ब्लगशनिबार, जेठ २९, २०७३
भानुभक्त स्मारक ग्रन्थ
नेपालमा ऐले बाढी नै आएको छ ‘अभिनन्दन ग्रन्थ’ र ‘स्मृतिग्रन्थ’ हरू निकाल्ने। मदन पुरस्कार पुस्तकालय (मपुपु) को सूचीमै पनि स्मृतिग्रन्थका २५० ओटा र अभिनन्दनका १२० जति ग्रन्थ दर्ता भएका देखिन्छन्। मपुपु–मा आइनपुगेका अझ अरू कतिका होलान् !
सात सालअघि नेपालमा ‘अभिनन्दन ग्रन्थ’ र ‘स्मृतिग्रन्थ’ निकाल्ने चलन थिएन। त्यसको शुरूआत गरिदियो दार्जीलिङको नेपाली साहित्य सम्मेलनले १९९७ सालमा ‘भानुभक्त स्मारक ग्रन्थ’ निकालेर। ‘स्मृतिग्रन्थ’ र ‘अभिनन्दन ग्रन्थ’ भनेको एकै जनामा लक्षित कृति हो।
त्यस्ता अभिनन्दन ग्रन्थ नेपाली भाषामा १९५० सालको आसपासदेखि प्रकाशित भएका देखिन्छन्। त्यसैगरी स्मृतिग्रन्थ पनि निस्केका छन् तर ती केवल शोककाव्यहरूमा सीमित थिए।
उतिबेला अभिनन्दन या प्रशंसा गर्ने पुस्तकहरू समेत कविता र काव्यमै हुन्थे। ती व्यक्तिगत अर्थात् एक्लै या दुई जनासम्मले मिलेर लेखेको फेला पर्छन्। जस्तो, पहिलो पटक वीरशमशेर महाराजको विरुदावली गाएर कवि शिखरनाथ सुवेदीले ६० श्लोकी ‘वीरषष्टिका’ प्रकाशित गरे काशीबाट १९५६ सालमा।
त्यसपछि चन्द्रशमशेर राजा भए अनि उनका नामबाट ‘चन्द्रप्रताप वर्णनम्’ र ‘चन्द्रमयूख र भूचन्द्रचन्द्रिका’ ‘अलङ्कारचन्द्रोदय’ इत्यादि अनेकौं ग्रन्थ निस्के।
मपुपु–मा नै महाराज चन्द्रका विरुदावली गाउने ८/१० ओटा किताब छन्, काव्य र कविताका। ती सबै ती महाराजको जीवनकालभरि मात्र आए। उनी मरेपछि– शून्य! त्यसैले भनिदिए होला– राणाकालका अभिनन्दन ग्रन्थहरू साँच्चै अभिनन्दन थिएनन्, केवल चाटूकारिता थिए, अर्धसत्य या असत्य प्रशंसाका।
त्यसपछि जुद्धशमशेरको पनि ऐजन ऐजन भनिदिए हुन्छ। तर उनकोमा एउटा कुरो नयाँ भयो, पत्रपत्रिकामा कसैलाई ताकेर विशेषाङ्क छापिने। त्यस कुराको श्रीगणेश गरुर्यो गोरखापत्र ले १९९८ सालमा जुद्धशमशेरको शासनको बयान गर्दै ‘उदयोत्सवाङ्क’ निकालेर, त्यसै साल भदौ १७ गते।
अझ् अघि जाँदा हामीले भीमसेन थापाको राज्यकालमा पुग्नुपर्छ, सुन्दरानन्द बाँडासम्म। उनको ‘त्रिरत्नसौन्दर्यगाथा’ ले भीमसेनको वीर–पूजा गरेको थियो यसो भन्दै– “बलिया हाकिम्ले बल मिचि लियाका सहि भया।
कहाँ पाऊँ नीशाफ् जनरल बिना भूमि भरमा!” त्यस्ता अभिनन्दनग्रन्थ नायकको जीवनकालभित्र मात्र प्रकाशित हुन्थे भनिसकियो माथि। मरिसकेका मान्छेको प्रशंसा या अभिनन्दन गरेर पुस्तक निकाल्ने प्रशंसनीय आधुनिक कार्यको थालनी चाहिं ‘भानुभक्त स्मारक ग्रन्थ’ ले नै गरुर्यो।
त्यसै किताबले गर्न थालेको हो यो नौलो परिपाटी, एउटा ‘शुभारम्भ’। सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधानले त्यो कुरा त्यसै लहडमा गरेका थिएनन्, सोद्देश्य थियो त्यो कार्य।
प्रवास, भारतमा पुगेका र उतै बसोबास गर्ने खास गरेर दार्जीलिङ भेगका नेपालीलाई पहिले बिहारीहरूसँग र पछि बङ्गालीहरूसँग प्रतिस्पर्धामा उभिनुपरुर्यो, जातीय रूपमै।
भारतका हिरो राममोहन राय या रवीन्द्रनाथ टेगोर अथवा गङ्गाधर तिलक र मोहनदास गान्धीले मात्रै उनीहरूको चित्त बुझेन, तीभन्दा फरक नेपाली हिरो नै चाहियो। राणाहरूबाट पीडित भएर गएकाले उनीहरूलाई जङ्गबहादुरको गरिमाले तानेन अनि गोर्खाका शाहहरूमा हिरो खोज्न थाले उनीहरू।
सूर्यविक्रमले द्रव्य शाह र रामशाहबाट शुरू गरे जीवनी लेख्न अनि पृथ्वीनारायण शाहसम्म ओर्ले। तर, अंग्रेजहरूसँग टक्कर लिने गोर्खाली राजाको बखान गर्नु इण्डियामा ‘पोलिटिकल्ली करेक्ट’ भएन होला र उनीहरूले सांस्कृतिक क्षेत्रतिर आँखा डुलाउन थाले।
त्यहाँ उनीहरूले तनहूँ रम्घाका भानुभक्तलाई फेला पारे अनि त्यसैमा ‘सम्’ गरे। अरूतिर खोज्नु आवश्यक नै भएन! भानुभक्त भए प्रवासी नेपालीका ‘हिरो’ अर्थात् ‘आराध्य’ या आदर्शपुरुष, आदिकवि। उनैका वरिपरि बनेको देखाए प्रवासीहरूले आफूलाई प्रबुद्ध, सजग र बङ्गाली समाजको समकक्षी।
तर उनीहरूले मात्रै आदिकवि भन्दैमा भएन, नेपालले भनेको थिएन। मोतीरामले ५० वर्षअघि काशीबाट बोलिदिएकोले पनि पुगेन। नेपालबाटै आधिकारिक रूपले घोषित हुनुपरुर्यो! अनि उनीहरूले नेपालका कवि र नाटककार बालकृष्णशमशेरलाई गुहारे। बालकृष्णले ‘शिक्षामन्त्री’ अर्थात् नेपालको शिक्षा विभागका डाइरेक्टर जनरल मृगेन्द्रशमशेरलाई तताए अनि उनले महाराज जुद्धशमशेरलाई मनाए।
२०१६ सालमा ‘कालो अक्षर’ ले ठट्यौलो पाराले यस बारेमा यस्तो केही लेखेको थियो– “तलबभत्ता क्यै दिनुपर्ने होइन, मरिसकेका एक जना बूढा बाहुनलाई आदिकवि भनिदिने हो इत्यादि भने उनले महाराजलाई। मरिसकेको बूढालाई आधी या सिङ्गो जे कवि मनाए पनि महाराजलाई कुनै आपत्ति थिएन। उनले हुन्छ भने।
उनका मुखबाट त्यो ‘हुन्छ’ र्झ्नासाथ मृगेन्द्रले (बालकृष्णले राम्रा अक्षरमा लेखिराखेको) कागज महाराजका अगाडि तेर्स्याए। महाराजका श्रीहस्तले दुःख गरिकन त्यस कागजमा साढेसात अक्षर लेखे ‘श्री ३ जुद्धसम्शेर’। अब भानुभक्तबाजे नेपालमा पनि ‘आदिकवि’ भए!”
त्यसरी महाराजले हस्ताक्षर गरेको कागजमा धेरै लामो कुरा केही थिएन, २८ शब्द मात्र लेखिएका थिए– “सगुण स्वरूप भगवान श्री रामचन्द्रको पवित्र चरित्र व्याख्यान भएको अध्यात्म रामायणलाई सरल नेपाली भाषामा श्लोकबद्ध गरी उतारी रामरस फैलाउने कवि भानुभक्ताचार्य नेपाली भाषाका आदिकवि हुन् भने पनि हुन्छ।”
त्यो ‘रुक्का’ भारतवर्षको दार्जीलिङमा पुगेपछि प्रवासीहरू धन्य भए। अब उनीहरू डबल जोशले तम्से भानुभक्तलाई साँच्चै आदर्श बनाउन। अनि नेपाली साहित्य सम्मेलनले पहिलो पटक १९९७ सालमा सूर्यविक्रम ज्ञवाली बी.ए.बी.टी.लाई सम्पादक बनाएर निकाल्यो ‘भानुभक्त स्मारक ग्रन्थ।’
प्रवास र नेपालका गरी ३० भन्दा बढी कवि–लेखकका लेख–रचनाले सिंगारिएको सर्वप्रकारले उत्कृष्ट थियो त्यो ग्रन्थ। त्यसले एउटा गोरेटो नै बनाएर सिकाइदियो हामी नेपालीलाई आफ्ना मान्यजनलाई कसरी सन्मान या अभिनन्दन गर्नुपर्छ भन्ने। अब, त्यो ग्रन्थ कस्तो थियो भनेर हेर्न र बुझन त कुनै पुस्तकालय नै पुग्नु पर्ला!