ब्लगशनिबार, जेठ २२, २०७३

पल्टन नदिने हतियार माग्ने

ज्ञानमणि नेपाल

ब्रिटिश–भारतीय गोर्खा पल्टन जस्तै नेपालमा पनि अंग्रेजको वृत्ति खाने गोर्खाली रिजर्भ पल्टन राख्न भनी ब्रिटिशले राखेको प्रस्तावलाई महाराज चन्द्रशमशेरले ठाडै इन्कार गरिदिए ।

नेपाल–चीन–तिब्बत सम्बन्धका विषयमा हिमाल का अघिल्ला अंकहरूमा प्रशस्त विमर्श गरेको छु। सौगात र अर्जी पत्रको बेहोराका कारण नेपालमा चीनको प्रभाव देखियो, त्यसलाई अब सच्याउनुपर्छ भनेर ब्रिटिश अधिकारीहरूले, त्यसमा पनि विशेषतः रेजिडेन्टले मुन्सीखानाका कप्तान र महाराज चन्द्रशमशेरसँग समेत बारम्बार असन्तुष्टि जनाइरहन्थे।

अर्जीको बेहोराबाट नेपालमा चीनको प्रभाव छ भन्ने जानिंदैन, त्यो केवल मानमनितो–शिष्टाचार हो अनि ठूलासँग भेट गर्दा खालीहात जानुहुँदैन भनेर मात्र कोसेली पठाउने गरिएको हो र त्यो पहिल्यैदेखिको प्रचलन मात्र हो भन्दै महाराजले रेजिडेन्टसँग प्रतिवाद गर्थे।

अघि बेतियाका राजासँगको पत्राचारको सन्दर्भमा जङ्गबहादुरले पनि एकपटक यस्तै कुरा गरेका थिए। उनले ‘हाम्रा यहाँका मुस्ताङ्गी, बझाङ्गी राजा, तपाईं तथा बेतिया आदि भारतका राजाहरूले महाराजलाई (हामीलाई) मान्नुपर्छ, महाराजले महाराजाधिराजलाई मान्नुपर्छ, महाराजाधिराजले पनि सम्राट–वादशाह (इम्पेयर) लाई मान्नुपर्छ’ भनेका थिए।

यहाँनेर एउटा चाहिं कुरो अलिकति उल्लेख गर्नु आवश्यक छ। एक पटक रेजिडेन्टले वादशाहलाई के कति सामान पठाउनुहुन्छ भनेर सोध्दा महाराजले उताबाट दश–बाह्र लाखको नगद–जिनिस आउँछ, यताबाट पहिले हात्ती–घोडा पनि जान्थे, पछि ती छुटे, मामुली सुपारी–मरमसला मात्र पठाइन्छ भनेका थिए।

हात्ती–घोडा पनि भोटाङको बाटोबाट एकपल्ट मात्र पठाइएका थिए, तर चीनको हावापानीमा ठहरेनन्। ती मरेकाले पठाउनुपर्दैन भन्ने पत्र आएपछि ती छुटे। अरू पठाउनेमा मामुली मर–मसला मात्र होइन, किमती वस्तुहरू पनि हुन्थे। त्यसको विवरण यस्तो छ–

अर्जी–१, ताँबाको तुम्बी–१, बन्दूक (तीन प्रकारका)–३, गोली पार्ने साँचो–१, तरबार (सुनौलो मोलम्बा लाएका ताँबाकै कोथी कब्जा भएका मखमलको दाप भएका) चार थरी–४, मार्तौल टिकट काट्ने सुजनी मरहट्टी गरी फलामे माल–४, बन्दूक राख्ने बाकस–१, सुनौलो मोलम्बा लागेका ताँबाका कोथी, भएका हात्तीका दाँतका बींड र मखमलका दाप भएका खुकुरी–४, खुँडा–२, १०९ दाना भएको मुगाको माला–१, किनखाप थान–२० पत्रचिह्न समेत सुनौला तास थान–२, बनात वस्ता–१३, गैंडाको खाग–२, ३–३ हात लामा हात्तीदाँत–४, जाइफल दाना–१००८, ल्वाङ्ग धार्नी–६, दालचिनी धार्नी–१०।

यो सौगात वादशाहको मात्र भयो। बाटामा भोटे अधिकारीहरू, ल्हासाका चार काजी, राजा लामा, दलाई लामा, चीनका प्रतिनिधि बडा अम्बा र छोटा अम्बा तथा चीनका अधिकारीहरूलाई हातको शोभा कोसेली दिंदै जानुपर्थ्यो। फर्कंदा उनीहरूले यसरी नै करकोसेली दिन्थे। चीन–भोट गएर आउनेले पनि सीमानामा गुरुज्यूबाट वा उनको प्रतिनिधिबाट पतिया लिनुपर्थ्यो।

ब्रिटिश–भारतीय गोर्खा पल्टन जस्तै नेपालमा पनि अंग्रेजको वृत्ति खाने गोर्खाली रिजर्भ पल्टन राख्ने कुरा पहिलेदेखि ब्रिटिशले गर्दै आएको थियो। जंगबहादुरले त नेपालीलाई ब्रिटिश पल्टनमा भर्ना हुनै दिएका थिएनन्।

अहिले पनि महाराजले यहाँ त्यस्तो पल्टन राख्ने कुरालाई ठाडै इन्कार गरिदिए। महाराजले पहिला ब्रिटिश पल्टनमा जागीर खाएर यहाँको पल्टनमा आएका करीब ५०० जवानलाई तालिमका केही हतियार दिन चाहिं अंग्रेजसँग आग्रह गरेका छन्। तर, हतियार दिने कुरामा ब्रिटिशहरू बहुत कञ्जुस्याइँ गर्थे।

……………………………………………….

(सं. १९६३ वैशाख ११ गते)

रजिडेन्ट– सौगात के के, कति जाने गर्छ

श्री ३– जाईफल सुपारी यस्तै साधारण चिजहरू थोरै माल् जान्छ सुरुमा भने हात्ती घोडा पनि जाने गरेको रहेछ. पछि हाथी घोडा पठाउन पर्दैन भनि लेखी आयाकोले बन्द भयाको रहेछ. सो सौगात जानेमाल्को फिरीस्त चाहिंछ भने तपायीछेउ पठाइदिउंला

रजि– सौगात ली जाने मानिसलाई कति कति मिल्छ.

श्री ३– यहाँबाट हामी सेवाना नाघ्ने वित्तिकै चीनतर्फबाट गयाका सबैलाई खाना पीना घोडा खल्याहरू गैह्रको वेदाम्मा गरीदिन्छन्. माल् असबाब् बेपारका चीजहरूसमेतको केही उजुर हामीले दिनुपर्दैन. काजी १ खर्दार १ खर्दार सिपाहीहरू जांछन्. सबैलाई खर्च चिनबाट मिल्छ

रजि– यो मिसन् गयाको पोलीतीकल सिगनीफिक्यान्स ता केही छैन की

श्री ३– तेस्तो सिग्नीफिक्यान्स भयाको केही देखिदैन, चिन्ले नेपाललाई डिपेन्डान्सी हो भनी हक् साबित गर्न सक्ने छैन. मैले यांहा भयाको पुरानु कागजहरू हेरे. कौनै कागज यस्तो देखियन की जन् (जुन) बाट नेपाल डिपेन्डंसी हो भनें देखींछ. खाली यौटा टिबट्को टि्रटिमा मात्र नेपाल भोट दुवैले चीनलाई मानी आयाको भन्या लेखीयाको देखियो. चीन्ले नेपाललाई डिपेंडान्सी हो भनि कसरी भन्न सकेनन् भने अघी ब्रिटिशसंग लडायी हुँदा नेपालको के बचाउ गरेथे र मद्दत मागदा पनि मद्दत दिने दस्तुर छन् भन्या जवाव दियेथे भने डिपेडेन्सी भया तेस्तो भंनु पर्ने थियेन् अब जाने मिसन् जांदा तिनीहरूबाट गभरमेन्ट इंडीयाको केही काम हुन् सक्छ की

रजी– कस्तो काम भंनुभयो

श्री ३– गभरमेंट इंडीयालाई बाटाको कौने ठाउंको इन्फारमेशन चाहीं छ भने सो इन्फरमेशन ल्याउनु भनि अह्राई पठाया चाहीने इन्फरमेशन आउने छ

रजि– तपायीको मेहेरवानी हो. हुंछ म गभरमेन्टसंग सोधी पठाउला र तपायीलाई खवर द्यूला

श्री ३– चौथा गोर्खापल्टनको पतियाको बीसयेमा छलफललाई आज दरबार गरन आँटेको छु

रजि– हो. तेही कुरा एकपल्ट सोधु भने मतलव्ले तपायींकाहा आयाको

श्री ३– आज सबै गुरु प्रोहित भारादारहरूलाई सामेल हुनाको आडर भयाको छ रजि– यो कुरा कसरी तय बसला भनि ठांनु भयाको छ

श्री ३– मेरो चित्तले ता पतिया दिने मंजुर होला भंन्या उमेद गरेको छु.

रजि– गोर्खापल्टनले रीजरभिष्टको वीषयेको केही कुरा अस्ति तपायींले गर्नु भयोथ्यो. तेस्मा तलब नदीकन काम्लीनले हीसाबको कुरा गर्नु भयाको जस्तो लाग्यो.

श्री ३– तलब नदी सर्कारले काम लीने छैनन् तलब दी यहां रीजरभिष्ट राखनाले ठिक् पर्दैन. अघि यही कुराको तजवीजको कुरा उठेको थियो. तर दर्बारबाट मंजुर भयेन

रजि– मंजुर हुन नसक्ने कुराको कारण दरबारबाट लेखीयाको मुनासीव् कारण देखियन

श्री ३– तपायींको तलब खाई यांहा रहेपछि तालीम् पनि हुनुपर्छ भनुहुने छ. हुंदा हुंदा हामी आफै नेपालमा आई जांच गर्न आउंछु भन्या कुरा गर्नु जानेछ. त्यो कुरा हामीलाई पसंद छैन. मेरा मतलब के हो भने परी आयाको बखत सबै फौज बृटिश सर्कारको काममा दियाकै छ भने महीनावारी ३।४ रुपैया दी रीजर्भिष्ट राखनाको केही जरुरत् देख्दिन हाम्रो फौजमा रहे जति बृटिश पल्टनबाट आयाकाहरू चाहियामा पैल्है पठाई दींछु. ताहापछि पुरानु पल्टन ताहापछि नयां पल्टन जाला

रजि– गोर्खापल्टनमा नोकरी गरी आयाका यांहा भर्ना भयाका कति जवान होला श्री ३–कोही रेगुलर पल्टनमा कोही मीली (मिलिसिया) सिपाही भर्ति छन्. यांहाका पल्टनमा सबै ज्मा गरें करीब ५०० जवान जति होला तर पनि यत्तिकै हुंछ भनि भंन सकीदैन कैल्हे घट्दछ कैले बढ्दछ

रजि– यांहा रहेकालाई वर्षको यक पटक तालीम भयेन भने केही वर्षपछि विलकुल बेकम्मा हुंछन्

श्री ३– यांहा हाम्रो लीमेंट फोर्ड छैन. हेनरी मार्टिनीबाट तारो हान्छन. सो बंदुकमा तालीम पायापछि केही दीन मात्रै भया पनि लीमेंट फोर्ड खेलाउन पाया पछि यो बंदुक चलाउन पनि सिपालु भै हाल्छन.

रजि– यस्मा गोरमेन्टको के राय छ. मलाई थाहा छैन. मलाई केही लेखी आयाको छैन. तेसो हुनाले म गवरमेन्टलाई लेखी पठाई जस्तो राये दीनन् तपायींलाई खवर दीउंला

श्री ३– हुंछ. के राय छ बुझौं, तेसमा हुने भया हुंछ भनुंला नहुने भया हुंदैन भनि भनुला. हुदैन भने भन्या तेस वेला भन्या नराम्रो नमांनुहोला

 

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...