अन्तर्वार्ता/विचारआइतबार, जेठ २३, २०७३
आमाबुबालाई आफ्नै घरमा राख्छुः फूटबलर राजु तामाङ
१८ जेठमा अखिल नेपाल फूटबल संघ (एन्फा) बाट सर्वोत्कृष्ट घोषित भइ रु.२५ लाख पुरस्कार पाएका राजु तामाङ (३३) भन्छन्, “बेलैमा आर्मी क्लबमा नआएको भए म बीचैमा हराइसकेको हुन्थे ।”
एन्फाबाट उत्कृष्ट खेलाडी घोषित हुँदा कस्तो लागेको छ ?
राष्ट्रिय टीमबाट १० वर्ष खेलें । नेपाल आर्मी क्लबबाट खेलिरहेको छु । फूटबलमा मैले पुर्याएको योगदानको सम्मान हुँदा निकै खुशी र उत्साहित छु ।
सम्मान र पुरस्कारले एउटा खेलाडीको जीवनमा के अर्थ राख्छ ?
मेरो घर छैन । आफ्नै घरमा आमाबुबा राख्ने ठूलो सपना थियो । अब पुरस्कारको पैसाले घर बनाउँछु । उमेरले दिएसम्म फूटबल खेल्छु, त्यसपछि आफ्नो सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्नेतिर लाग्छु ।
नेपाली फूटबलले अपेक्षाकृत गति लिन नसक्नुमा खेलाडीको भूमिकालाई कसरी लिनुहुन्छ ?
खेलाडीले मैदानमा राम्रो गर्ने सके मात्रै नतीजा आउँछ । प्रतियोगिताका बेला हरेक हिसाबले चुस्त रहनु खेलाडीको पहिलो कर्तव्य हो । तर उनीहरूको भूमिका बाहिरी पक्षबाट पनि प्रभावित हुन्छ । अत्याधुनिक फूटबलका लागि त्यही अनुसारको तालीम, प्रविधि आवश्यक पर्दछ ।
खेलाडीले विभागीय र अन्य क्लबबाट खेल्नुमा के फरक छ ?
विभागीय क्लबमा नभएको भए म यो स्थानमा आउन सक्ने थिइनँ जस्तो लाग्छ । मसँगैका धेरै साथीहरू अहिले फूटबलमा छैनन् । मैले निरन्तर अभ्यास, तालीम, खेलमैत्री वातावरण पाएको छु । तर, हामीले अरु क्लबबाट खेल्न भने पाउँदैनौं ।
फूटबल विकासका लागि सरकार र एन्फाले गरिहाल्नुपर्ने कुरा के हो ?
फूटबल विकासको मेरुदण्ड घरेलु लीग नियमित गर्नुपर्छ । मोफसलमा भइरहेका नकआउट प्रतियोगिताहरु जारी रहनुपर्छ । खेलाडीलाई ‘एक्स्पोजर’को खाँचो छ । खेलाडी प्रोत्साहनतर्फ थप लगानी गर्नुपर्छ ।