खेलकुदशनिबार, जेठ २९, २०७३
क्रिकेटका दीप
ट्वीटरमा आफ्नो फोटो पोष्ट गर्दै सन्दीप लामिछानेले लेखे, गेस्! ह्वाट आई वाज थिंकिङ? जवाफमा माइकल क्लार्कले लेखे– ह्वाउ एम आई गोइङ टु गेट दिस ब्याटर आउट. हा हा।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर लामिछानेसँग दुर्लभ संवाद गर्ने क्लार्क अष्ट्रेलियाका क्रिकेटर र पूर्व कप्तान हुन्। उनैको कप्तानीमा सन् २०१५ मा अष्ट्रेलियाले विश्व क्रिकेटको उपाधि जितेको थियो।
१६ वर्षका किशोर सन्दीपका लागि दुई साताअघि सम्पन्न हङकङ टी–ट्वेन्टी ब्लिट्ज प्रतियोगिताले यस्तो संयोग जुराएको थियो।
प्रतियोगितामा काउलुन क्यान्टन्स् टीममा छानिएका सन्दीपका कप्तान उनै क्लार्क थिए। वर्षाका कारण एउटै मात्र खेल खेलेको क्यान्टन्स्का लागि लामिछानेले दुई विकेट खसाले।
“क्लार्कले मेरो प्रशंसा गरे, हौसला बढाए र राम्रो खेलाडी बन्ने उपाय पनि दिए”, उत्साहित लामिछाने भन्छन्। चितवनमा कक्षा १० मा पढिरहेका उनी आफ्नो असाधारण प्रतिभाका कारण १५ वर्षकै उमेरमा राष्ट्रिय टीममा प्रवेश पाउन सफल भए।
“क्लार्क जस्ता खेलाडीसँग खेल्न पाउँदा आफ्नो क्षमता र कमजोरी दुवै थाहा भयो”, पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक प्रतियोगिताको अनुभव बोकेर फर्किएका उनी भन्छन्, “क्रिकेट विकासमा घरेलु प्रतियोगिताको महत्व पनि बुझे।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
