समाचारबिहीबार, जेठ २०, २०७३

नौ बुँदे बाहेकका सहमति पनि खुल्दै जान्छन्: नेता नेपाल

हिमालखबर

नौ बुँदे बाहेकका सहमति पनि खुल्दै जान्छन्: नेता नेपालनेकपा एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ९ बुँदे बाहेक पनि पर्दा पछाडी सहमति भएकाे बताएका छन् ।

प्रेस चौतारी, पर्साले २० जेठमा वीरगञ्जमा आयोजना गरेको केन्द्रिय पदाधिकारीहरुको सम्मान कार्यक्रममा बोल्दै उनले नेकपा माओवादी केन्द्रसँग अन्य सहमति समेत भएको बताएका हुन । सहमतिहरु समयक्रमसँगै बाहिर आउने पनि नेता नेपालले बताए । उनले भने, “पर्दा पछाडी पनि सहमति भएको छ । आवश्यकता अनुसार बाहिर आउँछ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका नेता नेपालले प्रधानमन्त्रीले भन्ने गरेको चुच्चे रेल अहिलेलाई सपना मात्रै भएको उल्लेख गरे । चुच्चे रेल कहिले आउने ? भन्ने पत्रकारको जिज्ञासामा उनको जवाफ थियो, “चुच्चे रेल अहिलेलाई सपना मात्रै हो । प्रर्याप्त विद्युत नभएसम्म त्यो संभव छैन् ।”

कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले मधेसवादी दलहरुलाई लक्षित गर्दै बन्द हड्ताल र तमाशा बन्द गर्न आग्रह गरे । “हामीले लामो समय राजनीतिक परिवर्तनमा खर्च गरिसकेका छौं । सबैको अधिकार नयाँ संविधानमा समेटिएको छ । छुटेको भएपनि त्यसलाई समेट्न सकिन्छ ।” अब आन्दोलन होइन विकासको लहरमा जोड दिनुपर्ने उनको जोड थियो ।

सरकारले संसदमा प्रस्तुत गरेको बजेटले सांसद, कर्मचारी, जेष्ठ नागरिक, अपाङगता भएका व्यक्तिहरु, विधवा, गाँउ, सहरलाई खुशी बनाएको उनको भनाई थियो । तराई मधेसको विकासका लागि प्रयाप्त बजेट विनियोजन भएको बताउँदै उनले योजना सुन्दर बनेर मात्रै नहुने कार्यान्वयन हुनुपर्ने बताए ।

वीरगञ्ज विकासमा पछाडी परेकोमा उनले चिन्ता समेत व्यक्त गरे । “बाटो समयमा नबने वीरगञ्ज नाका सुक्न सक्छ” नेपालले भने “यहाँका जनतालाई यो कुराले पोल्नुपर्छ । यहाँको विकासका लागि यहीको जनता तात्नुपर्छ ।”

सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>