रमझमशनिबार, जेठ २२, २०७३
अजर आलाप
जिमन्यास्टिक खेलाडीका रुपमा अजर जंगमले पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता र चीनमा भएको १६औं एशियन गेम्स (एशियाड) मा पनि भाग लिए। तर, ६ वर्षअघिको एक बिहान उनले बुवालाई भने– अब खेल्दिनँ, गाउँछु।
बुवा वरिष्ठ संगीतकार दीपक जंगम छोराको निर्णयसँग बेखुश हुने प्रश्नै थिएन। संगीतको प्रारम्भिक ज्ञान अजरले बुवाबाटै लिइसकेका थिए। कक्षा ६ मा पढ्दा नै गीत गाउन थालेका उनी २०६० सालमै ‘नम्बर वान स्टार’ गायन प्रतियोगितामा प्रथम भएका थिए। त्यहीबेला ‘सपनाभरि तिमीलाई’ गीत रेकर्ड पनि गराए।
खेलकुद त्यागेपछि अजरले त्रिभुवन विश्वविद्यालयबाट संगीतमै स्नातकोत्तर गरे। शास्त्रीय संगीतबारे थप अध्ययन थाले। यसबीचमा केही गीत रेकर्ड गराए पनि तिनले खासै श्रोता पाएनन्।
“तर २०७१ साल मलाई फाप्यो”, उनी भन्छन्। यो वर्ष बुवा दीपककै संगीतमा उनले गाएको ‘जिन्दगीले हिसाब माग्छ’ गजलले चर्चा सँगै विभिन्न अवार्ड पनि दिलायो। १९औं हिट्स एफएम म्यूजिक अवार्डमा यही गीतबाट सर्वोत्कृष्ट पुरुष गायनको पुरस्कार जितेका अजर यतिबेला नयाँ अल्बमको तयारीमा छन्।
उनको नयाँ गीत ‘जोशमा यस्तै हुन्छ’ यसै साता सार्वजनिक हुँदैछ। “अबका गीत अघिल्ला भन्दा स्तरीय बनाउन लागिपरेको छु”, अजर भन्छन्।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
