थप समाचारबिहीबार, जेठ २७, २०७३
ताप्लेजुङ पहिरोको एक वर्षः पीडित अझै पीडामा
पश्चिमी ताप्लेजुङका पाँच गाविसमा ६९ जनाको ज्यान जानेगरी पहिरो गएको आज एकवर्ष पूरा भएको छ ।
गत वर्ष २७ जेठ राति ताप्लेजुङका थिङलावु, खोक्लिङ, लिवाङ, सान्थाक्रा र लिङतेप गाविसमा एकैसाथ पहिरो जाँदा ६९ जनाको ज्यान गएको थियो । पहिरोमा पुरिएकामध्ये ४१ जनाको शव फेला परे १८ जना फेला परेनन् ।
पहिरोमा पुरिएर बेपत्ता भएकाहरुलाई पनि स्थानीय प्रशासनले मृतककै सूचीमा राखेर आफन्त र परिवारका सदस्यलाई किरिया खर्च बापत रु ४० हजार र एक बोरा चामल राहत स्वरुप उपलव्ध गराएको थियो ।
पहिरो गएको एकवर्ष बितिसक्दासम्म त्यहाँका पहिरो पीडित परिवारको पुनःस्थापना हुन सकेको छैन ।
स्थानीय प्रशासनले पहिरो प्रभावित ५ वटा गाँउ विकास समितिका २८६ परिवारलाई पहिरो प्रभावितको सूचीमा राखेको थियो ।
उनीहरुमध्ये केही सदरमुकाम फुङलिङको तीनबरे, मेदिवुङ र दोखुमा बसाइ सरे पनि आधा भन्दा धेरै परिवार पहिरो प्रभावित क्षेत्रमै छन् ।
पहिरो प्रभावित संघका अध्यक्ष कर्णवहादुर फेम्सोहाङका अनुसार कमजोर आर्थिक अवस्थाका उनीहरुको अन्य विकल्प नहुँदा पहिरो छेउमै बसिरहेका हुन् ।
“थातथलो छोड्दा हातमुख जोर्न थप समस्या हुने भएकाले पहिरो छेउमै भएपनि बसेका हौं,” उनले भने ।
पहिरोले घर–खेत सबै बगाएका पीडितहरुले एकवर्ष पुगिसक्दा पनि मृतकका परिवारलाई दिइएको १ बोरा चामल र रु ४० हजार किरिया खर्च बाहेक केही पाएका छैनन् ।
स्थानीय प्रशासनले भुकम्पले मुलुकका विभिन्न स्थानमा ठुलो धनजनको क्षति भएकाले पर्याप्त राहत पु¥याउन नसकेको जनाएको छ ।
लक्ष्मी गौतम