खेलकुदसोमबार, जेठ २४, २०७३

क्रिकेटका दीप

हिमालखबर

माइकल क्लार्कका साथ सन्दीप लामिछाने ।

माइकल क्लार्कका साथ सन्दीप लामिछाने ।

ट्वीटरमा आफ्नो फोटो पोष्ट गर्दै सन्दीप लामिछानेले लेखे, गेस् ! ह्वाट आई वाज थिंकिङ ? जवाफमा माइकल क्लार्कले लेखे– ह्वाउ एम आई गोइङ टु गेट दिस ब्याटर आउट. हा हा ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर लामिछानेसँग दुर्लभ संवाद गर्ने क्लार्क अष्ट्रेलियाका महान् क्रिकेटर र पूर्व कप्तान हुन् । उनैको कप्तानीमा सन् २०१५ मा अष्ट्रेलियाले विश्व क्रिकेटको उपाधि जितेको थियो ।

१६ वर्षका किशोर सन्दीपका लागि दुई साताअघि सम्पन्न हङकङ टी–ट्वेन्टी ब्लिट्ज प्रतियोगिताले यस्तो संयोग जुराएको थियो । प्रतियोगितामा काउलुन क्यान्टन्स् टीममा छानिएका सन्दीपका कप्तान उनै क्लार्क थिए । वर्षाका कारण एउटै मात्र खेल खेलेको क्यान्टन्स्का लागि लामिछानेले दुई विकेट खसाले ।

“क्लार्कले मेरो प्रशंसा गरे, हौसला बढाए र राम्रो खेलाडी बन्ने उपाय पनि दिए”, उत्साहित लामिछाने भन्छन् । चितवनमा कक्षा १० मा पढिरहेका उनी आफ्नो असाधारण प्रतिभाका कारण १५ वर्षकै उमेरमा राष्ट्रिय टीममा प्रवेश पाउन सफल भए ।

“क्लार्क जस्ता खेलाडीसँग खेल्न पाउँदा आफ्नो क्षमता र कमजोरी दुवै थाहा भयो”, पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक प्रतियोगिताको अनुभव बोकेर फर्किएका उनी भन्छन्, “क्रिकेट विकासमा घरेलु प्रतियोगिताको महत्व पनि बुझें ।”
-रविन गिरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...