रमझममंगलबार, जेठ १८, २०७३
शृङ्गारकी सिर्जना
नक्साल, काठमाडौंकी सिर्जना शाक्य (२६) नेपालकी सम्भवतः एकमात्र प्रोस्थेटिक मेकअप आर्टिस्ट हुन्।
पात्रको मुखाकृति र जीउडाल बदल्न उपयोगी यस्तो शृङ्गार प्रायः हलिउड चलचित्र वा म्यूजिक भिडियोमा देख्न पाइन्छ। “प्रोस्थेटिक मेकअप ग्ल्यामर मेकअप जस्तो होइन”, सिर्जना भन्छिन्, “यो निकै जटिल र प्राविधिक हुन्छ।” हेभी मेटल ब्यान्ड, अन्डरसाइडको ‘सेटन इन योर स्टेरियो’ मार्फत माघ २०७१ देखि उनले प्रोस्थेटिक वा स्पेसल इफेक्ट्स मेकअपलाई प्रयोग गरेकी थिइन्।
आरोग्य ब्यान्डको ‘तिमीलाई’ गीतको भिडियोमा आधा रोबोट र आधा मानवको रूपमा देखिने मोडल र स्याडोजको ‘मौन व्रत’ मा घाउ–चोट लागे जस्तो देखाउने इफेक्ट्समा सिर्जनाकै भूमिका छ।
तर, अहिले उनको चर्चा हलिउडको ‘सिनेमा मेकअप स्कूल’ ले आयोजना गरेको ‘द नेक्स्ट लेभल अफ कस्प्ले’ प्रतियोगिताका लागि निर्मित भिडियोका कारण भइरहेको छ।
प्रतियोगितामा उनी उत्कृष्ट पाँचमा परेकी थिइन्। “तीन मिनेटको त्यो भिडियो बनाउन एक महीना लागेको थियो”, उनी भन्छिन्, “स्पेसल इफेक्ट्सका लागि आवश्यक कच्चा पदार्थ नपाइएकाले सबै घरेलु चिजबिजबाटै बनाएकी थिएँ।”
काठमाडौं विश्वविद्यालयमा फाइन आर्ट एन्ड डिजाइन पढ्दाताका नै सिर्जना आफ्नो कलालाई क्यानभास बाहिर ल्याउन चाहन्थिन्। ललितकला र मूर्तिकलामा चारवर्षे स्नातक सकेपछि उनी पेन्टिङका लागि क्यानभासको विकल्प खोज्न थालिन्।
“मान्छेको अनुहार र जीउडाल नै राम्रो क्यानभास हो जस्तो लाग्न थाल्यो”, फज फ्याक्ट्री प्रोडक्शनमा आवद्ध उनी भन्छिन्, “त्यसपछि इन्टरनेट र यूट्यूबमा खोज्न थालें।
नेपालमा प्रोस्थेटिक मेकअपको व्यावसायिक अभ्यास नभएको थाहा पाएपछि यसतर्फ आकर्षित भएँ।” यो विधालाई प्रयोगमा ल्याउन उनले भीएलसीसी इन्ष्टिच्यूट अफ ब्युटी एण्ड न्युटि्रशनमा मेकअप सम्बन्धी दुई महीने कोर्स पनि गरिन्। सिर्जना प्रोस्थेटिक मेकअपमै थप अध्ययन गर्न एक वर्षका लागि अमेरिका जाने तयारीमा छिन्।