समाचारबुधबार, जेठ २६, २०७३
प्रधानमन्त्री झूठो आश्वासन बाँडदैछन्: सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटोमा लैजानुपर्नेमा प्रधानमन्त्री केपी ओलीले झूठो सपना बाँड्दै हिँडेको आरोप लगाएका छन् ।
“संविधान कार्यान्वयन गरेर स्थानीय, प्रान्तीय र केन्द्रीय निकायको निर्वाचन गर्नु छ, प्रधानमन्त्री भने सर्वे नै नगरी रेल कुदाउँछु, घरघरमा तेल र ग्यास ल्याउँछु भन्छन्, यो झूठो आरोपले देश चल्दैन, ” देउवाले भने ।
सङ्खुवासभाबाट कांग्रेस सांसद दिपक खड्काले सगरमाथा आरोहीलाई राखेको सम्मान कार्यक्रममा बोल्दै उनले झूठा आश्वासन बाँडदैमा देश र जनताका समस्या समाधान नहुने बताए ।
सरकारले जनताबाट उठेको कर र विदेशबाट आएको पैसा भूकम्पपीडितको नाममा गैरसरकारी क्षेत्रमार्फत बाँडेर दुरुपयोग गर्न खोजेको आरोप लगाउँदै उनले त्यसविरुद्ध आफ्नो पार्टी जस्तोसुकै कदम चाल्न तयार रहेको पनि स्पष्ट पारे ।
उक्त अवसरमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारका काम कारवाही बारे पार्टी केन्द्रीय समितिको बैठक बसेर समीक्षा गर्नु आवश्यक रहेकोमा जोड दिएका थिए ।
तीन आरोहीलाई सम्मान
कार्यक्रममा सङ्खुवासभा जिल्ला मकालु गाविसका एकै परिवारका तीन सगरमाथा आरोही सम्मानित गरिए ।
कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलले लाक्पा शेर्पा, मिङ्मा गेलु शेर्पा र मिङ्मा किपा शेर्पा सम्मान गरे । कीर्तिमानी आरोही लाक्पा शेर्पाले सातपटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
