थप समाचारमंगलबार, जेठ २५, २०७३
बस दुर्घटनामा १७ घाइते, चारको अवस्था गम्भीर
तनहुँको डुम्रेबाट पुर्कोट लौडारीभञ्ज्याङतर्फ जाँदै गरेको ध १ ख ५४६ नंको यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
भानु नगरपालिका–३ स्थित बाह्रबिसेमा भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते हुनेमा जिल्लाको पुर्कोट–३ बस्ने ३३ वर्षीय विक्रम पाण्डे, भानु नगरपालिका–३ निवासी ३७ वर्षीया सरस्वती श्रेष्ठ, सोही वडा निवासी १२ वर्षीया मनिता श्रेष्ठ र पुर्कोट–३ बस्ने ३६ वर्षीया पवित्रा घिमिरेलाई सामान्य उपचारपश्चात् पोखरास्थित मणिपाल अस्पतालमा पठाइएको प्रहरी निरीक्षक गजेन्द्रकुमार चौधरीले जानकारी दिए ।
दुर्घटनामा अन्य १३ जना घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब १२ मिटर तल खस्दा सो दुर्घटना भएको इलाका प्रहरीले जनाएको छ । बसका चालक भने फरार भएका छन् ।
रासस