रिपोर्टबुधबार, जेठ १९, २०७३
नेभर रिटायर्ड
८०–९० वर्षको अमूल्य ज्ञान–अनुभवले समाजलाई लाभान्वित गरिरहेका नागरिकहरूको सक्रियता हेर्दा ६० वर्षमै ‘ज्येष्ठ नागरिक’ घोषणा गर्ने कानून अव्यावहारिक र पुरातन लाग्छ ।
बुद्धजयन्तीको अवसर पारेर ८ जेठमा बौद्धनाथ क्षेत्र विकास समितिले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि थिए– संस्कृतिविद् सत्यमोहन जोशी। कार्यक्रममा सम्मानित समेत भएका उनले छन्द कविताबारे मन्तव्य दिएर सबैलाई मुग्ध पारे।
६ जेठमा उनै जोशीले बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा चिनियाँ कलाकार च्याङ सि लिङको थाङ्का प्रदर्शनी उद्घाटन गरे। जेठ पहिलो साता उनी उद्घाटन, विमोचन, प्रवचन र सम्मान ग्रहणमा व्यस्त रहे। उनको पछिल्लो समय यसरी नै बितिरहेको छ। उनी कार्यक्रमस्थलमा सार्वजनिक बस चढेरै पुग्छन्।
३० वैशाख १९७७ मा ललितपुरको बखुम्बहालमा जन्मिएका जोशी बोलाएको ठाउँमा नजाँदा नपत्याएर आएन भन्ने हुनाले सकेसम्म समय मिलाएर जाने गरेको बताउँछन्।
नेपाल आर्ट काउन्सिल र नेपाल म्यूजिक स्कूलको अध्यक्ष रहेका उनलाई राष्ट्र ब्यांकले पनि मुद्रा विशेषज्ञको रूपमा बोलाउन छाडेको छैन। सार्वजनिक कार्यक्रम र संघसंस्थाका कामहरूबाट बचेको समयमा उनी लेखपढमा व्यस्त हुन्छन्।
नेपाली समाजलाई जोशीले ५० भन्दा बढी कृति दिइसकेका छन्। तीमध्ये धेरै अनुसन्धानात्मक र थोरै साहित्यिक छन्। २०१३ सालमा ‘हाम्रो लोक संस्कृति’, २०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ र २०२८ मा ‘कर्णालीको लोक संस्कृति’ का लागि मदन पुरस्कार पाएका उनी अहिले पनि ‘नेपाली कलाको रूपरेखा (प्राचीन मध्यकालीन)’ नामक ग्रन्थ तयार पारिरहेका छन्।
बचेखुचेका दाँवलीसँग गफिन मन लाग्दा उनी लैनचौरको नरकान्त अधिकारी निवास पुग्छन्। पूर्व अर्थ सचिव अधिकारी र जोशी तथ्यांक विभाग (हाल केन्द्रीय तथ्यांक विभाग) मा सहकर्मी थिए। “अधिकारी पनि ९७ पुगे”, जोशी भन्छन्, “हामीबीच टेलिफोनमा पनि तारन्तार जस्तो कुरा भइरहन्छ।”
पाटनका रैथाने जोशीको जीवनधारा देशका दुर्गम गाउँहरूको जनजीवनबाट निर्दिष्ट हुनपुग्यो। चौतारी, मेलापात, पानीपँधेरो, घाँसदाउरा गर्नेहरूको गीतले आफ्नो जीवन बदलेको उनी बताउँछन्।
जागीरको सिलसिलामा २००१ मा तनहुँ पुग्दा सुनेको ‘के खायो के लायो होला, वनको जुरेली चरीले’ भन्ने गीतले उनलाई झ्संग बनायो। दोस्रो विश्वयुद्धको समयमा नेपाली गाउँघरमा चलेको ‘गाई पाल्यो वनको बाघलाई, छोरो पायो जर्मनको धावालाई’ जस्ता मर्मस्पर्शी गीतले नवयुवक जोशीलाई लोकगीत संकलक बनायो। आज देशले मानेको संस्कृतिविद्को जग त्यही विन्दु थियो।
‘हाम्रो लोक संस्कृति’ ले उनलाई मदन पुरस्कार विजेतासँगै २०१६ सालमा पुरातत्व र संस्कृति विभागको महानिर्देशक बनायो। आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण काम भने दुर्गम गाउँमै पुगेर गरेको जोशी बताउँछन्। २०२६ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा नियुक्त भएपछि उनी पाँच सदस्यीय टोलीको नेतृत्व गरेर कर्णालीको सिंजा उपत्यका पुगे। पछि प्रतिष्ठानबाट पाँच खण्डमा प्रकाशित ‘कर्णाली लोक संस्कृति’ ले उनलाई २०२८ सालमा तेस्रोमदन पुरस्कार दिलायो।
‘जब पुग्यो नब्बे, हब्बे न कब्बे’ भन्ने उखानलाई गलत सावित गरिसकेका जोशीको विनम्रता, उनी आफूलाई कुनै संस्कृतिविद् मान्दैनन्। न त सरकार, समाज र आफन्तहरूसँग कुनै गुनासो नै छ, उनको। “उमेर जहाँ पुगोस्, चिन्ता गरेर होइन, कर्म गरेर, ज्ञान–अनुभव बाँडेर बाँच्ने हो”, ‘जब पुग्यो सय, यमराजको भय’ भन्ने उखानलाई समेत चुनौती दिइरहेका उनी भन्छन्, “मरेपछि स्वर्ग, नर्क केही छैन, जे–जे छन्, यही जीवनमा छन्।”
अवकाशपछिको व्यस्तता
काठमाडौं, बबरमहलकी अम्बिका केसी (७४) निजामती सेवामा छँदा एक दर्जनभन्दा बढी जिल्लामा प्रमुख जिल्ला अधिकारी भइन्। डेढ दशक अघि अवकाश लिएकी उनी अहिले पनि ‘आई एम रिटायर्ड, बट नट टायर्ड’ भन्छिन्। हुन पनि, उनी थकित छैनन् भन्ने कुरा उनको सक्रियताले पुष्टि गरिरहेको छ।
अवकाशपछि समाजसेवामा सक्रिय केसी अहिले ज्येष्ठ नागरिक सहारा केन्द्रकी अध्यक्ष, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघमा उपाध्यक्ष, शान्ति आश्रममा सदस्य सचिव, थापाथली जनकल्याण परिषद्मा कोषाध्यक्ष, पूर्व कर्मचारी परिषद् र अल्जाइमर्स एसोसिएसनमा सञ्चालक समिति सदस्यको रूपमा क्रियाशील छिन्।
“उमेर बढ्दै जाँदा भगवानप्रति आस्था पनि बढ्दो रहेछ”, उनी भन्छिन्, “तर म पूजापाठ भन्दा पनि मानव सेवा गर्दा भगवानको सेवा हुन्छ भनेर लागेकी छु।”
सक्रियताले मानसिक र शारीरिक स्वास्थ्य समेत राम्रो हुने उनको प्रत्यक्ष अनुभव छ। उनी सेवाभावको पछाडि आफ्नो मानसिक–शारीरिक स्वास्थ्य तन्दुरुस्त राख्ने स्वार्थ पनि भएको बताउँछिन्।
केसीलाई आफ्नो सक्रियताबाट समाजमा पुग्ने सेवाले अपार सन्तुष्टि मिल्छ। यसलाई पनि उनी आफ्नो स्वार्थ नै हुनसक्ने र त्यसले सधैं सक्रिय रहन प्रेरित गरिरहेको बताउँछिन्।
उनी आठ वर्ष अघि मिर्गाैला प्रत्यारोपण गरेका श्रीमान्को हेरविचार र ज्येष्ठ नागरिकहरूलाई भजनकीर्तन गराउनेदेखि अल्जाइमर्सका बिरामीको सेवा र ज्येष्ठ नागरिक अधिकारको पक्षमा लविङ गर्नेसम्मका काम भ्याइरहेकी छन्।
राजनीतिशास्त्रमा स्नातकोत्तर केसी २०५१ सालको मध्यावधि निर्वाचनताका सप्तरीमा प्रजिअ थिइन्। महिला प्रजिअको विषयलाई समेत उम्मेदवारहरूले भोट माग्ने अस्त्र बनाएको देख्दा उनलाई निकै रीस उठेछ। त्यसपछि पुरुषभन्दा केही कुरामा पनि कम नहुने प्रण उनले गरिन्।
प्रजिअको रूपमा आफूले तत्काल लिएका निर्णयहरूले नागरिकता, अंश विवाददेखि सम्भावित धार्मिक दंगा समेत टारेको सम्झ्ँदा अहिले पनि उनलाई सन्तोष लाग्छ।
केसीको क्षमता बुझेरै सरकारले २०५४ मा दोस्रो पटक सप्तरीको प्रजिअ बनायो। आफन्त कोही नभएका ज्येष्ठ नागरिक बाहेक कसैलाई पनि वृद्धाश्रममा राख्न नपाइने कानून बनाउन लबिङ गरिरहेकी उनी ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भन्ने संविधानको प्रावधान कार्यान्वयन हुनुपर्ने बताउँछिन्।
ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ ले ६० वर्ष उमेर पूरा गरेका नेपालीलाई ‘ज्येष्ठ नागरिक’ मानेको छ। २०६८ को जनगणना अनुसार नेपालमा २१ लाख ५४ हजार ४१० जना ज्येष्ठ नागरिक छन्।
यो संख्या कुल जनसंख्याको ८.१४ प्रतिशत हो। नेपालमा कानून मात्र नभई भनाइ नै प्रचलित छ– ‘जब पुग्यो साठी– हातमा लाठी, जब पुग्यो सत्तरी– हिंड्न लाग्यो लत्तरी, जब पुग्यो असी– कुनामा बसी, जब पुग्यो नब्बे– हब्बे न कब्बे, जब पुग्यो सय– यमराजको भय।’
तर, बढ्दो ‘६० माथिको सक्रियता’ ले प्रचलित कानून र भनाइमा दम नभएको देखाइरहेको छ। जस्तो, २०६१ सालमा शाही निरंकुशता विरोधी आन्दोलनको नेतृत्व गर्दा गिरिजाप्रसाद कोइराला ८० वर्ष काटिसकेका थिए।
फ्रान्सका एरिक भ्याली निर्देशित चलचित्र ‘क्याराभान’ को मुख्य पात्र भएपछि विश्व चर्चित भएका थिन्ले लोन्डुप लामा ७५ वर्षको उमेरमा १२ वैशाखमा दुर्घटनामा परेर बित्नुभन्दा अघिल्लो दिनसम्म समाजसेवामा सक्रिय थिए। सालदाङ गाविस अध्यक्ष समेत भएर समाजसेवा गरेका उनी कर्णाली क्षेत्रको विकासमा सरकारको ध्यान नपुगेको भन्दै प्रतिनिधिमण्डलको नेतृत्व गरेर गत १ चैतमा बालुवाटार पुगेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग विकास बहस गरेर निस्केपछि थिन्लेले हिमाल सँग भनेका थिए, “मोबाइलबाटै कुरा गरौंला भनेको, कानले राम्रो नसुन्ने भएकोले काठमाडौं नै आउनुपर्यो।”
अधिकांश समय समाजसेवामा खर्चिरहेका थिन्लेको दिनचर्यामा उमेरले खासै असर गरेको थिएन। दुनैबाट सालदाङ फर्कंदै गर्दा फोक्सुण्डो गाविसको छेप्कामा खच्चडको बथानले ठेलेर घोडासहित भीर मुनि खसेका थिन्लेले जापानी भाषाको चलचित्र र केही म्यूजिक भिडियोको छायांकन भर्खरै सकेका थिए।
यता ९६ वर्षीय राष्ट्रकवि माधव घिमिरे, ब्याङ्कर हिमालयशमशेर जबरा (८८), पत्रकार भैरव रिसाल (८६), समाजसेवी अंगुरबाबा जोशी (८३), सांसद् लक्ष्मण राजवंशी (८१), त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता तथा आमसंचार विभागका सह–प्राध्यापक लालदेउसा राई (८१) आदिको सक्रियता पनि कुनै तरुणको भन्दा कम छैन। सातामा तीन दिन त्रिभुवन विश्वविद्यालयमा पढाइरहेका समाजशास्त्री डा. डिल्लीराम दाहाल (६८) यी ‘युवा’ को क्रियाशीलताले ज्येष्ठ नागरिक सम्बन्धी अवधारणा र कानूनलाई गलत साबित गरेको बताउँछन्।
ज्ञान हस्तान्तरण
ललितपुर, सानेपाका डा. तीर्थबहादुर श्रेष्ठको १४ वैशाख २०७२ मा ‘बूढो पास्नी’ भयो। जंको समेत भनिने यस्तो पास्नी ७७ वर्ष ७ महीना ७ दिनमा गर्ने नेवार परम्परा छ। पास्नीमा उनलाई १०२ वर्षकी आमाको काखमा राखेर टीका लगाइयो।
६ महीना पहिला मात्रै उनकी आमाको निधन भयो। आफूसँग भएका ज्ञान र अनुभव निरन्तर बाँडिरहेका वनस्पतिविद् श्रेष्ठ भन्छन्, “आमा हुँदासम्म आफूलाई सानै छु जस्तो लाग्दोरहेछ।”
उनको दैनिकी बिहान ३–४ बजेबाट शुरू हुन्छ। त्यसभित्र पत्रपत्रिका र जर्नलहरूका लागि नियमित आलेख तथा कार्यपत्र पर्छन्। विद्यार्थीकालदेखि नै लेखपढका लागि भालेको डाँकसँगै उठ्ने बानी परेको उनको भनाइ छ। स्रोत व्यक्तिहरूसँग छलफल र सन्दर्भ सामग्री तयार भएपछि लेख्न बस्ने उनी एक बसाइमै लेखिसक्छन्।
प्रकाशनका लागि पठाउनुअघि आफैं सम्पादन गर्छन्। श्रेष्ठका ‘हिमालयन फ्लावर्स एण्ड टि्रज’, ‘नेपाल अर्किड्स इन पिक्चर्सः १४० स्पेसिज एण्ड भेराइटिज’, ‘इकोलोजी एण्ड भेजिटेसन अफ नर्थ वेस्ट नेपाल (कर्णाली रिजन)’, ‘डेभलपमेन्ट इकोलोजी अफ द अरुण रिभर बेसिन इन नेपाल’, ‘जिम्नोसपर्मस अफ नेपाल’ लगायत एक दर्जन पुस्तक प्रकाशित छन्।
त्यस्तै, उनका ‘नेपाल कन्ट्री रिपोर्ट अन वायोलोजिकल डाइभर्सिटी’, ‘इनडेमिक एण्ड इन्डेन्जर्ड प्लान्टस अफ नेपाल’, ‘सेफगार्डिङ वेटल्याण्डस् इन नेपाल’ लगायत संयुक्त लेखनका पुस्तक प्रकाशित छन्। संस्मरण पनि लेख्न लागेका श्रेष्ठ भन्छन्, “मेरो संस्मरण कतिलाई काम लाग्ला, त्यसलाई कसरी उपयोगी बनाउने भनेर सोच्दैछु।”
विज्ञानलाई कम पठितले पनि बुझने गरी प्रस्तुत गर्न माहिर लेखक मानिन्छन्, वनस्पतिविद् श्रेष्ठ। त्यसका लागि उनले साहित्य र संस्कृतिलाई विज्ञानसँग जोडेर प्रस्तुत गर्छन्। भूपि शेरचन र माधवप्रसाद घिमिरे जस्ता साहित्यकारहरूको संगतपछि त्यो कला जानेको उनी बताउँछन्।
मानिसले आफूलाई प्रकृतिसँग एकाकार गर्न सक्दा मात्र जीवन र जगतको वास्तविक मज्जा अनुभव गर्न सकिने उनको भनाइ छ। “प्रविधिले सूचनाको बाढी ल्याए पनि वास्तविक ज्ञानको अभाव छ”, डा. श्रेष्ठ भन्छन् “नयाँ पुस्तालाई आफ्नो पैतालाको संसार नबिर्सिने शिक्षा चाहिएको छ।”
त्यस्तै, समाजमा आफ्नो ज्ञान–अनुभव बाँड्न अहोरात्र खटिएका छन्– ललितपुर, श्रीदरबारटोलका कमलमणि दीक्षित। २०१३ मा स्थापना भएदेखि नै मदन पुरस्कार पुस्तकालय (मपुपु) मा आवद्ध दीक्षित बिहान साढे सात बजे कार्यालय पुगिसक्छन्।
बिहान साढे चार बजे उठेर ४५ मिनेट हिंड्दा नै त्यो दिन गर्ने कामहरूबारे दिमागमा योजना बुनिसक्छन्। उनी मपुपुमा बसीबसी पुस्तक दर्तादेखि विभिन्न अन्वेषणका काम र वाङ्मयसम्बन्धी छलफल, अन्तरक्रिया, अन्तर्वार्ताहरू भ्याउँछन्।
काठमाडौंको गैह्रीधारामा १९८६ भदौमा जन्मेका दीक्षित हरेक वर्ष दुई वटा पुस्तक लेख्छन्। २०१३ सालमा ‘यस्तो पनि’ प्रकाशित गरेका उनका ‘कालो अक्षर (२०१७)’, ‘कागतीको सिरप (२०२६)’, ‘उखान मिलेन (२०३७)’, ‘नेति, नेति (२०५४)’, ‘जंगबहादुरको बेलाइती कापी (२०६४)’ ‘किराती चेली (२०७०)’ सहित कृति संख्या ७५ पुगिसकेको छ। उनले ‘जंगबहादुरको बेलाइत यात्रा (२०१४)’, ‘मोतीराम भट्टका प्रियदर्शिका (२०१६)’, ‘बुइगल (२०१८)’, ‘राजधर्म (२०१९)’, ‘सुन्दरानन्दको रामायण (२०२१)’ लगायत दुई दर्जन पुस्तक सम्पादन गरेका छन् भने त्रैमासिक पत्रिका ‘नेपाली’ को सम्पादन २०१६ सालदेखि निरन्तर गरिरहेका छन्।
करीब दुई हजार फुटकर समालोचना र २०० जति स्मृतिग्रन्थ निकालेका दीक्षितले जापानी बालसाहित्यका दुई कृति (रगतका कुरा तथा तारो र साथीहरू) र बंगालीको एक कृति (सान्बाबुका चराहरू) नेपालीमा अनुवाद गरेका छन्। हिमाल खबरपत्रिका, शिक्षक मासिक पत्रिकाको स्तम्भकार समेत रहेका दीक्षितको काठमाडौं उपत्यका सम्बन्धी पुस्तक ‘यो खाल्डो’ नेपालयले प्रकाशन गर्दैछ। “लेखपढमा लागिरहँदा अद्यावधिक भइने त छँदैछ, शरीरमा फुर्ती पनि आउँछ”, दीक्षित भन्छन्, “त्यसकारण म अवकाश लिनेवाला छैन।”
समाजशास्त्री डा. गणेश गुरुङ ज्ञानका भण्डार ज्येष्ठ नागरिकहरूको ऊर्जा र सक्रियताले नयाँ पुस्तामा ज्ञान हस्तान्तरणसँगै समाजलाई समुन्नत बनाउन ठूलो सघाउ पुर्याइरहेको बताउँछन्। उनीहरूको क्रियाशीलताले युवा पुस्तालाई चुनौती दिनुको साथै जोश–जाँगरले मान्छेलाई दीर्घजीवी र सम्पन्न बनाउने प्रमाणित गरिरहेको डा. गुरुङको भनाइ छ।
आयु र अर्थ
प्रतिहप्ता कम्तीमा ७ घन्टा शारीरिक रूपमा क्रियाशील रहने व्यक्तिको असामयिक मृत्यु हुने संभावना ४० प्रतिशत कम हुने अध्ययनले देखाएको चिकित्सकहरू बताउँछन्।
मुटुरोग विशेषज्ञ ओममूर्ति अनिलका अनुसार, सक्रिय मानिसमा रक्तचाप, सुगर, कोलेस्ट्रोल आदि अनियन्त्रित नहुने र रोग प्रतिरोधात्मक क्षमता बढ्ने हुन्छ भने हृदयघात, मस्तिष्कघात, पक्षघात जस्ता रोग लाग्ने संभावना निष्त्रि्कय मानिसमा बढी हुन्छ।
चिकित्सा विज्ञानले निष्क्रियता र मोटोपनलाई रोगको प्रमुख कारण मान्छ। “उमेरसँगै विभिन्न रोगका जोखिम बढ्नु अस्वाभाविक होइन”, ग्राण्डी अस्पतालमा कार्यरत डा. अनिल भन्छन्, “आफूलाई शारीरिक रूपमा निरन्तर सक्रिय राख्नेहरू त्यस्तो जोखिमबाट जोगिन्छन्।”
४० वर्षको निष्त्रि्कय मान्छेको भन्दा ८० वर्ष पुगेको सक्रिय मान्छेको मुटु स्वस्थ पाइएको उनले बताए। अहिले सुगर, युरिकएसिड, हृदयघात जस्ता समस्या युवा उमेरमै देखिन थालेको उनी बताउँछन्।
डा. अनिलका अनुसार, अहिलेका भन्दा चार–पाँच दशक पहिले जन्मेका मान्छेहरू स्वस्थ हुनुको प्रमुख कारण सक्रियता नै हो। धेरै काम हिंडेरै भ्याउने, आफ्नो काम आफैं गर्ने, आफ्नै करेसाको ताजा तरकारी खाने जस्ता कारणले अहिलेका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था मजबूत भएको उनको भनाइ छ। “पहिले मानिसहरू कम आम्दानीमा बढी सुखी थिए”, डा. अनिल भन्छन्, “अहिले धेरै आम्दानीबाट पनि तनाव लिएर बसेका छन्।”
डा. अनिलको सुझाव छ, “बिहान सबेरै एउटै समयमा उठ्ने, हिंड्ने, बेलुकी चाँडो सुत्ने र स्वस्थ खाना खाने बानी ज्येष्ठ नागरिकहरूबाट सिक्नैपर्छ।” राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष समेत रहेका वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरीशंकरलाल दासको अनुभवमा, मानसिक तनाव नलिने र शारीरिक रूपमा सक्रिय रहने बानी दीर्घायुको स्रोत हो। उनको सुझाव छ, “उच्च रक्तचाप, मधुमेह, क्यान्सर, अल्जाइमर्स जस्ता रोगबाट जोगिन भने नियमित स्वास्थ्य परीक्षण नै गर्नुपर्र्छ।”
श्रम बजारमा १५–६० वर्ष उमेर समूहलाई मात्र उत्पादनशील जनशक्ति मानिन्छ। यो मान्यतालाई सक्रिय जीवन बिताइरहेका ज्येष्ठ नागरिकहरूले चुनौती दिएका छन्।
जस्तो, २०४८ सालमा अतिरिक्त सचिवमा अवकाश लिएका मानवशास्त्री विहारीकृष्ण श्रेष्ठ आफ्नो आम्दानी दुई दशक अघिको भन्दा निकै माथि पुगेको बताउँछन्।
त्यसकारण, अब कम्तीमा ६५ वर्ष पुगेकालाई मात्र ज्येष्ठ नागरिक मान्ने गरी ऐन परिमार्जन गर्नुपर्ने ज्येष्ठ नागरिक महासंघका अध्यक्ष डा. दासको सुझाव छ। उनी भन्छन्, “निजामती सेवाबाट अवकाश हुने उमेर पनि ५८ बाट बढाएर ६५ बनाइनुपर्छ।”
…………………………………………
व्यावसायिक काम रोचक जीवन
मानवशास्त्री बिहारीकृष्ण श्रेष्ठ मानिसलाई व्यावसायिकताले सक्रिय बनाउने अनुभव सुनाउँछन्। वन व्यवस्थापन, लघुवित्त, सुशासन, विकेन्द्रीकरण र इन्ष्टिच्युसन बिल्डिङ विज्ञका रूपमा परामर्श दिंदै आएका श्रेष्ठ प्रायः राति १२ बजेसम्म ल्यापटपमा व्यस्त हुन्छन्। “धेरै मानिस कामलाई दुःखको रुपमा लिन्छन्”, ७९ वर्षीय श्रेष्ठ भन्छन्, “तर, कामले जीवनलाई राम्रो र रोचक बनाइरहेको हुन्छ।”
३६ वर्ष सरकारी सेवा गरेका उनी उमेरसँगै कार्यव्यस्तता बढाएको बताउँछन्। १० साउन १९९३ मा काठमाडौंको प्याफल टोलमा जन्मेका उनले पाँच वर्ष अघि सोसल साइन्स बहाःलाई रु.५० लाख दिएर ‘विहारी कृष्ण फेलोसिप’ शुरु गरे।
फेलोहरूलाई उनी आफैं गाइड गर्छन्, हरेक हप्ताजस्तो कार्यपत्र लेख्छन्। ‘कर्णालीको लोक संस्कृति’ ग्रन्थका लागि २०२८ सालमा दर्शन विज्ञानतर्फ मदन पुरस्कार पाएका उनले छोरीको विवाहको दाइजो रु.१ लाख र निम्तालुले दिएको गोडधुवा एक लाख ११ हजारमा अर्को एक लाख जम्मा गरेर जुम्लाको हाडसिंजा र बोतानको विकासमा लगाए। सेवा हुने यस्तो कामबाट पाइने आनन्दले सक्रिय बन्न प्रेरित गर्ने श्रेष्ठ बताउँछन्।
………………………………………………………
‘जब भए नब्बे, झन् व्यस्त भए’
सिरहामा जन्मेर काठमाडौंमा जमेका ९२ वर्षीय डा. गौरीशंकरलाल दास दर्जनभन्दा बढी संस्थामार्फत समाजसेवामा सक्रिय छन्।
नेपालको कानूनले ६० वर्षलाई बुढ्यौली मान्छ, तर नौ दशक काटेका डा. गौरीशंकरलाल दासको ऊर्जा र क्रियाशीलता युवाको जस्तो छ। राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष रहेका उनी कुष्ठरोग निवारण संघ, इम्प्याक्ट नेपाल, बीपी आई फाउण्डेसन, पूर्व कर्मचारी सेवा परिषद्, अल्जाइमर्स विस्मृत समाज, नेपाल–भारत मैत्री समाज, सिरहा समाज, चित्रगुप्त प्रतिष्ठान, नेपाल प्रौढ कल्याण संघ लगायतका संस्थाहरूका संस्थापक, ट्रस्टी र पदाधिकारीको रूपमा सक्रिय छन्।
उमेरले आठ दशक छुनै लाग्दा १३ जेठ २०५७ मा राष्ट्रिय मानवअधिकार आयोगको सदस्यमा नियुक्त भएपछि उनी स्थलगत अनुगमनका लागि रुकुम, रोल्पाका गाउँ–गाउँ पुगे।
माओवादी हिंसात्मक द्वन्द्वको उत्कर्षको समय थियो, त्यो। सिरहाको इनरुवामा जन्मेका दास अहिलेसम्म ६९ जिल्ला घुमिसकेका छन्। दासको मुखबाट म बूढो भएँ, यो सक्दिनँ त्यो सक्दिनँ भन्ने शब्द कहिल्यै नसुनेको उनीसँगै पाँच वर्ष आयोग सदस्य रहेका सुशील प्याकुरेल बताउँछन्। “नयाँ ठाउँमा सजिलै घुलमिल हुन सक्नुहुन्छ”, प्याकुरेल भन्छन्, “मलाई यस्तो खाना चाहिन्छ, विस्तरा यस्तो हुनुपर्छ भनेको पनि सुनिएन।”
भारतको पटना मेडिकल कलेजबाट एमबीबीएस गरेर काठमाडौं आएका दासले १८ फागुन २००९ मा वीर अस्पतालमा ‘रेजिडेन्ट मेडिकल अफिसर’ को नियुक्ति पाए। सिरहाभन्दा फरक भाषा–संस्कृति भए पनि काठमाडौंमा घुलमिल हुन आफूलाई गाह्रो नभएको उनी सम्झन्छन्।
त्यसरी व्यावसायिक ‘करिअर’ शुरू गरेका उनले आफूलाई छोटो समयमै राम्रो डाक्टरको रूपमा स्थापित गरे। ‘कोर’ नेवार परिवारका नातिकाजी, शिवशंकर जस्ता कलकारहरूसँग उनको मित्रता भयो। “अहिले म बसिरहेको चाबहिलको जग्गा २०१८ सालमा नातिकाजीले नै मिलाइदिएका हुन्”, डा. दास भन्छन्।
लण्डनबाट डिप्लोमा इन ट्रपिकल मेडिसिन एण्ड हाइजिन (डीटीएमएच) गरेपछि उनी टोखा क्षयरोग केन्द्रमा आवद्ध भए। त्यतिबेला गणेशमान सिंह, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भूपि शेरचन, सिद्धिचरण श्रेष्ठहरू उनको कोठामा आउजाउ गर्थे। सिंहले त उनलाई खाट पनि पठाइदिएका थिए। करीब एकदशक टोखा क्षेत्रमा डेरा गरी बसेका दासको वास्तविक नाम हराएर ‘टोखाका डाक्टर’ भनेर चिनिए।
पहाडको हावापानीमा राम्रोसँग भिजेका टोखाका डाक्टर एक–एक महीना हिंडेर तीन पटक मानसरोवर पुगे भने दुई पटक गोसाईंकुण्ड। उनी काठमाडौंबाट दाङ, तुलसीपुर, सल्यान, जाजरकोट, दैलेख र सिन्धुपाल्चोकको तातोपानी हिंडेरै पुगे। “बैंसमा ब्याडमिन्टन र भलिबल खूब खेलियो”, डा. दास भन्छन्, “म त जमानाको राम्रो बाँसुरी र ढोलक बादक पनि हुँ नि!! ”
२०१० सालमा क्षयरोग निवारण संस्थाको टेक्निकल डाइरेक्टर भएका उनले त्यसको २० वर्षमा नेपाल रेडक्रस सोसाइटी स्थापना गर्न महत्वपूर्ण भूमिका खेले। २०२६ मा स्वास्थ्य विभागको निर्देशक भएकै बेला कुष्ठरोग निवारण संस्थाको संस्थापक उपाध्यक्ष र पछि अध्यक्ष भए।
सन् १९७९ मा विश्व स्वास्थ्य संगठनको योजनाकारको रूपमा माल्दिभ्सको पहिलो स्वास्थ्य योजना बनाएको अनुभव पनि छ, डा. दाससँग। २०३५ देखि २०४७ सालसम्म लोकसेवा आयोगको सदस्य रहेका उनी ६५ वर्ष तीन महीनाको हुँदा अवकाश पाएर त्यसको १० वर्षपछि मानवअधिकार आयोगको सदस्य भए।
वरिष्ठ छाती रोग विशेषज्ञ दास सक्रियता नै आफ्नो जीवनको शक्ति भएको बताउँछन्। उनी अहिले पनि सार्वजनिक बस चढेरै दैनिक ५–६ वटा कार्यक्रम भ्याइरहेका छन्। आफैं बजार गएर सागसब्जी किन्ने मात्र होइन, उनी आफ्नो लुगा पनि आफैं धुन्छन्।
उनको अनुभवमा, नियमित व्यायाम, सन्तुलित आहार र तनावरहित सोचले मानिसलाई दीर्घजीवी बनाउँछ। बिहान पाँचबजे उठेर दुई घण्टा योग गरेपछि उनको दिनचर्या शुरू हुन्छ। उनको लागि अहिलेको सबभन्दा महत्वपूर्ण काम भनेको ज्येष्ठ नागरिकहरूको हितमा लड्नु हो। “ज्येष्ठ नागरिकहरूका लागि लड्नु एक हिसाबले बाध्यता बन्न गएको छ”, उनी भन्छन्।
गाउँमा हुर्केका उनी धनीमानी र शिक्षित मानिसहरू बस्ने शहरमा ज्येष्ठ नागरिकहरूले बढी समस्या झ्ेल्नुपरेको देख्छन्। आफूलाई जन्माएर, हुर्काएर, पढाएर पखेटा हालिदिने आमाबाबुलाई जीवनको उत्तरार्द्धमा छोराछोरीले थिचोमिचो गरेको घटनाहरू देख्दा उनी द्रवित हुन्छन्। आफ्नो परिवारबाट खानबस्न, स्वास्थ्य उपचार लगायतका आफ्ना आवश्यकता पूरा हुने अपेक्षा राख्नु ज्येष्ठ नागरिकको अधिकार भएको डा. दास बताउँछन्। “तर, मेरो हेरचाह गर भन्दा शिक्षित छोराबुहारीले भीख मागेको ठान्ने गरेका छन्”, उनी भन्छन्, “अनि ज्येष्ठ नागरिकहरू नजुर्मुराइ भयो त?”
हुन पनि, अमेरिकामा ‘सेटल’ भइसकेका छोराबुहारीले आमाबाबुलाई झ्ुक्याएर सम्पत्ति हड्पेको देखि आमाबाबुलाई बोरामा हालेर सडकमा छाडेको सम्मका घटना देखेका छन्, उनले।
महासंघमा काम गर्दा उनले छोराबुहारीले मुद्दा लगाएपछि जीवनको अन्तिम घडीसम्म अदालत धाइरहन बाध्य ज्येष्ठ नागरिकहरूका पीडा पनि नजिकबाट बुझेका छन्। “सबै छोराछोरी र बुहारीले आमाबाबुलाई हेरेका छैनन् भन्ने कदापि होइन तर प्रतिनिधि घटनाहरू हाम्रो समाजका लागि कलंक बनेका छन्”, डा. दास भन्छन्।
घरपरिवारले राम्रो हेरचाह गरेका ज्येष्ठ नागरिकका लागि एक्लोपन अर्को समस्या हो। डाँडामाथिको घाम भनेर एक्लै छाडिदिंदा उनीहरूमा विभिन्न मानसिक तथा शारीरिक समस्या थपिने गरेको डा. दास बताउँछन्।
त्यस्ता ज्येष्ठ नागरिकहरूले सकेसम्म आफूलाई सक्रिय बनाइराख्नुपर्ने उनको सुझ्ाव छ। आ–आफ्नो इच्छा अनुसार योग गर्ने, गीतसंगीत सुन्ने, खेल्ने, बगैंचामा गोडमेल गर्ने, साहित्य, अध्यात्ममा लाग्ने, नातिनातिनाहरूसँग समय बिताउने गर्नुपर्ने उनी बताउँछन्।
नातिनातिनासँग समय बिताउने अवसर नपाएका र छोराछोरी टाढा भएकाहरूका लागि वृद्धाश्रम उपयुक्त विकल्प हो। ज्येष्ठ नागरिक सेवा केन्द्र समेत चलाएका डा. दास सरकारी वृद्धाश्रमहरूलाई सिर्जनात्मक र स्तरीय बनाउन अत्यावश्यक देख्छन्।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
