टिप्पणीशुक्रबार, जेठ २१, २०७३

मुलुक बाहिर विमल

शेखर खरेल

लन्डनको साउथ व्यांक सेन्टरमा नेपाली ‘ह्याम्लेट’ को प्रदर्शनी सम्भवतः नेपाली नाट्य क्षेत्रले प्राप्त गरेको आजसम्मकै ठूलो उपलब्धि हो ।

नेपालीकरण गरिएको नाटक 'ह्याम्लेट' को दृश्य ।

नेपालीकरण गरिएको नाटक ‘ह्याम्लेट’ को दृश्य ।

गत वैशाखमा लाजिम्पाट, उत्तरढोकास्थित बाँसका कप्टेराद्वारा निर्मित थिएटर भिलेजको सत्यमोहन जोशी नाटकघरमा ‘ह्याम्लेट’ मञ्चन भइरहँदा स्वयं नाटक घरकै बास चाहिं उठ्तैथियो।

थिएटर भिलेज नाट्य समूहको लिज सम्झौता चैत, २०७२ मा सकिएसँगै समूहलाई नाटकघर सदाका लागि छाड्न भनियो। तर संयोगवश, विश्वप्रसिद्ध नाटककार विलियम शेक्सपियरको नाटक ‘ह्याम्लेट’ माथि नेपालमा पर्दा खस्दै गर्दा शेक्सपियरकै मुलुक बेलायतबाट पर्दा उठाइने निम्तो थिएटर भिलेजलाई प्राप्त भयो।

यता नाटकघर छाड्नुपर्ने तर उता संसारकै प्रतिष्ठित लन्डनको साउथ व्यांक सेन्टरमा नाटक मञ्चनका लागि प्राप्त निम्तो। समूहका मूली नाट्य निर्देशक विमल सुवेदीका लागि यो रुँदारुँदै हाँस्नुपर्ने अवस्था जस्तै थियो।

विमल त्यस क्षणलाई सम्झन्छन्, “थिएटर मेरा लागि आमाको गर्भाशय जस्तै हो, जहाँ बच्चा खान्छ, बढ्छ र न्यानोपन महसूस गर्छ। गर्भाशयबाट शिशुलाई झिकिदिंदा जस्तो पीडा हुन्छ अहिले मैले अनुभूत गरिरहेको पनि त्यही हो।”

साउथ व्यांक सेन्टरको त्यो निम्तो विमलका लागि मात्र नभएर नेपाली नाट्य क्षेत्रका लागि नै संभवतः आजसम्मकै ठूलो उपलब्धि थियो। लन्डनको थेम्स नदी तटमा जारी अल्केमी नाट्य महोत्सवमा नेपालका रंगकर्मी र व्यवस्थापकसहित पन्ध्र जनाको टोलीलाई बेलायत सरकारको सौजन्यमा दुर्लभ र सम्मानित अवसर जुरेको थियो। र, १२ जेठका दिन लन्डन प्रस्थान गरेको नेपाली टोलीले १४ र १५ जेठमा ‘ह्याम्लेट’ को नेपाली रुपान्तरण मञ्चन गरेको छ।

नेपाल र बेलायतबीच दौत्य सम्बन्धको २००औं वार्षिकोत्सव तथा अमर नाटककार शेक्सपियरको ४००आंै स्मृति दिवसलाई विशेष बनाउन गत असोजतिर बेलायतका रंगकर्मी नेपालसँग रङ्गमञ्चीय साझेदारी गर्न चाहिरहेका थिए। यहीबेला बेलायती नाट्य निर्देशक ग्रेगोरी थम्सनसँग विमलको भेट भयो।

र उनीसँगको सह–निर्देशनमा नेपाली ‘ह्याम्लेट’ को जन्म भयो। तर, नेपालीमा नाटक ‘एडप्सन’ (अनुकूलन) गर्नु ठूलो चुनौती थियो। “पूरै नेपालीकरण गर्दा शेक्सपियरको मौलिकता मर्न सक्थ्यो, किनकि नाटकमा अभिजात्यपनासँगै काव्यिकता पाइन्छ, जुन लगभग हाम्रा दरबारमा जस्तै हुनेरहेछ”, विमल भन्छन्, “त्यसैले ‘ह्याम्लेट’ लाई हामीले राजदरबार हत्याकाण्डसँग जोडिदियौं। सांस्कृतिक रुपमा केही नेपाली तत्व मिसाइदियौं।”

नाटकको नेपाली अनुकूलन भन्दा चुनौतीपूर्ण थियो, पात्रको छनोट अर्थात् कास्टिङ। निर्देशकद्वयले धेरै चरणको छलफलपछि कमलमणि नेपाल, भोलाराज सापकोटा, दिव्यदेव पन्त, अरुणा रायमाझी जस्ता माझिएका रङ्गकर्मीको साथ लिए।

पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ राजकुमार ह्याम्लेटकी प्रेमिकाको मुख्य भूमिकामा देखिइन्। “खासमा मलाई सृष्टिको ‘सफिस्टिकेसन’ मन पर्‍यो। दरबारका नारीका रुपरङ्ग, आनीबानी, बोलीचाली फरक भए जस्तै उनी फरक लागिन्। राजकुमारीको चरित्र पनि यस्तै थियो”, विमल भन्छन्।

रङ्गमञ्चको अन्तर्राष्ट्रियकरण

निर्देशक विमल सुवेदी ।

निर्देशक विमल सुवेदी ।

सिर्जनशील करिअरको आरोहतिर बढिरहेका विमलले नेपाली रङ्गमञ्चका दुई अभाव एकसाथ पूरा गरिरहेका छन्। भारतको प्रतिष्ठित नेशनल स्कूल अफ ड्रामा (एनएसडी) बाट रङ्गमञ्च प्रविधि, डिजाइन र निर्देशनमा स्नातकोत्तर उनले नेपाली रङ्गमञ्चमा नयाँ सीप र शैली भित्र्याएका छन्। स्थापित रङ्गकर्मीहरू सुनिल पोखरेल र अनुप बरालपछि साढे दुई दशकयता कुनै नेपालीले एनएसडीको सँघार टेकेका थिएनन्, यो खडेरी पुर्ने विमल नै हुन्।

विमलको अर्को योगदान नाटकको अन्तर्राष्ट्रियकरण हो। सत्यमोहन जोशीको ‘चारुमती’, अभि सुवेदीको ‘सान्दाजुको महाभारत’, संजिव उप्रेतीको ‘मकैको अर्कै खेती’ सँगै उनले स्पेनी नाटककार गार्सिया लोर्काको ‘यर्मा’, रवीन्द्रनाथ टैगोरको ‘मालिनी’ र हलिउडका नाट्य निर्देशक रोवर्ट लिनसँगको सहकार्यमा ‘अ नाइट विथ माओ’ निर्देशन गरेर नेपाली दर्शकलाई विश्वका उम्दा नाटकको आस्वाद चखाएका छन्। ‘अ नाइट विथ माओ’ लाई भारत, ‘मालिनी’ लाई पाकिस्तान र ‘ह्याम्लेट’ बेलायत पुर्‍याएर नेपाली नाट्य निर्देशनको सामर्थ्य पनि प्रदर्शन गरेका छन्।

नाट्य निर्देशनसँगै विमल थाइल्याण्डको मराडोकमाई सामुदायिक थिएटर, भारतको रोहतक फिल्म एण्ड टेलिभिजन इन्ष्टिच्यूट तथा एनएसडीकै भिजिटिङ अध्यापक पनि हुन्, जस अन्तर्गत उनी एशियाका विभिन्न शहरमा रङ्गमञ्चीय ज्ञान बाँड्ने र बाँकी संसारका अनुभव मुलुक भित्र्याइरहेका छन्।

यसै वर्ष मात्र उनलाई जर्मन तथा बेलायत सरकारका तर्फबाट एक वर्ष लामो कला व्यवस्थापन तथा सांस्कृतिक नीति विषयक विद्वत्वृत्ति पनि मिलेको छ।

यी सबै उपलब्धिका बाबजूद एउटा शेक्सपियरियन ट्रेजिडी झै लन्डनमा ‘ह्याम्लेट’ मञ्चनपछि नेपाल फर्कंदा उनको आफ्नै रङ्गमञ्च हुने छैन। “तर तीन वर्षमा प्राप्त उपलब्धि चानचुने होइन”, लन्डन उड्नु अघि विमलले सुनाए, “त्यसैले चाँडै जग्गा भाडामा लिएर अर्को रङ्गमञ्च बनाउँछौं।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>