अर्थ/बजारशुक्रबार, जेठ २१, २०७३
एनसेललाई पुँजीगत लाभकर तिराउन संसदीय समितिको निर्देशन
व्यवस्थापिका–संसद्, अर्थ समितिले दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल नेपाललाई कानुनअनुसार पुँजीगत लाभकर तिराउँन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले नेपालमा दर्ता भएको, लगानी गरेको र नेपालमा नेपालीसँग कारोबार गरी नाफा कमाएको कम्पनी भएकाले यही नै लाभकर तिर्नुपर्ने निष्कर्ष समेत निकालेको छ ।
समितिको निर्णयमा भनिएको छ “कम्पनीले सेयर बिक्री गरी स्वामित्व हस्तान्तरण गरेपछि त्यसबाट पुँजी आर्जन गरेको अर्थात् पुँजीगत लाभप्राप्त गरेकोले तिर्नुपर्ने सम्पूर्ण पुँजीगत लाभकर नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने र उक्त कम्पनीबाट असुल गर्नुपर्ने देखिएको छ । ”
समितिले कर असुल गरी सोको विवरण समेत सदनलाई जानकारी गराउन निर्देशन दिइएको सभापति प्रकाश ज्वालाले बताए । जुन मुलुकमा कम्पनी दर्ता गरी नाफा कमाउँछ सोही मुलुकमा नै लाभकर तिर्नुपर्छ भन्ने मान्यता विपरित एनसेलले जबरजस्ती नै गर्न खोजेको भन्दै सांसदहरुले सरकारी लाचारीपनका कारण पनि समस्या पैदा भएको भन्दै आपत्ति प्रकट गरेका छन् । रासस