समाचारबुधबार, जेठ २६, २०७३

नारायणगढ–मुग्लिन सडकखण्डमा आवागमन नरोकिने

हिमालखबर

दैनिक चार घन्टा आवागमन रोकेर सडक विस्तार भइरहेको नारायणगढ–मुग्लिन सडकखण्डमा अब सवारी साधनको आवागमन नरोकिने भएको छ ।

गत २८ माघदेखि दैनिक मध्याह्न ११ बजेदेखि दिउँसो ३ बजेसम्म आवागमन बन्द गरेर सडक विस्तारको कार्य गरिँदै आएकोमा अब १ असारदेखि सवारी साधनको आवागमन नरोकिने भएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार वर्षात्को समयमा काम गर्न कठिन हुने हुँदा १ असारदेखि गाडी बन्द नगरिने भएको हो । असारसँगै बढी पानी पर्ने हुँदा हाल विस्तार भएका ठाउँमा भित्तो फोर्न कठिन हुने भएकोले अन्य पत्थर फोड्ने काममात्रै हुने र त्यसका लागि एकतर्फी सवारी आवागमन गराएर काम गराइने उनले बताए ।

असारदेखि कात्तिक अन्तिमसम्म (वर्षा र चाडपर्वका बेला) कम काम गर्न लागिएको उनले जानकारी दिए ।

नारायणगढदेखि १७ किलोमिटर परको गाईघाट, २२ किलोमिटर परको घुमाउने २७ किलोमिटर परको जलवीरे र ३३ किलोमिटर परको कालिखोला सडकखण्ड पहिरोको उच्च जोखिममा रहेको बताउँदै उनले ती स्थानमा सुक्खा पहिरो समेत जानसक्ने भएकाले सावधान रहन सवारी चालकलाई आग्रह गरे । आजकल पनि यी ठाउँमा दैनिक जसो सानो ठूलो पहिरो खसिरहँदा यात्रुले सास्ती व्यहोर्नु परेको छ ।

कामका लागि बाटो बन्द नभए पनि पहिरो गएमा बन्द हुने खतरा भने कायमै छ । तर उपकरण ठाउँठाउँमा राखेका कारण लामो समय आवागमन बन्द नहुने प्रवन्ध मिलाइएको खनालले जानकारी दिए ।

नारायणगढ र गोरखा जोड्न सन् १९८२ मा चीन सरकारको सहयोगमा सो सडक बनेको थियो । नारायणगढ–मुग्लिन सडक पूर्व तथा पश्चिम नेपालका गाडी काठमाडौँ र पोखरा जाने आउने मुख्य मार्ग हो । अहिले उक्त सडकखण्ड चौडा बनाइँदैछ ।

नारायणगढ–मुग्लिन सडक हुँदै दैनिक सरदर सात हजार ३०० गाडी ओहरदोहर गर्छन् ।

विश्व बैंकको रु दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । इञ्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबीसे, मुग्लिन नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मोजफ्रपुर हुँदै जाने यो सडक एशियन हाइवेको एक खण्ड हो ।

आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>