समाचारबिहीबार, जेठ २७, २०७३
बन्दकर्ताद्वारा आगजनी र तोडफोड

नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको कारण राजधानीमा सार्वजनिक यातायातका साधन कम चलेका छन् भने निजी सवारीसाधन उल्लेख्य मात्रामा चलेका छन् । तस्वीर: रोशन सापकोटा/रासस
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले देशका विभिन्न भागमा सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् ।
बन्दकर्ताले आज बिहान वीरगञ्ज–पथलैया सडक खण्डको छातापिपरामा दुई वटा गाडी तोडफोड गरेका छन् ।
वीरगञ्ज पथलैया चल्ने ना ३ ख १४८३ नम्बरको बस र जितपुरमा रहेको नेपाल फर्मास्युटिकल्सको कर्मचारी बोक्ने ना १ क १२६७ बसमा तोडफोड भएको हो ।
रौतहटमा बन्दकर्ताले गुडिरहेको ना६ख ४६१५ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरेका छन्। बम प्रहारबाट ट्रकका चालक बलराम भण्डारी र सहचालक वसन्त मगर घाइते भएका छन्। उनीहरुको उपचार चन्द्रपुर अस्पतालमा भइरहेको छ।
काठमाडौंको तीनकुनेमा बा१ज २२०६ नंको ट्याक्सीमा आगजनी गरेको नेपाल प्रहरीले जनाएको छ । त्यस्तै बन्दमा चलाएको भन्दै बन्दकर्ताले मनमैजुमा माइक्रो बस, त्रिपुरेश्वर र त्रिभुवन विमानस्थलद्वार अघि साझा यातायात, वीर अस्पताल अगाडि ट्याक्सी र कलङ्कीमा रात्रिबसमा ढुङ्गा प्रहार गरी सिसा फुटाएका छन् ।
प्रहरीले जबर्जस्ती बन्द गराउँदै हिँडेका काठमाडौँमा ३४, ललितपुरमा १४ र भक्तपुरमा तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशमान श्रेष्ठले जानकारी दिए ।
यसैगरी, पोखरामा प्रहरीले ९ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ भने इलाममा चन्द नेतृत्वको पार्टी जिल्ला सङ्गठन विभाग प्रमुख पेम्बा शेर्पा र दुई नम्बर क्षेत्रका सचिव गजेन्द्र काफ्ले पक्राउ परेका छन् ।
प्रहरीले सर्लाहीमा पूर्वपश्चिम राजमार्ग बन्द गराउन हिंडेका २० जनालाई पक्राउ गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
