समाचारबुधबार, जेठ १९, २०७३
आफूलाई अवतारी बताउँदै लाखौं ठगी
आफूलाई ‘अवतारी लामा’ बताउने एक व्यक्तिले पाँचथरको सदरमुकाम फिदिमबाट लाखौं मूल्यको सुन र नगद ठगी गरेका छन् ।
उनले आफ्नो घर काठमाडौंको बौद्ध र नाम तेन्जिङ लामा बताएको पीडितहरु बताउँछन् ।
ती व्यक्तिले स्थानीय दिपक धमला, लक्ष्मी स्याङवो र नांगिन–८ का रेञ्जि शेर्पा लगायतका ब्यक्तिवाट करिब २० तोला सुन र १० लाख रुपैयाँ नगद ठगी गरेका हुन ।
फिदिम बजारका होटल व्यवसायी सुरज रुम्बाका अनुसार ४ जेठमा फिदिम आइपुगेका तेन्जिङले आफू अवतारी भएकाले विरामी उपचार गर्ने, भविष्यवाणी गर्ने बताएको र उनले भनेका केही कुरा मिलेपछि स्थानीय उनको चंगुलनमा परेका थिए ।
ठगिएकी लक्ष्मी स्याङवोका अनुसार उनले जोखाना हेराउन जानेहरुको विगतका केही घटना मिलाएका थिए भने आफूसँग रहेको सुन पूजा गर्दा समृद्धि बढ्ने दाबी गरेका थिए ।
“जोखना हेराउँदा धेरै कुरा मिलेपछि साक्षात लामा जस्तो लागेर चार चार आनाका दुईवटा सिक्री र साढे दुई तोलाको चुरा चढाएकी थिएँ, सवै लिएर भागेछन,” जिल्ला प्रहरी कार्यालयमा जाहेरी लिएर पुगेकी लक्ष्मीले भनिन् ।
चार तोला सुन र नगद ४० हजार बुझाएका व्यवसायी दीपक धमलाले पूजाका लागि सुन बुझाएपछि शुरुको दुई दिन आफूलाई पनि व्यवसाय बढेको भ्रम परेको बताए ।
करिब रु ४ लाख ठगीमा परेका नाँगीन ८ का रिञ्जि शेर्पाका अनुसार लामाले फिदिममा बौद्ध गुम्बा निर्माणका लागि सहयोग गर्ने भन्दै स्थानीयलाई भेला गराएर एसबिआई बैंकमा खाता समेत खोल्न लगाएका छन् ।
उनले गुम्बा निर्माणमा सहयोग गर्न विदेशीहरु आएको र उनीहरुलाई लिन विर्तामोड जानुपर्छ भनी स्थानीयलाई लिएर विर्तामोड गएका थिए ।
“बिर्तामोड पुगेपछि हामीलाई ‘दमकस्थित ओएचसिएचआर को कार्यालयमा रहेका बिदेशी लिन पठाए, आफू चाहीं होटेलमा आराम गरे,” रिञ्जिले भने, “तर ओएचसिएचआरमा उनले भनेका व्यक्ति थिएनन्, उनले दिएको नम्बर पनि स्विच अफ थियो । फर्केर उनी बसेको होटेल जाँदा त्यहाँबाट लुगा फेरेर गइसकेको थाहा भयो ।”
आफूमा रहेको ‘अलौकिक शक्ति’ नष्ट हुने भन्दै उनले कसैलाई फोटो खिच्न समेत दिंदैनथे । तर जोखना हेराउन पुगेका एक व्यक्तिले झुक्याएर खिचेको फोटो हामीलाई प्राप्त भएको छ ।
प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले घट्नाको छानबिन शुरु गरिएको बताएका छन् ।
लक्ष्मी गौतम, पाँचथर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
