समाचारबुधबार, जेठ २६, २०७३
उद्योगी केडिया अपहरणमा संलग्न ५ जना सार्वजनिक
वीरगञ्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले बाराको महागढीमाई वडा नं २ का विरेन्द्र यादव (४२), कबही जब्दी– ३ का चञ्चल पाण्डे (३२), कबही जब्दी–९ का जियालाल यादव (३६), महागढीमाई नगरपालिका–२ का जियालाल यादव (२८) र वडा नं १ का पुष्कर कुमार चौधुर (४०) लाई सार्वजनिक गरेको हो ।
बाराको सदरमुकाम कलैयास्थित जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको थियो ।
प्रहरीले घटनाको मुख्य योजनाकार चञ्चल पाण्डे रहेको बताएको छ । एक महीना पहिलेदेखि पाण्डेले योजना बनाई विरेन्द्र यादवलाई योजनामा सामेल गराएको डिआईजी पशुपति उपाध्यायले दावी गरे ।
“पाण्डेले अपहरणको सोच बनाएपछि यादवलाई पनि सहमत गराएका रहेछन्,” डिआईजी उपाध्यायले भने “त्यसपछि उनीहरुले भारतको मोतिहारी जेलमा रहेका बब्लु दुबेसँग भेटी अपहरणको योजना बनाएको अनुसन्धानबाट खुलेको छ ।”
डिआईजी उपाध्यायका अनुसार दुवेले भारतीय अपराधीलाई परिचालन गरी पक्राउ परेकाहरुको सहयोगमा अपहरण गराएका हुन् ।
घटनाको एक दिनअघि नेपाल र भारतका अपहरणकारीहरु महागढीमाईका जियालाल यादवको भारतस्थित मामाघरमा जम्मा भई जिम्मेवारी बाँडफाँड गरेको र मोटरसाईकल र स्र्कापियो गाडी लिएर नेपाल प्रवेश गरको केडिया अपहरण प्रकरण अनुसन्धान समितिका संयोजक प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।
पक्राउ परेकाहरु माथि ज्यान मार्ने उद्योग, अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दा चलाइएको शर्माले बताए ।
घटना पछि अपहरणकारीको गाडीलाई रोक्न नसकेको आरोपमा ईलाका प्रहरी कार्यालय कबहीगोठका प्रहरी नायब निरीक्षक राजेन्द्रकुुमार चौधरी, प्रहरी हवल्दार तेज प्रसाद ढकाल, प्रहरी जवान बुनिल महतो, सुरेन्द्र साह र प्रमोद यादवलाई निलम्बन गरी कारबाही अघि बढाईएको डिआईजी उपाध्यायले पत्रकार सम्मेलनमा जानकारी गराए ।
हतियारधारी समूहले बाराको बघवनबाट १३ जेठ बिहिबार साँझ गाडी चालक वीरगञ्ज विन्धबासीनीका श्यामउनेश साहलाई गोली हानी केडियाको अपरहण गरेको थियो भने जेठ १६ गते उनी भारतको मोतीहारीबाट अपहरण मुक्त भएका थिए ।
प्रहरीले केडियाको अपहरणमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी र अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने गोली सहितको म्याग्जीन यसअघि नै बरामद गरेको थियो ।
केडिया अपहरणमा संलग्न भएका बब्लु दुवे समूहका भारतीय नागरिक रन्जन झा भारतीय प्रहरीले १६ जेठमै रक्सौलमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।
सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
