समाचारबिहीबार, जेठ २०, २०७३
कसैले हप्काउँदैमा कुर्सी छाड्दिन: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड’ भनेर हप्काउँदै र तर्साउन खोज्दैमा आफू प्रधानमन्त्रीबाट नहट्ने बताएका छन् । ओलीले भने “अहिले मलाई प्रधानमन्त्री पद छाड्नुपर्यो भनेर हप्काउने र तर्साउने काम गरिँदै छ, यो मलाई स्वीकार्य छैन, हप्काई र तर्साइबाट तर्सिने मेरो स्वभाव होइन ।”
प्रधानमन्त्री ओलीले २० जेठदेखि काठमाडौंमा शुरु दुईदिने नागरिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै आफूले प्रम पद छाड्दा देश र जनताको भलो हुन्छ, समस्या एकाएक सबै हल हुन्छन भने चाहिँ आफूलाई कुर्सीमोह नभएको बताए ।
कार्यक्रममा उनले भने “म जन्मदा प्रम नै भएर नजन्मेको र मर्दा पनि प्रमपद लिएर जाने होइन, देश र जनताको सेवा गरेका कारण प्रम भएको हुँ, अहिले मलाई कमाउनु छैन, भ्रष्टाचार पनि गर्नुछैन, देश बनाउने समय पाएको छु, जतिदिन प्रम हुन्छु २४ सै घन्टा देश विकासमा लाग्छु ।”
प्रम ओलीले आफू अति अप्ठ्यारो अवस्थामा प्रमपद सम्हालेको चर्चा गर्दै तराईको आन्दोलन सेलाउँदै गएको र आर्थिक समृद्धिको बाटोमा मुलुक लम्किन लागेको बताए ।
सडकमा तमासा नदेखाऊ
नयाँ संविधानप्रति असन्तुष्टि राखी तराई मधेस केन्द्रित दलले जारी राखेको आन्दोलनप्रति इङ्कित गर्दै प्रम ओलीले सडकमा तमासा नदेखाउन र केही असन्तुष्टि भए वार्तामा आउन ती दललाई आग्रह गरे । ओलीले भने, “तराईको आन्दोलन सेलाइसकेको छ, मैले ताती सकेको भाँडोलाई विस्तारै सेलाउने काम गरेँ, भारतीय गतिरोध पनि अन्त्य भएको छ ।”
काँध फेर्ने कुुरा नगर
प्रधानमन्त्री ओलीले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग सत्ता हस्तान्तरणसम्बन्धी कुनै सहमति नभएको बताए । भनले भने, “सत्ता हस्तान्तरणसम्बन्धी तीनबुँदे सहमति कहाँ भयो ? लौन मलाई देखाइदिनुस् । मैले त माओवादीसँग नौबुँदे सहमति मात्र गरेको हुँ । म ती पक्षलाई आग्रह गर्छु, काँध फेर्ने कुरा नगर्नुहोस्, केपी ओलीको काँध थाकेको छैन ।”
विगतका सरकार तरकारी बारीका बुख्याचा
प्रधानमन्त्री ओलीले विगतका सरकारलाई तरकारी बारीको बुख्याचाको सङ्ज्ञा दिँदै सामाजिक लोक कल्याणकारीमा लगानी गर्न डराएको आरोप लगाए । “बूढाबूढीका योगदानका कारण देश अहिलेको अवस्थामा आइपुगेको हो, त्यसैले उनीहरुलाई दिइने भत्ता बढाइदिएको हुँ” उनले भने । रासस