थप समाचारशुक्रबार, जेठ २८, २०७३
पाँचथरमा नेता लावतीको शालिक स्थापना
पूर्वमन्त्री समेत रहेका राजावादी नेता पद्मसुन्दर लावतीको शालिक उनको गृह नगरमा स्थापना गरिएको छ ।
लावतीको निधन भएको वर्ष दिन २७ जेठमा यासोक बजारमा उनको शालिक अनावरण गरिएको हो । उनको गत वर्ष २७ जेठ २०७२ मा काठमाडौंमा निधन भएको थियो ।
पूर्ण कदको शालिकको लम्वाई ६ फिट रहेको उनका छोरा तथा राप्रपा नेपाल समानान्तरका प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी दिए ।
स्वर्गीय लावतीले साठी वर्ष लामो राजनीतिक जीवनमा देश र जनताको हितमा गरेको योगदानको कदर गर्ने प्रयास स्वरुप सालिक अनावरण गरिएको लाओती पापोहाङ संयङका अध्यक्ष जगतजंग लावतीले बताए । शालिक सयङकै पहलमा स्थापना गरिएको हो ।
यस अघि यासोकमा राजनीतिक दल, संघ संस्था लगायतको सर्वपक्षीय भेलाले यासोक बजारमा शालिक स्थापना गर्ने निर्णय गरेको थियो । यासोक बजार स्थापना गर्नमा नेता लावतीको निर्णायक भूमिका थियो ।
राजनीतिक जीवनको क्रममा लावतीले गृह, स्वास्थ्य, सामान्य प्रशासन, उद्योग, वाणिज्य, कृषि, सुचना संचार, भूमीसुधार लगायतका मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
पाँचथरमा लोकप्रिय नेताका रुपमा पहिचान बनाएका लावतीले पाँचथर जिल्लाको निर्वाचित प्रतिनिधि भएर संसदमा २५ वर्ष जिम्मेवारी निर्वाह गरेका थिए ।
सिलगढीका कालिगढले निर्माण गरेको शालिकको लागत रु ६ लाख रहेको सयङले जनाएको छ ।
सिलौटीमा पनि सालिक
नेता लावतीको शालिक यासोकमा मात्र नभएर, महागुरु फाल्गुनन्दको समाधि रहेको पाँचथरको ऐतिहासिक सिलौटीमा समेत स्थापना गरिने भएको छ ।
महागुरु फाल्गुनन्द अध्ययन तथा संरक्षण प्रतिष्ठानको संयोजनमा सिलौटीमा शालिक स्थापना गरिने प्रतिष्ठानले जनाएको छ । लावती सो प्रतिष्ठानका संस्थापक संरक्षक थिए ।
लक्ष्मी गौतम, पाँचथर