रमझमसोमबार, जेठ २४, २०७३
फत्तेमानको सम्झना मा पुस्तक
गायक फत्तेमान राजभण्डारीको सम्झना मा वासु शशी स्मृति परिषद्ले ‘सम्झनामा फत्तेमान’ नामक स्मृति ग्रन्थ प्रकाशन गरेको छ ।
२३ जेठमा प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे, गीतकार तथा चलचित्रकर्मी यादव खरेल लगायतले पुस्तकको संयुक्त विमोचन गरे ।
फत्तेमानबारे जान्न खोज्ने र उनका प्रशंसकका लागि उपयोगी हुने गरी ग्रन्थ तयार पारिएको पुस्तकका सम्पादक एवं वासु शशी स्मृति परिषद्का सचिव प्रद्युम्न जोशीले बताए ।
“नेपाली संगीत क्षेत्रका लागि पनि यो एउटा दस्तावेज बन्न सक्छ”, उनले भने ।
साहित्यकार सरुभक्तले दिवंगत स्रष्टालाई सम्झ्नि उनीबारे पुस्तक निकाल्नु राम्रो हुने बताए । “आधा शताब्दीसम्म स्रोताका भावनालाई आफ्नो आवाजमार्फत् गुञ्जाएका फत्तेमान आफ्ना कृतीसँगै यो पुस्तकमार्फत पनि अमर रहनेछन्”, उनले थपे ।
पुस्तकमा विभिन्न साहित्यकार, संगीतकर्मी, पत्रकार लगायतले लेखेका लेख, अन्तरवार्ता, संस्मरण आदि समावेश गरिएका छन् ।
‘मर्न बरु गाह्रो हुन्न’, ‘यस्तो पनि हुँदो रैछ’, ‘सान्नानीको गालैमा’, ‘बनै खायो डढेलोले’ गरी ४ सय भन्दा बढी गीत गाएका फत्तेमानको विसं २०७०, भदौ २४ मा ७७ वर्षको उमेरमा निधन भएको थियो ।