रिपोर्टमंगलबार, जेठ २५, २०७३
भूकम्पका घाइते: विदेशीको उपचारले संक्रमण
कतिपय अदक्ष विदेशी स्वास्थ्यकर्मीको उपचारका कारण थुप्रै भूकम्पपीडितका घाउमा संक्रमण देखिएको छ।
१२ वैशाखको महाभूकम्पले सामारी गाविस, नुवाकोटकी दानजोङ तामाङ (५०) घरभित्रै च्यापिइन्। दायाँ तिघ्रामा पहिलेदेखि नै समस्या बेहोरिरहेकी उनको त्यही खुट्टा नै भाँच्चियो। उनलाई त्यही दिन त्रिशूली अस्पताल पुर्याइयो। भोलिपल्ट आपत्कालीन उद्धारका लागि अस्पताल आइपुगेका भूटानी स्वास्थ्यकर्मीको टोलीले भाँचिएको खुट्टामा शल्यक्रिया गरी स्टीलको प्लेट राखिदियो। नौ दिनपछि उनी घर फर्किइन्।
तर, घाउ निको हुनुको साटो झ्नै दुख्न थाल्यो। बुहारी विपना तामाङ भूकम्पका बेला विदेशी स्वास्थ्यकर्मीले जथाभावी उपचार गरिदिएका कारण सासूको खुट्टो अझै निको नभएको बताउँछिन्।
सल्यानटार–८, धादिङका पहल श्रेष्ठ (४६) सधैं झैं घरको आँगनमा बसिरहेका थिए। अचानकको भूकम्पमा छिमेकीको घरको गारो भत्कियो। श्रेष्ठको बायाँ हातमा गम्भीर चोट लाग्यो। धादिङमा उपचार सम्भव नभएपछि भोलिपल्ट १३ वैशाखमा चितवन मेडिकल कलेजमा भर्ना भए। चिकित्सकले १७ वैशाखमा शल्यक्रिया गरी हातको जोर्नीमा प्लेट राखिदिए।
फलो–अपका क्रममा ३० वैशाखमा जिल्लामै इजरायली स्वास्थ्यकर्मी सञ्चालित शिविरमा पुगेका उनी त्यहींबाट संक्रमण लिएर फर्किए। हात झ्नै दुख्न थाल्यो। “इजरायलीको क्याम्पबाट फर्केपछि निको हुँदै गएको घाउ बल्झियो”, उनी भन्छन्। संक्रमणको उपचारपछि अहिले उनको घाउ निको हुँदै गएको छ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अनुसार, भूकम्पका कारण करीब पाँच हजार व्यक्ति अपाङ्ग भएका छन्, जसमध्ये अधिकांशले हात र खुट्टा गुमाएका छन्। “उद्धारलगत्तैको उपचारका क्रममा हात, खुट्टा गुमाएका बाहेक गलत उपचारपछिको संक्रमणबाट अपाङ्ग हुनेहरू पनि छन्”, वीर अस्पतालका नाक, कान, घाँटी रोग विभाग प्रमुख प्रा.डा. ढुण्डिराज पौडेल भन्छन्।
हाइटीकै हालत
भूकम्पको एक वर्षपछि पनि निको नभएको दायाँ खुट्टाको घाउ लिएर नुवाकोटकै मानबहादुर घले (६९) ६ जेठमा काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पुगे। त्यसपछि मात्र थाहा भयो, उनको घाउमा त संक्रमण फैलिइसकेको रहेछ।
छिमेकीको घर भत्किएर घाइते उनको १३ वैशाखमा चितवनस्थित भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको थियो। र, खुट्टामा स्टील राखेर सात दिनपछि डिस्चार्ज गरियो। काठमाडौंमा त्यतिबेला उपचार व्यवस्था भद्रगोल भएको भन्दै प्रहरीले उनलाई चितवन पठाइदिएको थियो। पछि घाउ निको नभएकाले जँचाउन उनी त्रिशूली अस्पताल पुगे, जहाँ भूटानी स्वास्थ्यकर्मी उपचार गरिरहेका थिए। “भूटानी चिकित्सकले निको नहुने गरी उपचार गरेछन्”, उनी भन्छन्।
साँखुमा घलेको उपचारमा संलग्न अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. लक्ष्मण रिजाल भूकम्पमा परी घाइते भएका हाडजोर्नीका बिरामी संक्रमणको उच्च जोखिममा रहेको बताउँछन्। “भूकम्पपछिको उपचारमा हाइटीमा पनि संक्रमणकै समस्या देखिएको थियो, अहिले नेपालको हालत पनि उस्तै छ”, उनी भन्छन्।
डक्टर्स विद्आउट बोर्डस्को प्रतिवेदन अनुसार, सन् २०१० मा हाइटीमा गएको भूकम्पका घाइतेमा पनि संक्रमणको समस्या उच्च थियो। दक्ष जनशक्ति र पूर्वाधारको अभावमा धेरै जना घाइतेले सही उपचार नपाउँदा बिरामी लामो समय पीडा सहन बाध्य भएको प्रतिवेदनमा उल्लेख छ।
डा. रिजालका अनुसार विपत्मा उद्धारका बेला गाउँगाउँमा उपचारमा सक्रिय कतिपय अदक्ष विदेशी स्वास्थ्यकर्मीको उपचारका कारण पनि बिरामीले यस्तो दुर्दशा भोग्नुपरेको हो। “विदेशी चिकित्सक परिचालनमा सरकारी निकायको असफलताले घाइतेले थप कष्ट बेहोर्नु परेको भन्न कुनै गाह्रो छैन”, उनी भन्छन्।
उपचारमै जथाभावी
भूकम्पका बेला आएका विदेशी स्वास्थ्यकर्मीको योग्यता र दक्षताबारे सरकार समेत जानकार थिएन। नियामक निकाय नेपाल मेडिकल काउन्सिलले पनि विपत् भन्दै यस्ता स्वास्थ्यकर्मीको आधिकारिकता जाँच्न आवश्यक ठानेन। काउन्सिलका पूर्व प्रवक्ता डा. कृष्ण अधिकारी विपत् भएकैले त्यस्ता स्वास्थ्यकर्मी र टोलीको विवरण जाँच्न नपाएको बताउँछन्। स्वास्थ्य मन्त्रालयका स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका तत्कालीन संयोजक डा. गुणराज लोहनी उपचारमा खटिने विदेशीको लाइसेन्स भए/नभएको बारे जाँच हुन नसकेको स्वीकार्छन्।
सुष्मा कोइराला मेमोरियल अस्पतालका निर्देशक जसवन शाक्य भूकम्पको दुई महीनापछि धादिङ जिल्ला अस्पताल पुग्दा इजरायल र भारतलगायतका मुलुकबाट आएका डाक्टरले आफूखुशी बिरामी जाँचिरहेको देखेको बताउँछन्। “बिरामीको प्रक्रिया नपुर्याई एकै दिन ५० जनासम्मको जथाभावी शल्यक्रिया गरेको पनि देखियो”, उनी भन्छन्, “अहिले तिनैमध्ये अधिकांश बिरामीमा संक्रमण देखिएको छ।”
ह्यान्डी क्याप इन्टरनेसनल नेपालका चोट पुनर्वास अधिकृत डा. सुनिल पोखरेल विदेशबाट आएका स्वास्थ्य टोलीले गरेका उपचारबारे सरकारले वास्ता नगर्दा थप उपचारमा समस्या परिरहेको बताउँछन्। फिजियोथेरापीको दक्ष जनशक्ति र उपकरणको अभावमा विशेषज्ञ उपचार पाउन नसक्दा बिरामीको पुनःस्थापनामै समस्या परिरहेको उनको अनुभव छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भूकम्पका बेला उद्धार र राहतका लागि भन्दै ४१ मुलुकबाट १३७ स्वास्थ्य टोलीमार्फत दुई हजार ७१७ जना विदेशी नेपाल आएका थिए। (हे.टेबल) तीमध्ये ९६ गैरसरकारी संस्थाका ४१ सरकारी स्वास्थ्य टोली थिए। २८ असार २०७२ सम्ममा स्वास्थ्य मन्त्रालयलाई बुझाएको बिरामी जाँच प्रतिवेदनका अनुसार यी विदेशी स्वास्थ्यकर्मीले एक लाख पाँचहजार ७५२ बिरामीको उपचार गरेका थिए। तीमध्ये भूकम्प प्रभावित १२ जिल्लामा १३७ विदेशी स्वास्थ्य टोलीले २० हजार ८७२ जनाको उपचार गरेका थिए।
मेडिकल काउन्सिलका पूर्व सदस्य डा. सुशील कोइराला भूकम्पपछिको स्वास्थ्य उपचार र औषधि वितरण प्रक्रिया छाडा छाडिएका कारण विकृति मौलाएको बताउँछन्। “उद्धारका लागि आएका भए पनि विदेशी स्वास्थ्यकर्मीलाई विना निगरानी उपचार गर्न दिनु गल्ती थियो।”
‘विदेशी स्वास्थ्यकर्मी नै कारण’
डा. लक्ष्मण रिजाल
हाडजोर्नी रोग विशेषज्ञ
सुष्मा कोइराला मेमोरियल अस्पताल
भूकम्पका घाइतेमा संक्रमण दर बढ्नुको कारण दक्ष स्वास्थ्यकर्मीको उपचार नपाउनु नै हो। भूकम्प अति प्रभावित अधिकांश जिल्ला अस्पतालको संरचना कमजोर छ। जनशक्तिको पनि कमी छ। त्यही ठाउँमा विदेशीले उपचार गरे।
उनीहरूको दक्षता र क्षमताको जाँच भएन। सामान्यतः दैनिक अधिकतम १० जना बिरामीको शल्यक्रिया गर्न सक्ने पूर्वाधारले धेरैको शल्यक्रिया गरेको पाइयो। शल्यक्रिया गर्दाका न्यूनतम प्रक्रिया समेत याद गरिएन।
शल्यक्रिया गर्नु अघि चोटको पहिचान गर्नुपर्छ। माटोले पुरेर भएको घाउलाई राम्ररी सफा नगरी तुरुन्तै रड वा प्लेट राख्दा संक्रमण फैलिने सम्भावना हुन्छ। पहिला संक्रमण नियन्त्रण र त्यसपछि मात्र शल्यक्रिया गर्नुपर्ने हुन्छ। त्यही नभएकाले अहिले संक्रमणको समस्या देखिएको हो।