समाचारमंगलबार, जेठ १८, २०७३
ज्ञानेन्द्र शाहद्वारा पूर्वी नेपालमा भेटघाट तीब्र
पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वी नेपालका विभिन्न जिल्लामा भेटघाट तीब्र बनाएका छन् ।
झापाको दमक–१५, स्थित हिमालय चिया बगानमा बसेका उनले १८ जेठमा झापादेखि राजबिराजसम्म झण्डै दुई सयलाई भेटका छन् । उनलाई भेट्न जानेहरु धेरैजसो पूर्वपञ्च पृष्ठभूमी र १९ माघ २०६१ मा सत्ताकब्जा पछि सहयोग लिएकाहरु छन् ।
उनका सम्बाद सचिब फडिराज पाठकका अनुसार १८ जेठमा पूर्वसहायक मन्त्री टेकनारायण राजबंशी, पूर्वक्षेत्रीय प्रशासक रविन्द्र चक्रबर्ती, पूर्व अञ्चल प्रशासक प्रजापती कोइराला, शाहीकालमा गठित पत्रकार संघका गोविन्द गुलाव, दमकको पव्लिक लाइब्रेरीका सञ्चालक भेषराज न्यौपाने, देवेन्द्र प्रसाई, पुष्प नेपाल, ओमकार थापालगायत छन् ।
बिहान ११ बजेदेखि दिँउसो अवेरसम्म भेटघाट चलेको थियो । भेटघाटका लागि पहिलेदेखि सम्पर्कमा रहेकाहरुलाई पुर्वराजाका सहयोगीहरुले समय मिलाएर बोलाएका थिए ।
भेट्ने कत्तिपयले पूर्वराजाबाट आर्थिक सहयोग माग्ने, हिमानी ट्रष्टको शाखा खोल्ने इच्छा राख्नेखि पूर्वराजालाई राजनीतिक सक्रियता बढाउन आग्रह समेत गरेको पूर्वराजाका एक सहयोगीले हिमालखबरलाई बताए । यस्तो भेटघाटको क्रम अरु केहिदिन लम्बिने बताइएको छ ।
दुईदिन अघि १७ जेठमा पूर्वराजालाई राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देन र सहायक महामन्त्री राम थापाले अलग अलग समयमा भेटेका थिए ।
७ जेठमा काठमाण्डौबाट बिराटनगर बिमानस्थल हुँदै दमक पुगेका पूर्वराजासाथ भरतकेशर सिंह, प्रभु समशेर जवरालगायत पनि हिमालय चिया बगानमै छन् ।
तत्कालीन राजा महेन्द्रले २०१८ मा भाई हिमालयको नाममा स्थापना गरेको ५७६ बिगाहमा फैलिएको यो चिया बगान हिमालयको निधनपछि ज्ञानेन्द्रको स्वामित्वमा छ । उनी अधिराजकुमार छँदैदेखि स–परिवार बर्षेनि हिँउद याममा झण्डै एक महीना यो बगानमा बस्ने गर्दथे ।
पूर्वराजाको हेलिप्याड, कुकुर, घरसहितको भब्य दरबार करीब तीन बिगाहमा फैलिएको छ ।
–गोपाल गडतौला, झापा