतिले हद नाघेको छ । तर, म जस्ताले बेलाबेला सामाजिक सञ्जालमा असन्तुष्टि पोख्नुभन्दा गर्न पो के सक्छौं र !
प्रधानमन्त्रीज्यू, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, नेपालका ४२ प्रतिशत जनसंख्याको इन्टरनेटमा पहुँच छ । जनसंख्याको करीब ४० लाख व्यक्ति फेसबूक र १७ लाखले ट्वीटर प्रयोग गर्छन् ।
सामाजिक सञ्जालका अतिरिक्त आफ्ना समस्या सुनाउन मुलुकमा अर्को कुनै सामाजिक फोरम छैनन् । भएका केही सञ्जाल पनि राजनीतिक सिद्धान्तप्रेरित छन् ।
सर्वोच्च अदालतमा एक दशकदेखि २२ हजार मुद्दा थाती छन् । मृत्युशैय्यामा पुगेको नेपाली क्रिकेटको मुद्दामा त समयमै फैसला दिन नसक्ने सर्वोच्च अदालत जस्ता निकायले हाम्रा दैनन्दिनका गुनासा सुन्ने त कुरै भएन !
प्रधानमन्त्रीज्यू, तपाईंको स्वास्थ्यमा समस्या पहिलेदेखिकै हो, त्यसैले त तपाईं प्रधानमन्त्री भएपछि स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा हामीले गरेका थियौं । तर, सरकारले निःशुल्क घोषणा गरेको औषधि पनि स्वास्थ्य केन्द्रमा होइन, औषधि पसलमा पो भेटिन्छ । स्वास्थ्यकर्मी पनि अस्पतालमा होइन, क्लिनिकमै व्यस्त छन् ।
स्वदेशमा सही उपचार नपाएर विदेश जाने त नेताहरू हुन्, आम नेपालीलाई विदेश जान त वैदेशिक रोजगारी नै कुर्नुपर्छ । विदेशमा सामान्य रोग देखिंदासमेत निकालिने र रोग पहिचान, उपचार अभावमा ऋणको थाप्लो नबिसाई बाकसमा आइपुग्नुपर्ने बाध्यताबारे तपाईं जानकार हुनैपर्छ । यस्तो बेला सामाजिक सञ्जालमा तपाईं र सरकारप्रति पोखिने टिप्पणी कटाक्ष होइन, वेदना हो ।
कक्षा १ पनि नपुगेको छोराको भर्ना खर्चको हिसाबले अभिभावकलाई बिरामी बनाउँछ । महँगो शिक्षा रहर होइन बाध्यता बनेको छ । सरकारले वार्षिक बजेटको करीब १३ प्रतिशत शिक्षामा खर्च गर्छ । तर, खै त सामुदायिक विद्यालयको स्तर बढेको ?
तपाईंलाई पढ्ने बेला जेल कोचियो । अहिले तपाईंलाई नपढेको प्रधानमन्त्री भनी धेरैले आलोचना गर्छन् । कहिलेकाहीं त तपाईंलाई पनि यो कुराले सताउँदो हो । त्यसैले पनि हामीले सोच्यौं, तपाईंले शिक्षाको महŒव बुझनुभएको छ ।
शिक्षा क्षेत्रको माफियातन्त्र सफाया गर्दै सामुदायिक विद्यालयको स्तरोन्नति गर्नुहुनेछ, निजी विद्यालयको चर्को शुल्क नियन्त्रण गर्नुहुनेछ । तर तपाईंले त शिक्षामन्त्री यस्तो नेता बनाउनुभयो जो विद्यालय भवनमै ब्यारेक बनाउने चाहना राख्छन् । हामीले सुलभ शिक्षाको यही कुरा सामाजिक सञ्जालमा राख्यौं, तर तपाईंले विरोधी झ्ैं ठान्नुभयो ।
प्रधानमन्त्रीज्यू, भूकम्पले घर र मन ढल्यो । सरकारले हाम्रो भत्किएको घर, वेदना र आँशु देखाएर स्वदेशी र विदेशीसँग पैसा उठायो । तर, तपाईंको दलले तपाईंकै आडमा राहतमा राजनीतीकरण गरे । ठूलो परिमाणमा राहत विमानस्थलमै कुहियो, जलाइयो ।
तपाईंको शासनमा जेको आशा थिएन, त्यही भयो । तर, तपाईं भने आफन्तको मात्रै प्रधानमन्त्री बन्नेतिर लाग्नुभयो । त्यही भएरै हामीले सामाजिक सञ्जालमा असहमति जनायौं । सचेत नागरिकको धर्म नै सरकारलाई सचेत गराउनु होइन र ? तर, तपाईं त हामीसँगै रिसाउनुभयो ।
तपाईंले घर घरमा ग्याँस पुर्याउँछु भन्नुभयो । अब कालोबजारी गुहार्नु नपर्ने भयो भनी दंग भयौं । उत्साहित बनें । तर, भनाइ र गराइमा खाडल देखियो । आवश्यक आधारभूत काम पनि हुन सकेन । तपाईंले धरातल बिर्सनुभयो ।
देश लोडसेडिङमुक्त भयो भने मेरो व्यवसाय खर्च २० प्रतिशतले कम हुनेछ । नाफा बढ्नेछ । खै त तपाईंले भनेको लोडसेडिङ घटेको ? तपाईं सुशासनका कुरा गर्नुहुन्छ तर आफैं औपचारिक रूपमा परीक्षण र दर्ता नै नभएको विमान चढेर विदेश जानुहुन्छ ! प्रधानमन्त्रीज्यू, के हामीले यति सोध्न पनि नपाउने ?
किन आमजनका गुनासो तपाईंलाई कटाक्ष लाग्छ ? हाम्रा आग्रह किन असहिष्णु लाग्छ ? प्रधानमन्त्रीका रूपमा तपाईंको हृदय हामीलाई किन संवेदनशील लाग्दैन ? वाक्पटु तपाईंले पक्कै पनि जनगुनासोलाई अन्यथा लिनुहुने छैन । यति कुरा सोध्ने मलाई विरोधी वा विपक्षी भन्नुहुने छैन भनी आशा गर्दछु ।
तपाईंलाई शुभकामना !