समाचारबिहीबार, जेठ २७, २०७३
माओवादी नेता भन्छन्, ‘पार्टीको उपस्थिति देखाउन नेपाल बन्द’
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पार्टी स्थापनाको डेढ बर्ष नबित्दै आजसहित चार पटक नेपाल बन्द गरिसकेको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी विभाजन गर्दै मंसीर २०७१ मा नेकपा माओवादी गठन गरेका चन्दले ६ महीनापछि लिपुलेक घटनालाई लिएर नेपाल बन्द आह्वान गरे । पार्टी गठनपछि पहिलो पटक असार २०७२ मा नेपाल बन्द गरेको माओवादीले त्यसपछि संविधानसभाबाट जारी संविधानको विरोधमा असोज २०७२ र भारतीय नाकाबन्दी विरुद्धमा कात्तिक २०७२ मा नेपाल बन्दको आह्वान गरेको थियो ।
उक्त पार्टीका नेता सन्तोष बुढामगर जनता, मिडिया र राज्यलाई पार्टीको नीति, कार्यक्रम र उपस्थिति देखाउन नेपाल बन्दजस्तो अप्रिय कार्यक्रम गर्नु बाध्यता रहेको बताउँछन् । भन्छन्, “रहरले बन्द आह्वान गरिएको होइन, तर अरु भन्दा यो कार्यक्रम सजिलो छ ।”
नेपाल उद्योग बाणिज्य महासंघका अनुसार एक दिन नेपाल बन्द हुँदा देशको अर्थतन्त्रले रु २ अर्बको हाराहारीमा नोक्सानी बेहार्नुपर्छ । यो हिसाबले माओवादीको बन्दबाट रु ८ अर्ब हाराहारीको नोक्सानी नेपाली अर्थतन्त्रमा परिसकेको छ । बुढामगर भन्छन्, “यो दुखद् विषय भएपनि राज्यले नै बढवा दिइरहेको भ्रष्टाचार र महँगीका अघि यो ठूलो कुरो होइन ।”
उनले शान्तिपूर्ण र भद्र राजनीतिक गतिविधिबारे नेपाली मिडियाहरुले कभरेज नगरेकाले पनि बन्द र तोडफोड गर्नुपरेको बताए । उनले भने, “हिजो हामीले मोटरसाइकल र्याली निकाल्यौं, कसैलाई थाहा भएन । तर, विहानै ट्याक्सी जलेको समाचार देशभर फैलियो ।”
माओवादीले भूकम्पपीडितको पुनःस्थापना, महँगी, भ्रष्टाचार, वैदेशिक हस्तक्षेपको विरोधलगायत माग राख्दै देशभर बन्द गरिएको जनाएको छ । बन्दको अवज्ञा गर्नेहरुमाथि भौतिक कारवाही चलाउने निर्देशन समेत दिइएको माओवादीले जनाएको छ ।
शान्तिपूर्ण राजनीतिक आन्दोलन गर्दा झापा जिल्ला सेक्रेटरी बाबुराम राईसहित ४ जना जेलमा रहेको र अन्यतिर पनि कार्यकर्ता प्रहरी नियन्त्रणमा लिइएकाले दबाव दिन पनि नेपाल बन्द गरिएको नेता बुढामगर बताए ।
साँझ ५ बजेसम्मका लागि आह्वान गरिएको बन्दका कारण काठमाडौं उपत्यकामा केही बाहेक सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन् । साझा यातायात विहानैदेखि सञ्चालनमा रहेको र कलंकी–रत्नपार्क क्षेत्रमा केही माइक्रो चलिरहेपनि अन्य यातायात ठप्प छ ।
बन्दले यातायात नचलेपछि उपत्यकामा पैदलयात्रीको संख्या बाक्लो देखिएको छ भने शैक्षिक संस्था बन्द हुँदा विद्यार्थीहरु मारमा परेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
