समाचारसोमबार, जेठ २४, २०७३

दाल–चामल पठाउन सक्नुहुन्न ?

हिमालखबर

Sunita Sadaa
जिल्ला महोत्तरीको जलेश्वर नगरपालिका । रातु नदी किनारमा ५८ परिवार मुसहर समुदायको खर र टायलले छाएका ससाना घरहरुको वस्ती । बीचमा ब्लकबाट बनेको कुल्यान पुजा गर्ने मन्दिर । मन्दिरसँगै आँगन जोडिएको खरले छाएको एउटा झुप्रो पनि छ । सुनिदा सदाको परिवारलाई घामपानीबाट जोगाउने न्यानो छानो हो, यो ।

टायलले छाएका दुईवटा घरको बीचमा रहेको यो झुप्रोमा सुनिता बसेको १३ वर्ष भईसकेको छ । १२ वर्षकी छँदा बिबाह भएर महोत्तरीको बेलचौरीबाट आएकी उनले यही घरमा तीन छोरा र दुई छोरीलाई जन्म दिईन् । धन नभएपनि मनले ज्यादै माया गर्ने श्रीमान पाएकीमा उनी खुशी छिन् ।

परिवारको गुजारा दाउरा बेचेर चलेको छ । दाउरा खोज्न भने निकै टाढा जानुपर्छ । दाउरा बेच्न पनि सजिलो छैन । आन्दोलनअघि रु.३०० सम्ममा जाने एक भारी दाउरा अहिले रु.१०० मा बेच्नु परेको सुनिताले बताईन् । दाउरा नबिक्दा वा सस्तोमा बिक्री हुँदा भोकै सुत्नुपर्छ । उनीहरु धेरै पटक भोकै सुतेका पनि छन् । त्यस्तो बेला पेट खाली भएर छोराछोरीले निदाउनै नदिने सुनिता बताउँछिन् । “दाउरा बिक्न छाडेपछि श्रीमान् ट्याक्टरमा ढुँगा लोड गर्न जान थालेका छन्”,  सुनिता भन्छिन्, “तर, त्यो काम सधैं हुँदैन ।”

हास्यकलाकार जोडी धुर्मस र सुन्तलीले ब्ल्यांकेट बाँडेकोले गएको हिउँदको जाडोमा भने केहि जस्तो नभएको उनले सुनाईन । उनकी जेठी छोरी अम्मिता कक्षा एकमा पढ्छिन् । १७ जेठमा स्कूलको शट लगाएर भाई भोज खान हिडिदिएकोले अस्मीता आउट ड्रेसमा स्कूल गइन् । त्यो दिन वस्तीका पहिलो एसएलसी मञ्जय सदाको आमाले भाकल अनुसार माईस्थान मन्दिरमा भोज गरेकी थिईन् ।

सुनिताकी छोरी अस्मिता सदा साथीहरुसँग ।

सुनिताकी छोरी अस्मिता सदा साथीहरुसँग ।

छोराछोरीको हेरचाह, घरधन्दा र दाउराको चिन्तामा सुनिदाले दिन बितेको पत्तै पाउँदिनन् । उनलाई कक्षा एकमा पढ्ने सानी छोरीको उमेरसम्म याद छैन । उनले १९० किलोमिटर टाढाको काठमाडौंबारे धेरैपटक सुनेकी छन् । तर उनी पुगेको सबभन्दा ठूलो सहर चाँहि जनकपुर हो । बुबाआमा दुबैको मृत्यु भईसकेकाले उनी माईत जान पनि छाडी छन् । त्यसको अर्थ, उनले बालापन र बेलचौरी बिर्सिन् भन्ने चाही होईन । उनीसंग हातमा किताबकापी बोकेर साथीहरूसँग विद्यालय गएको अनुभव छैन, मैलाधैला रमाउदै भाँडाकुटी खेलेको सम्झँदा दौडिएर बेलौरी पुगुँजस्तो लाग्छ ।

घर नजिकै जनता उमाविमा पढीरहेकी छोरीहरुलाई ठूलो मान्छे बनाउने धोको पालेकी सुनिताको बुझाईमा पुग्दो दालभात खान पुग्ने र लुगा–चप्पल लगाएर हिंड्नसक्ने मान्छे ठूलो मान्छे हो । उमेर जम्मा २५ वर्ष पुगेकी सुनिताले सानैमा विवाह गरेकाले ज्यान कमजोर भएको बताईन । हामीसँग स्थानीय पत्रकार राजकरण महतो पनि थिए । विवाह सम्बन्धि एक प्रश्नमा सुनिताले भनिन्, “लडकरिय मे विआह करनाइ ठीक नै अछि ।”

छोरीहरुको बिबाह २० वर्षपछि मात्र गरिदिने उनले बताईन् । हो, नेपालको कानुनले पनि विवाह गर्ने न्यूनत्तम उमेर २० वर्ष तोकेको छ, तर थाहै नपाई बिबाह भएका सुनिताहरुको संख्या पनि ठूलो छ । राष्ट्रिय जनगणना २०६८ अनुसार महोत्तरीमा आधाभन्दा बढी विवाह उमेर नपुग्दै हुने गरेको छ । जिल्लाका विवाहित ३ लाख १२ हजार ५०८ मध्ये २ लाख ९ हजार ६४१ नना १९ वर्ष नपुग्दै बिबाह बन्धनमा बाधिएको तथ्याँकले देखाउँछ । त्यसमध्ये १७८२ जनाको विवाह त १० वर्ष नपुग्दै भएको देखिन्छ । ३९ हजार ५२० जनाको विवाह १०–१४ वर्षमा भएको रहेछ ।

सुनिता सदा ।

सुनिता सदा ।

सुनिताले रोजरोटीका कुरामा बढी चासो राखेर कुरा गरिन् । उनले आफु र श्रीमान दुवैजना अलि भरपर्दो कामको खोजीमा रहेको बताईन्, जसबाट साँझ विहान खाएर छोराछोरीलाई पढाउन पनि सकियोस् । हामीले कुराकानी सकेर धन्यवाद भनेपछि सुनिताले भनिन्, “केहि चामल र दाल पठाईदिने व्यवस्था मिलाउन सक्नुहुन्न ?”

उनको यो निर्दोष र सहज–स्वभाविक प्रश्नले हामीलाई ज्यादै अप्ठ्यारोमा पा¥यो । हामी आश्वासनसम्म पनि दिन नसकी फर्कियौं ।

शब्दः सन्त गाहा मगर, तस्वीरः विक्रम राई

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>