टिप्पणीबुधबार, जेठ १९, २०७३

राजनीतिक छायाँमा बुद्धजयन्ती

वसन्त महर्जन

सरकारले उपयोग गर्न खोजेको बुद्धजयन्ती समारोहले धेरै प्रश्न उब्जाएका छन्।

दक्षिणी छिमेकसँगको सम्बन्ध बिग्रनु र उत्तरसँगको निकटता बढ्नु नितान्त राजनीतिक विषयवस्तु हो, तर त्यसको प्रभाव बौद्ध सम्मेलनमा पनि देखियो, जसलाई शुभलक्षण मान्न सकिन्न।

‘लुम्बिनी, नेपालः बुद्धको जन्मस्थल तथा बौद्ध दर्शन र विश्व शान्तिको मुहान’ भन्ने नाराका साथ लुम्बिनीमा भएको बुद्धजयन्ती समारोह र त्यसअघिका दुई दिन काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीमा देखिएको राजनीतिक छायाँले बुद्ध र बौद्ध धर्मसँग सम्बन्धित गम्भीर पक्षहरूलाई धुमिल बनाउँदा थुप्रै प्रश्न उब्जेका छन्।

बोधगया कि लुम्बिनी?
गौतम बुद्ध इसापूर्व ५६३ मा नेपालको लुम्बिनीमा जन्मेको तथ्य सन् १८९६ मै प्रमाणित भएको हो। उनले ३५ वर्षको उमेरमा भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेको प्रामाणिक इतिहासलाई पनि दुनियाँले मानेकै छ।

बुद्धको गृहनगर कपिलवस्तु भने वर्तमान नेपाल र भारत दुवैतिर पर्छ र ऐतिहासिक तथा पुरातात्विक दृष्टिले प्राचीन कपिलवस्तुमाथि दुवै देशको दाबी सही छ।

बुद्ध नेपालको लुम्बिनीमा जन्मेको तथ्यलाई भारतले कहिल्यै नकारेको छैन, बरु लुम्बिनीको विकासमा सहभागी बन्दै आएको छ। उसले कपिलवस्तुलगायत बुद्धसँग सम्बन्धित भूमि भारतमा पर्छ भन्नुलाई लुम्बिनीमाथिको दाबीको रुपमा बुझ्नु हाम्रो कमजोरी हो। र, यसपालिको गोष्ठीमा पनि त्यही देखाउन खोजियो।

सम्मेलनको मूल नारामा मात्र नभई प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको अभिव्यक्तिमा पनि त्यही आशय झल्काइयो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले गत माघमा विभिन्न ठाउँमा पुगेर ‘बुद्ध जन्मँदा नै बुद्ध थिए’ भन्ने भाषण गरे। यस्तो भाषणवाजीबाट कतिलाई आत्मरति मिले पनि यो बुद्ध र बौद्ध धर्मको गलत व्याख्या हो।

पछिल्लो गोष्ठीका नारा र केही कार्यपत्रका भाव पनि मन्त्री पोखरेलको भाषणसँग मिलेको देखियो। त्यसअनुसार, ‘गौतम बुद्धले पूर्वजन्महरूमा पारमिता पूरा गर्र्दै आएको हुँदा लुम्बिनीमा जन्मनुअघि नै बुद्ध भइसकेका थिए’ भन्ने थियो।

महायानी बौद्ध ग्रन्थ ‘ललितविस्तर’ को आधारमा यस्तो दाबी गर्नेहरुले उक्त ग्रन्थलाई बौद्ध इतिहास अध्ययनको स्रोत मानिंदैन भन्नेमा ध्यान पुर्यााएको देखिएन।

पारमिता पूरा गरेर पनि बुद्धत्व प्राप्त नगर्दासम्मको अपूर्ण स्थिति बोधिसत्व हो, तर लुम्बिनी बौद्ध विश्वविद्यालयसम्बद्ध एक अध्यापकले बोधिसत्व र बुद्ध एउटै भएको सन्देश दिने तीन वटा कार्यपत्र प्रस्तुत गरे।

सोही विश्वविद्यालयका उपकुलपति प्रा. डा. नरेशमान बज्राचार्यले इतिहासका साथै जनविश्वासलाई पनि मान्नुपर्ने बताए। यस्ता व्याख्याको जवाफ बौद्ध विश्वलाई दिनुपर्ने हुन्छ। सिद्धार्थ लुम्बिनीमा जन्मनुअघि नै बुद्ध भइसकेको मान्ने हो भने लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल रहँदैन।

राष्ट्रसंघका महासचिव, चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री सहभागी हुने प्रचारले पनि यस पटकको बौद्ध सम्मेलनलाई निकै चासोको विषय बनाएको थियो। तर, राजकुमार सिद्धार्थ लुम्बिनीमा जन्मँदै बुद्ध थिए भन्ने मान्यता स्थापित गरेर बोधगयालाई कम महत्व दिने भित्री उद्देश्य बोकेको सम्मेलनमा भारतीय वा अन्य विशिष्टहरू नआउनु आश्चर्यको कुरा भएन।

बरु चिनियाँहरूको भने भीड नै देखियो। सम्मेलनमा वितरित पुस्तिका अनुसार ३८५ जना अन्तर्राष्ट्रिय सहभागीमध्ये ३०३ चिनियाँ थिए।

पार नलाग्ने आग्रह
इसापूर्व ५२८ को वैशाख पूर्णिमाका दिन बोधगयामा बुद्धत्व प्राप्त गरेपछि श्रमण गौतम वा बोधिसत्व सिद्धार्थ गौतम बुद्धका नामले प्रख्यात बने। उनले असार पूर्णिमाका दिन सारनाथ (भारत) मा पहिलो धर्म उपदेश दिएर ज्ञान प्रसार थाले, जसलाई ‘धर्मचक्र प्रवर्तन’ भनिन्छ।

यस्ता ऐतिहासिक तथ्यलाई इन्कार गर्दै भारतले नाकाबन्दी गरेको रीस फेर्न नेपालले यस्तो कार्यक्रम गर्नु भनेको राजनीति र धर्म–दर्शनलाई मिसमास पार्नु हो। यस्तो पपुलिज्मले कसैको हित गर्दैन।

गोष्ठीले चाहेजस्तो बौद्ध दर्शनको उद्गमस्थल लुम्बिनीलाई नै मान्ने हो भने प्रथम धर्म उपदेश दिएको सारनाथ र महापरिनिर्वाणस्थल कुशीनगरको प्रसंग पनि लुम्बिनीमै जोड्न सकिन्छ– लुम्बिनी नै आफ्नो अन्तिम जन्म भनी गरेको उद्घोषलाई धर्म उपदेश दिएको भन्दै। त्यसो गर्दा बौद्ध धर्म–दर्शनको पालना भने हुँदैन।

प्राचीन भारतको इतिहासको प्रमुख स्रोत बौद्ध ग्रन्थहरू नै हुन्। पौराणिकताभन्दा ऐतिहासिकता भएकैले संसारभरका अनुसन्धानकर्ताहरूलाई यसले आकर्षित पारेको हो।

गौतम बुद्ध जन्मनुअघि नै बुद्ध थिए वा बुद्धहरू पृथ्वीमा फेरि जन्मँदैनन् भन्ने जस्ता रटानबाट बौद्ध अध्ययनले पार पाउँदैन।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>