समाचारसोमबार, जेठ २४, २०७३
सशक्तीकरणका गफ चुट्नु भन्दा आत्मनिर्भर बन्नुहोसः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई स्वदेशमै आत्मनिर्भर र पौरखी बन्न सुझाव दिएका छन् ।
२४ जेठमा घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको महिला उद्यमी सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशमै धेरै रोजगारीको सिर्जना गर्न सरकारले सहयोग गर्ने भन्दै ‘वेरोजगार भइयो, अब विदेश जान्छु’ नभन्न युवाहरुलाई आग्रह गरे ।
उनले भने “स्वदेशमा रोजगारी पाइन, रोजगारीका लागि बिदेसिनुको विकल्प रहेन भन्दै सडकमा बसेर गीत गाउनुभन्दा स्वदेशमै आत्मनिर्भर हुन र पौरखी बन्न म विदेशिन खोज्ने युवालाई आग्रह गर्दछु ।”
सरकारको नीति तथा कार्यक्रम एवम् बजेट स्वदेशमा रोजगारी सिर्जना गर्न नै केन्द्रित रहेको, यसका लागि घरेलु तथा साना उद्योग, कृषि, पर्यटनमा आधारित उद्यमशीलता गर्न युवा वर्गलाई आकर्षित गर्न जोड दिइएको उनले बताए ।
प्रधानमन्त्री ओलीले केही वर्षअघिसम्म मुलुक लत्ताकपडा, खाद्यान्नमा आत्मनिर्भर रहेको तर विस्तारै परनिर्भरता बढ्दै गएको चर्चा गर्दै भने, “अहिले स्वदेशमा टाँक, सियो, धागोसमेत बन्दैन, परनिर्भता बढ्दै गइरहेको छ, यस्तो अवस्थालाई अन्त्य गर्न घरेलु तथा साना उद्योगबाट मात्र सम्भव छ ।”
“महिला सशक्तीकरणका गफ चुट्नुभन्दा कसरी आत्मनिर्भर बन्न सकिन्छ यसतर्फ लाग्नु पर्छ।” उनले भने।
दुईदिने सम्मेलनमा देशभरका घरेलु तथा साना उद्योगीको सहभागिता छ ।
महासङ्घका अध्यक्ष सुरेश प्रधानले पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका घरेलु तथा साना उद्योग पुनःस्थापनामा ध्यान नदिएको, औद्योगिक नीति पारित भएको छ वर्ष बितिसक्दा पनि लागू हुन नसकेको र आव २०७३/७४ को बजेट घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्न ठोस कार्यक्रम नआएको गुनासो गरेका थिए । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
