रमझमबुधबार, जेठ १९, २०७३
न्युयोर्कमा ‘ट्राभलिङ किम्फ’
गतवर्ष हङकङबाट ‘ट्राभलिङ किम्फ’का रूपमा देशबाहिर प्रदर्शन थालेको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) यसपटक ५ जुनमा अमेरिकाको न्युयोर्कमा सम्पन्न हुदैछ । ‘घुम्ती किम्फ’मा ४ वटा फिल्म प्रर्दशन हुँदैछन् ।
किम्फमा केशान छेतेनद्वारा निर्देशित मानवशास्त्री डोरबहादुर विष्टको कथा समेटिएको ‘काष्ट वे म्यान’, एण्डु हिण्टोन र जोनी ब्रोकले बनाएको ‘टासी एण्ड द मंकस’ र अरुण देव जोशीको निर्देशन रहेको छोटो फिल्म ‘कमारो’ रहेकाे आयोजक आङछिरिङ शेर्पा जानकारी दिए।
त्यस्तै पासाङ दावा शेर्पाको रेटलिड फ्यान पनि प्रर्दशन गरिनेछ । न्युयोर्कमा प्रर्दशनीको अन्तिम तयारी पूरा भएको आयोजक निमा पाख्र्रिनले बताए ।
नेपाली जनजीवनलाई दुरुस्त देखाउने खालका वृत्तचित्र सहितको किम्फ राजधानीमा वर्षेनी हुँदै आएको छ । किम्फ यसअघि ‘घुम्ती किम्फ’का रूपमा नेपालका ४७ जिल्लामा प्रदर्शन भइसकेको छ । २०१५ देखि देशबाहिर आयोजना हुने क्रममा फेब्रुअरीमा हङकङ, मकाउ र अगस्तमा अमेरिकाको न्युयोर्कमा सम्पन्न भएको थियो ।
विदेशमा भएको प्रर्दशनीमा दर्शकको उत्साहजनक उपस्थिति भएकोले किम्फलाई यस वर्ष पनि निरन्तरता दिन लागिएको किम्फका अध्यक्ष तथा आयोजक हिमाल एसोसिएसनका कार्यकारी निर्देशक वसन्त थापा बताउँछन् ।
हरेक वर्ष डिसेम्बरमा राजधानी, काठमाडौंमा भईरहेको महोत्सवलाई ‘ट्राभलिङ किम्फ’का रूपमा देशबाहिर लैजाँदा प्रवासमा रहेका नेपाली दर्शकले देशसँग नजिक हुने र विदेशीमाझ नेपालको पर्यटन र संस्कृतिको प्रर्वद्धन हुने थापाले बताए ।
वर्षेनी सयभन्दा बढी देशहरूका डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्महरू छनोट गरेर प्रर्दशनी गरिने किम्फ नेपालमा हुने अन्तर्राष्ट्रिय फिल्म महोत्सव हो । विगत १३ वर्षदेखि नियमित हुँदै आएको किम्फ ‘घुम्ती किम्फ’का रूपमा देशका विभिन्न सहरहरूमा समेत प्रर्दशनी हुने गर्छ । किम्फमा विशेषगरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्महरू प्रदर्शन गरिन्छन् ।
किम्फका इन्टरनेसनल इभेन्ट कोअर्डिनेटर डम्बरकृष्ण श्रेष्ठका अनुसार मकाउ र अमेरिकाको न्युयोर्कपछि हङकङमा एभरेष्ट मिडियाको स्थानीय आयोजनामा आगामी अगस्तमा हुने भएको छ । किम्फ घुम्तीको आयोजक हिमाल एसोसिएसन तथा सह–आयोजक एभरेष्ट मिडिया रहेको छ ।