थप समाचारसोमबार, जेठ २४, २०७३
गाडी बढे, सडक बढेन र दुर्घटना बढ्यो
नेपालमा महामारीबाट हुने मृत्यु भन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या धेरै रहेको ट्राफिक प्रहरी उपरीक्षक ईश्वरीप्रसाद चापागाइँले जानकारी दिएका छन् ।
बारामा आयोजित ‘सडक सुरक्षा चेतना’ कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक चापागाइँले सडकको अवस्था उस्तै रहेको तर, राजमार्ग वरपर वाक्लो वस्ती बढेको र सवारी साधनको संख्या पनि ह्वात्तै बढेको कारण दुर्घटना बढेको बताए ।
उनले भने, “अरु पूर्वाधार उस्तै हुँदा सवारी साधनको संख्या बढिरहेका छन, यस्तो अवस्थामा सवारी साधन चलाउँदा सचेत हुनैपर्छ ।”
गाडीको बढ्दो संख्याका साथै सडक छेउमै वस्ती विकास भएको र चालकले लापरवाही गर्दा दुर्घटना बढेको उनको भनाई थियो ।
मृत्यु जस्तो दुखद घटना एकातिर, अर्कोतिर दुर्घटनामा घाइते र अपाङ्ग हुनेले जीवनभर भोग्ने कष्ट त्यत्तिकै दुखद रहेको उनले बताए ।
उनका अनुसार चालू आवमा मात्रै बागमतीमा १५ लाख, नारायणीमा ५ लाख, जनकपुरमा ७० हजार नयाँ सवारी साधन दर्ता भएका छन् ।
दर्ता भएको सवारी संख्या अनुसार नेपालमा कम्तीमा सबै सडक चार लेनका हुनुपर्नेमा दुई लेनका मात्रै भएकाले राजमार्गमा दुर्घटना बढेको उनले जानकारी दिए ।
श्याम गुप्ता, बारा