थप समाचारशनिबार, जेठ २९, २०७३

अदुवाको अवस

हिमालखबर

आफ्नै बुतामा देशलाई विश्वको तेस्रो ठूलो अदुवा उत्पादक मुलुक बनाइसकेका नेपाली किसानलाई सरकारले अलिकति सघाए ठूलो प्रतिफल आउनेछ ।

– जीवनप्रसाद राई

zPresXeसन् २०११ मा भारतले ७० लाख २ हजार टन अदुवा उत्पादन गर्‍यो भने चीनले ३८ लाख ८ हजार ८८६ टन । त्यसपछि तेस्रो नम्बरमा नेपालले २ लाख १६ हजार २८९ टन उत्पादन गर्‍यो ।

राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका अनुसार, २०१२ मा पनि नेपालले २ लाख ५५ हजार २०८ टन अदुवा उत्पादन गरेर विश्वमा आफ्नो तेस्रो स्थान कायम गरेको थियो । त्यसयता पनि बन्द-हड्ताल र मूल्यको अस्थिरतासँग जुध्दै अदुवा उत्पादनमा नेपालले आफ्नो ‘पोजिसन’ कायम राखेको छ ।

नेपालको यो प्रगति सरकारी प्रबर्द्धनमा नभई पुर्ण रूपमा किसानको ज्ञान र जाँगरमा आधारित छ । अझ, नेपाली अदुवाको भाग्य निर्धारण भारतीय व्यापारीको तजबिजमा हुन्छ । भारतीयले माग गरे नेपाली अदुवाले राम्रो मूल्यका साथ बजार पायो, नगरे कुहिएर गयो । विश्वको तेस्रो ठूलो अदुवा उत्पादक मुलुकमा भण्डारण र प्रशोधन सुविधा नहुँदा यो अवस्था कायम छ ।

यसले गर्दा नेपाली अदुवाले वर्षनि अचाक्ली उतारचढावको सामना गर्नुपर्छ । एक वर्षराम्रो मूल्य पाएका किसान अर्को वर्षअदुवा खेती बढाउँछन्, तर मूल्य फेदीमै खसेर थाप्लामा हात राख्न पुग्छन् । त्यसरी दिक्क भएर अदुवा नलगाएको या कम लगाएको वर्षउच्चतम भाउ दिन व्यापारीहरू घरघरै आइपुग्छन् । बलियो संगठन र सूचना केन्द्रहरू पनि नहुँदा नेपाली किसानले यसैलाई आफ्नो भाग्य मान्नुपर्ने अवस्था छ ।

अमेरिका, यूरोप, साउदी अरब, बेलायत, जापान आदि उच्च क्रयशक्ति भएका मुलुकहरू नेपाली अदुवाको प्रमुख बजार हुन् । ती बजारमा पुग्न अदुवाको निश्चित मापदण्ड पुगेको हुनुर्पर्छ ।

यीमध्ये धेरैजसो देशले विषादी र रासायनिक मल प्रयोग नभएको अदुवाको सुकेको चाना आयात गर्छन् । अर्थात्, प्रांगारिक अदुवाको चाना बनाएर ड्रायरमा सुकाउन सके भारतीय व्यापारीको भर पर्नुहुदैन ।

यस्तो कामको शुरूआत सुर्खेतको छिन्चुमा भएको छ- अर्गानिक माउन्टेन फ्लेेभर प्रालिमार्फ । रु.२ करोड लगानीमा खुलेको यो अदुवा प्रशोधन कारखानाले यस वर्ष१८०० किसानसँग प्रांगारिक अदुवा लिने सम्झौता गरेको छ भने ३३ महिलासहित ४२ जनालाई रोजगारी दिएको छ ।

उत्पादन गर्न सके यूरोपमा मात्र आठ लाख टन स्लाइस -चाना) अदुवा निर्यात गर्न सकिने कम्पनीका अध्यक्ष प्रकाश अधिकारी बताउँछन् । उनका अनुसार, सात किलो अदुवा काटेर सुकाउँदा एक किलो स्लाइस तयार हुन्छ ।

नेपालले अदुवामा अलिकति मात्र काम गरे ठूलो फाइदा लिन सक्ने अधिकारीको काम र भनाइबाट पुष्टि हुन्छ । तर, जम्मा एउटा प्रशोधन केन्द्र र छरिएको उत्पादनबाट अपेक्षित फाइदा उठाउन नसकिने प्रष्टै छ । ठाउँठाउँमा प्रशोधन केन्द्र खोल्ने र कृषक समूह बनाउने पहल स्थानीय अगुवादेखि नीतिनिर्मातासम्मले गरिहाल्नुपर्ने देखिन्छ ।

विकसित देशमा निर्यात गर्ने अदुवामा उत्पादनदेखि प्रशोधनसम्म ‘नो पेष्ट, नो केमिकल फर्टिलाइजर’ हुनुपर्छ । यो सामान्य लागे पनि असंगठित कृषकलाई यो मापदण्ड पूरा गर्न सजिलो छैन । त्यसमाथि हाम्रो देशमा रसायन नभएको प्रमाणित गर्ने भरपर्दो ल्याबसम्म छैन ।

त्यस्तै, यूरोपेली मापदण्ड पुग्नेगरिको अदुवाको चाना सुकाउने एउटै मेशीनलाई करोडभन्दा माथि पर्छ । यस क्षेत्रमा ‘अर्गानिक माउन्टेन फ्लेभर प्रा.लि’ स्थापनालाई शुरूआती कदम मान्नुपर्छ ।

प्रशोधित अदुवाबाट पचासौं किसिमका सामग्री बन्ने हुनाले यसको माग सधैं उच्च हुन्छ । स्थानीयस्तरमा भइरहेको काममा सरकारले वस्तुगत अध्ययन र प्रवर्द्धन गर्ने हो भने सजिलो खेती अदुवाबाट नेपाली किसानको जीवनस्तर उक्सिनुका साथै देशको आय पनि बढ्छ । यसका लागि सरकारका सम्बन्धित निकायहरूले प्रांगारिक अदुवा उत्पादन क्षेत्र घोषणा गरेर किसानलाई उत्पादनमा सघाउनुपर्छ ।

अन्तराष्ट्रिय मापदण्डको ल्याब स्थापना, जनशक्ति उत्पादन र ड्रायर मेशीनमा अनुदानको व्यवस्था सरकारले मात्र गर्न सक्छ । सरकारका लागि यस्तो लगानी कुनै पनि अर्थमा ठूलो भन्न सकिन्न ।

नेपाल सरकारले अब साना कृषक, ठूला कृषक र कृषिजन्य प्रशोधन उद्योगको लागि फरक-फरक योजना बनाएर कार्यान्वयन गर्नुपर्छ । देशको लागि वायु ऊर्जादेखि समुद्रमा नेपाली पानीजहाजसम्मको सोच लिएका नेताले सरकार हाँकिरहेको अवस्थामा विश्वबजार ब्रान्डको रूपमा परिचित भइसकेको अदुवाबाट कृषिप्रधान देशका गाउँहरूको मुहार फेर्ने योजना पनि आउनुर्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>