थप समाचारमंगलबार, जेठ १८, २०७३

नाकाबन्दीले ल्याएको बहार

हिमालखबर

नाकाबन्दीका बेला वीरगञ्जको विकल्प मानिएको भैरहवाको सुनौली नाका आयातकर्ताको पहिलो रोजाइ बन्न थालेको छ ।

–दीपक ज्ञवाली, बुटवल

blockedभैरहवा–बुटवलबीचको पत्थरडाँडामा अचेल बेग्लै रौनक छ। दुई बिघा क्षेत्रफलमा आधुनिक यार्ड (पार्किङस्थल), डिजल ट्यांक लगायतका संरचना बनिरहेका छन्। त्यही कम्पाउण्डभित्र दिनहुँ टाटा कम्पनीका नयाँ–नयाँ सवारी साधन भित्रिन्छन्। टाटा मोटर्सको नेपाली बिक्रेता सिप्रदी ट्रेडिङले बनाएको नयाँ संरचना हो, यो।

वीरगञ्ज भन्सारबाट मात्र गाडी आयात गरिरहेको सिप्रदीले पहिलोपटक सुनौली नाका प्रयोग गर्न थालेको मात्र होइन, पार्किङस्थल बनाई यहींबाटै देशभरका डिलरमा पठाउन पनि शुरू गरेको छ। त्यसका लागि सिप्रदीले दश वर्षका लागि जग्गा भाडामा लिई ३५० वटा गाडी अट्ने पार्किङ बनाएको हो। “सुनौलीबाट पहिलोपटक गाडी भित्र्याएका हौं”, सिप्रदीका यार्ड शाखा प्रमुख गोविन्द उपाध्याय भन्छन्, “यहींबाट देशभर गाडी पठाउँछौं।”

भारतको नाकाबन्दीले वीरगञ्ज नाका अस्तव्यस्त बनेपछि सिप्रदीले गत वर्षको कात्तिकदेखि नै सुनौली नाकालाई विकल्प बनाएको हो। अहिलेसम्म यो नाकाबाट बस, ट्रक, मिनीट्रक, कार, जीप, सुमो, पिकअपलगायतका पाँचहजारभन्दा बढी सवारीसाधन आएका छन्।

सिप्रदी मात्र होइन, नेपालमा सबैभन्दा बढी बिक्री हुने भनिएको मारुति सुजुकी कम्पनीले पनि यही नाकाबाट आफ्ना उत्पादन भित्र्याइरहेको छ। महिन्द्रा, हुन्डाई, मित्सुबिसी, टोयोटा, स्कोडा किया, फोर्ड लगायतका गाडीले पनि नाकाबन्दीपछि बाटो मोडेर सुनौलीको यात्रा तय गरेका छन्। सवारीको चापसँगै भैरहवा भन्सार कार्यालयले ५२ बिघा फराकिलो यार्ड बनाइरहेको छ। भैरहवास्थित एकीकृत भन्सार जाँच चौकी निर्माणस्थलमा समेत प्रशस्त नयाँ गाडी पार्किङ गरिएका छन्।

भैरहवा भन्सार कार्यालयका अधिकृत रवीन्द्र प्याकुरेल अधिकांश सवारी कम्पनीले भैरहवा क्षेत्रमा जग्गा भाडामा लिएर धमाधम यार्ड बनाइरहेको बताउँछन्। उनका अनुसार, सुनौलीबाटै गाडी व्यापार सहज हुन थालेपछि वीरगञ्जका कतिपय व्यापारिक प्रतिष्ठान समेत भैरहवा सर्न थालेका छन्।

वीरगञ्जको विकल्प!
नाकाबन्दीअघिसम्म नेपालको कुल आयातको झ्ण्डै दुईतिहाइ सामान वीरगञ्ज नाकाबाटै आउँथ्यो। तर, नाकाबन्दीपछि सुनौली प्रमुख नाकाका रूपमा स्थापित हुने क्रममा छ। गाडीसँगै कच्चा पदार्थ, सूचनाप्रविधिका सामान पनि यही बाटो हुँदै मुलुकका विभिन्न भाग पुग्न थालेका छन्।

यी सामानको अधिकृत बिक्रीकेन्द्र पनि खुल्न थालेको छ। पेट्रोल, डिजल, ग्याँस र खाद्यान्नलगायत सामानका लागि पनि सुनौली उपयुक्त नाका मान्न थालिएको छ। पहिले दिनहुँ करीब २० ट्यांकर पेट्रोलियम पदार्थ आउनेमा अहिले ६० ट्यांकर पुगेको छ। “नयाँ नयाँ सामान भित्रिने क्रम बढिरहेको छ”, भन्सार अधिकृत प्याकुरेल भन्छन्, “पहिले नियमित आउने सामानको परिमाण पनि बढेको छ।”

सवारी आवागमनसँगै राजश्व असुलीमा पनि वृद्धि भएको छ। भन्सार कार्यालयका अनुसार, चालू आर्थिक वर्षको १० महीना (साउन–वैशाख) सम्म गाडीबाट मात्रै रु.२० अर्ब ५३ करोड ६७ लाख २६ हजार राजश्व असुली भइसकेको छ। यो अघिल्लो वर्षको तुलनामा रु.१८ अर्ब बढी हो।

मुलुकको कुल भन्सार राजश्वको करीब १४ प्रतिशत भैरहवा भन्सारबाटै उठ्ने गरेको छ। तर, यो वर्ष राजश्व दोब्बर हुने संकेत मिलेको भन्सार कार्यालयले जनाएको छ।

आयातका लागि नेपालको प्रमुख वीरगञ्ज रक्सौल नाका मधेशकेन्द्रित दलको आन्दोलन र भारतको नाकाबन्दीका कारण बन्द हुँदा सुनौली नाकाले मौका पाएको थियो। त्यही कारण सुनौलीको भाग्य चम्कियो। आन्दोलनकारीको धर्ना यहाँ पनि थियो, तर त्यो वीरगञ्जको स्तरमा थिएन।

आन्दोलन अवधिभर सुनौलीले कुनै तनाव झेलेन। सबैभन्दा सुरक्षित नाकाको परिचय बनायो। यतिसम्म कि यही नाकालाई देखाउँदै भारतीय अधिकारीसमेत नेपालमाथि नाकाबन्दी नलगाएको दाबी गर्न समेत पछिपरेनन्। नाकाबन्दीको संकट टार्न सुनौली नाका नै सहारा बन्यो। देशभर यही नाकाबाट अत्यावश्यक बस्तु भित्रिए।

नाकाबन्दीकै क्रममा वीरगञ्ज ठप्प हुँदा सीमामा रोकिएका सामान ‘नाका परिवर्तन’ गरी सुनौली आउने क्रम पनि बढ्यो। अहिले वीरगञ्ज नाका सामान्य बनेको छ। तर पनि सुनौली नाकाको प्रयोग घटेको छैन।

सुनौली नाकाबाट भइरहेको आयातको यो गति नघट्ने बरु बढ्ने भैरहवा भन्सार कार्यालयका प्रमुख लावण्य ढकाल बताउँछन्। भन्छन्, “भैरहवा वीरगञ्जकै हाराहारीमा आउनसक्ने नाका हो भन्ने पुष्टि भइरहेको छ।”

सुरक्षित र सम्भावनायुक्त
सुनौली नाका चम्कनुको अर्को कारण हो, व्यापारिक, औद्योगिक, यातायात र पर्यटन क्षेत्रको विस्तार। भैरहवामा सञ्चालनमा आउन लागेको विशेष आर्थिक क्षेत्र (सेज), रूपन्देहीको मोतीपुरमा बन्ने नयाँ औद्योगिक क्षेत्रका कारण पनि उद्योगीहरू आकर्षित भइरहेका छन्। उद्योगलाई आवश्यक कच्चा पदार्थ र अन्य सामग्री पनि यही नाका हुँदै प्रवेश गर्छन्।

भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थल र बुद्ध जन्मस्थल लुम्बिनीका कारण पनि पर्यटन व्यवसायी हौसिएका छन्। बुटवलमा बनिरहेको अन्तर्राष्ट्रिय सभागृहले झ्नै ऊर्जा थपेको छ। “थुप्रै सम्भावनाले यो नाकाप्रति विश्वास बढाइरहेको छ”, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्मा भन्छन्।

भारतको आन्ध्रप्रदेशस्थित विशाखापट्नम बन्दरगाह प्रयोग गर्ने दुई देशबीचको सम्झाैताका कारण पनि व्यवसायीहरू अहिल्यैदेखि सुनौली नाकामा आकर्षित भइरहेका छन्। पश्चिम बंगालको कोलकाता बन्दरगाहको तुलनामा विशाखापट्नम सजिलो र किफायती हुने व्यवसायीको ठम्याइ छ।

सहज यातायातका कारण भैरहवाबाट भित्रिने सामान छिट्टै आपूर्ति गर्न सकिने भएकाले पनि सुनौली नाकाको प्रयोग बढेको मान्नेहरू पनि छन्। त्यसो त यतिबेला भैरहवा–बुटवल ६ लेन सडक द्रूत गतिमा बनिरहेको छ।

भारतले गोरखपुरदेखि सुनौलीसम्म चार लेनको सडक बनाउनुका साथै गोरखपुरको रेलमार्ग सुनौलीसम्म जोड्ने तयारी पनि गरिरहेको छ। पश्चिमाञ्चल यातायात व्यवसायी संघ (ट्रक) का अध्यक्ष लोकराज पोख्रेल अन्य नाकाभन्दा सुनौलीबाट सामान ढुवानी गर्न सहज भएको बताउँछन्। उनी भन्छन्, “बुटवल–भैरहवा ६ लेन सडक पूरा भएमा भैरहवाबाट अन्य भागहरूमा सामान आपूर्ति गर्न छिटो र सहज हुनेछ।”

सुनौली नाकाको आकर्षणसँगै सडकको मापदण्ड विपरीत बढी सामान बोक्ने सवारीको प्रवृत्ति बढेको छ। एउटै सवारीमा सकेसम्म बढी समान खाद्ने व्यवसायीको स्वार्थले भन्सार र व्यवसायीबीच विवाद उत्पन्न हुने गरेको छ। यही विवादकै कारण ९ जेठदेखि तीन दिनसम्म बढी भार बोकेका यस्ता गाडीलाई प्रशासनले बाटोमै रोकेको थियो।

“२० टन बोक्ने इजाजतप्राप्त गाडीले ५० टनसम्म बोक्न थालेपछि विवाद बढेको हो”, भन्सार अधिकृत प्याकुरेल भन्छन्। बढी भार बोकेका गाडीकै कारण निर्माणाधीन ६ लेनको सडक बिग्रिएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>