टिप्पणीसोमबार, जेठ २४, २०७३
स्वर्णतिरको यात्रा
– डा. मुकेशकुमार साह
रजत वर्ष मनाइरहेको केयूले स्वर्ण महोत्सवलाई पनि यस्तै गौरवपूर्ण बनाउने हो भने आउँदा दशकहरूमा पनि प्रा.डा. सुरेशराज शर्माको शैली छाड्नुहुँदैन।
त्यसबेला धेरैले विश्वास नगरेको विषय थियो–काठमाडौं भ्याली क्याम्पस भोलि अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने काठमाडौं विश्वविद्यालय (केयू) को रूपमा खडा हुनेछ। तर धेरैको आकलनलाई गलत सावित गर्दै केयूले केही साताअघि आफ्नो २५ वर्षे यात्रा सम्झ्ँदै रजत महोत्सव मनायो।
विश्वविद्यालयले २०७३ लाई रजत वर्षको रूपमा मनाउँदैछ। केयूलाई आज यो उँचाइमा पुर्याउने प्रा. डा. सुरेशराज शर्माले गरेको प्रयासको जति प्रशंसा गरे पनि शायद कमै होला। शर्मा तिनै शिक्षाविद् हुन्, जसले उपकुलपतिको रूपमा केयूलाई २१ वर्ष एकछत्र नेतृत्व दिएर प्रगतिपथतिर डोर्याए।
आम नेपालीले शिक्षा पाउने पद्धति शुरू भएको इतिहास लामो छैन। पूर्वी नेपालको दिङ्लामा वि.सं १९३२ मा ‘बालगुरु’ षडानन्द अधिकारीले खोलेको संस्कृत विद्यालय र त्यसकोे केही वर्षपछि राणा शासकहरूले काठमाडौंमा स्थापना गरेको तीनधारा संस्कृत पाठशाला नै आम जनताका लागि पहिलो शिक्षालय थिए।
राणाकालमा आम नेपालीले शिक्षा पाउनु कठिन थियो। तिनताका ब्राह्मण, पहुँचवाला र धनी परिवारका छोराहरू संस्कृत पढ्न भारतका पाठशालाहरूमा जान्थे। शिक्षा क्षेत्रमा दशकौं योगदान गर्नुभएका मेरो पिताश्री सूर्यदेव साहका अनुसार हाम्रो देशमा २०२५ सालसम्म पनि विद्यालयस्तरको शैक्षिक विकास हुनसकेको थिएन।
जिल्लाहरूमा सीमित विद्यालय त खुलेका थिए, तर तिनमा शिक्षकको ठूलो अभाव थियो। २०४६ सालको राजनीतिक परिवर्तनपछि भने नेपालको शैक्षिक विकासले फड्को मार्यो। त्यसअघि मुश्किलले ४० प्रतिशत जनता साक्षर थिए, उच्च शिक्षा प्राप्तहरूको संख्या उल्लेख्य थिएन। त्यही परिवेशमा २०४८ सालमा स्थापना भएको केयूलाई नेपाली उच्च शैक्षिक विकासको आधारशिला मान्न सकिन्छ।
केयू स्थापनापछि निजी क्षेत्रबाट कलेजहरू खुले। कलेज स्थापना र विभिन्न संकायको शैक्षिक कार्यक्रम विकासमा यस विश्वविद्यालयको ठूलो योगदान रह्यो। दुई दशक लामो यात्रामा केयूले नेपालमै अन्तर्राष्ट्रियस्तरका शैक्षिक रत्नहरू उत्पादन गर्यो। विकसित मुलुकहरूमा झैं शतप्रतिशत राम्रो शैक्षिक स्थितिमा नेपाल नपुगे पनि केयूले त्यो बाटो बनाउने काम गरेको छ।
प्रगतिपथमा विश्वविद्यालय
प्रा.डा. शर्मा लगायतका केही शिक्षाविद्ले नेपालको उच्च शिक्षालाई फरक ढंगले अगाडि लैजाने उद्देश्यले सन् १९८५ मा त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर भ्याली क्याम्पस स्थापना गरेका थिए। त्यसको ६ वर्षपछि सन् १९९१ मा संसद्बाट अनुमोदन भएपछि केयू आफैं अगाडि बढ्ने मौका पायो। त्यसै वर्ष तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा बसेको पहिलो सिनेट बैठकले प्रा.डा. शर्मालाई उपकुलपतिको जिम्मेवारी दिएको थियो। त्यसपछिको २१ वर्षमा शर्माले केयूलाई अगाडि र झ्न् अगाडि बढाइरहे।
सन् १९९२ मा काठमाडौंको टंगालमा विज्ञान संकाय स्थापना गरेर अध्यापन शुरू गरेको केयूले सन् १९९३ मा व्यवस्थापन र सन् १९९४ मा इन्जिनियरिङ संकाय खोल्यो भने त्यही वर्ष पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजलाई सम्बन्धन दिएर चिकित्साशास्त्र संकायको समेत स्थापना गर्यो।
उपकुलपति शर्माले विश्वविद्यालयलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय सम्बन्ध पनि अगाडि बढाए। उनकै अथक् प्रयासमा सन् १९९६ मा केयू भारतको विश्वविद्यालय एसोसिएसनमा एसोसिएट सदस्य बन्यो। त्योसँगै अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सम्बन्धन र संकाय थपिनेक्रम जारी रह्यो।
अहिले केयूको विज्ञान, व्यवस्थापन, इन्जिनियरिङ, चिकित्साशास्त्र, शिक्षा, कला र कानून संकायमा नेपाली तथा विदशी विद्यार्थीले स्तरीय शिक्षा तथा उपाधि हासिल गरिरहेका छन्। निजी लगानीको भए पनि नाफारहित विश्वविद्यालयको रूपमा कहलिएको केयूको केन्द्रीय, आंगिक र सम्बन्धनप्राप्त कलेजहरूमा गरी करीब १० हजार विद्यार्थी अध्ययनरत छन्।
२०४७ सालपछि नेपालको शिक्षा प्रणालीमा निकै सुधार भएको छ। जनचेतना विस्तार, शिक्षामा निजी लगानी, विद्यालय तथा विश्वविद्यालय स्थापना र शिक्षाविद्हरूको समर्पणबाट यो उपलब्धि हासिल भएको हो। मौसम परिवर्तन भए झैं गरी सरकार फेरिएर देशको शिक्षा नीति छरपस्ट हुँदा पनि ज्ञान, विवेक, देशप्रति समर्पणभाव भएका शिक्षाविद्हरूको मिहिनेतले आज हामी शिक्षा क्षेत्रमा तुलनात्मक रूपमा अगाडि छौं।
केयूलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय सहयोग प्राप्त छ। राजनीतिक स्थिरता र ठोस नीति नभएको देशको पुरानो विश्वविद्यालय त्रिविको दाँजोमा केयू निकै स्तरीय छ। केयूको शैक्षिक तालिका पनि ठीक रूपमा अगाडि बढिरहेको छ। यसलाई प्रा.डा. शर्माको मिहिनेतको परिणाम भन्दा अतिशयोक्ति हुँदैन। हाम्रो देशको शैक्षिक केन्द्रहरूमा शर्मा जस्ता जुझारुको ठूलो खाँचो छ।
काठमाडौं विश्वविद्यालयको केन्द्रीय वा आंगिक मात्र नभई सम्बन्धनप्राप्त कलेजहरू पनि धेरै विस्तार भइसकेका छन्। खासगरी चिकित्साशास्त्र अन्तर्गतका सम्बन्धनप्राप्त कलेजमा पैसावालाहरूको बोलवाला छ। त्यहाँ पैसा विनाका प्रतिभाशाली विद्यार्थी अनुत्तीर्ण हुने गरेको चर्चा अब नयाँ रहेन। यसबाट नेपालको चिकित्सा क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादनको आशा राख्न सकिन्न। यस किसिमको कमजोरी प्रा.डा. सुरेशराज शर्माको श्रम र उद्देश्यको विल्कुलै विपरीत छ।
केयूका उपकुलपतिहरूले आगामी दशकहरूमा पनि शर्माले जस्तै मिहिनेत गर्नै पर्छ। प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाएको केयूले शर्माकालीन साख जोगाउन पनि आफ्ना कमजोरीलाई शून्यमा झार्ने मिहिनेत गर्नै पर्छ।
(डा. साह कम्स नेपालका निवर्तमान अध्यक्ष र पू.वि. शिक्षण अस्पतालका चिकित्सक हुन्।)
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
