थप समाचारशनिबार, जेठ २९, २०७३
गर्भकालीन रक्तस्राव
हल्का नै भए पनि गर्भावस्थामा अप्रत्याशित रुपमा रक्तस्राव भए तुरुन्त अस्पताल जानु बुद्धिमानी हुन्छ ।
योनीद्वारबाट हल्का रक्तस्राव भएको शिकायत लिएर बहिरङ्ग विभागमा आएकी ६ महीनाकी गर्भवती महिलाको भिडियो एक्सरे गरेर हेर्दा शंका सही सावित भयो– साल करीब करीब पाठेघरको मुखमै आइपुगेको रहेछ।
गर्भावस्थामा पहिलो पटकको रगत बहावपछि सालको अवस्थिति गर्भवतीको आन्तरिक परीक्षणमा महत्वपूर्ण हुन्छ। त्यसअनुसार ती महिलालाई अस्पतालमा भर्ना गरेर प्रशस्त आरामका साथै आवश्यक उपचारपछि डिस्चार्ज गरियो। त्यसपछि नियमित फलोअपमा रहेकी ती महिला सामान्य तवरले सुत्केरी भइन्।
सुत्केरी व्यथासँगै अप्रत्याशित रूपमा बढी रक्तस्राव भएकी अर्की एक महिलाको पुरानो रेकर्ड विश्लेषण गर्दा रगतको रिपोर्ट र अल्ट्रासाउण्ड दुवै सामान्य थिए। आन्तरिक परीक्षणमा भने पाठेघरको मुख खासै नखुलेको पाइयो।
बच्चाको आन्तरिक अवस्था (मुटुको धड्कन) र पाठेघरको खुम्च्याई थाहा पाउने परीक्षणको क्रममा साल पाठेघरको भित्ताबाट छुट्टिएको आशंका भयो। अल्ट्रासाउण्डबाट त्यो प्रमाणित हुनासाथै इमर्जेन्सी सिजेरियन अपरेशनबाट सफल प्रसूति गराइयो। अपरेशनपछिको जाँचमा सालको बाह्य सतहमा रगत जमेको देखियो। धन्न समयमै सिजेरियन अपरेशनको निर्णय भयो।
गर्भ रहेदेखि १२ हप्तासम्मको अवधिलाई पहिलो त्रैमासिक, १३ देखि २८ हप्तासम्मलाई दोस्रो त्रैमासिक र २९–४० हप्ताको अवधिलाई तेस्रो त्रैमासिक भनिन्छ।
गर्भावस्थाका अन्य त्रैमासिकमा जस्तै तेस्रो त्रैमासिकदेखि सुत्केरी व्यथा लाग्नु अगाडिसम्मको अवधिमा बच्चाको बसाइ उल्टो हुने, सुत्केरी बेथाअघि पानी फुट्ने (सानो सूतक हुने), महीना नपुग्दै बेथा लाग्ने, गर्भावस्था लम्बिने जस्तै अप्रत्याशित रूपमा रक्तस्राव हुनसक्छ।
नियमित रूपमा भइरहनुपर्ने महीनावारी रोकिनु गर्भाधान हुनुको प्रमुख लक्षण हो। गर्भ आएपछि महीनावारी रोकिने क्रिया सुत्केरीपछिको केही महीनासम्म रहन्छ। कसैकसैमा गर्भाधानको क्रममा शुक्रकीट र डिम्बको मिलनपछिको निषेचित डिम्ब पाठेघरमा बस्ने क्रममा हल्का रातोपन जस्तो रक्तस्राव देखिनु बाहेक गर्भावस्थामा बढी मात्रामा रगत देखिनु राम्रो लक्षण होइन।
२८ हप्ता अगाडि वा पछाडि गर्भावस्थामा रगत बग्ने कारण फरक–फरक हुन्छ। विकासोन्मुख देशहरूमा गर्भावस्थाको २८ हप्तासम्म (विकसित देशहरूमा २० हप्ता) पाठेघरभित्रको भ्रूण र अन्य वस्तुहरू पाठेघरको मुख हुँदै बाहिर आउने प्रक्रियालाई गर्भ तुहिनुका रूपमा लिइन्छ।
डिम्ब वा शुक्रकीटमा वंशाणुगत समस्या भए, पाठेघरमा भ्रूण बस्ने वातावरण अनुकूल नभए, पाठेघरमा मासु बढे, जननेन्द्रिय भित्र संक्रमण भए, गर्भावस्थाको शुरूतिर अधिक ज्वरो आउने कुनै संक्रमण भए गर्भावस्थाको पहिलो त्रैमासिकभित्र योनीमार्गबाट अत्यधिक रगत बग्न (गर्भ तुहिने) सक्छ।
पाठेघर बाहिर डिम्बवाहिनी नली वा अन्य भागमा गर्भ रहँदा पनि अत्यधिक रक्तस्राव हुन सक्छ। गर्भकालको दोस्रो चरणतिर गलत ठाउँमा साल बस्दा र सुत्केरी हुनु अगावै साल छुट्दा पनि अधिक रक्तस्राव हुन्छ।
साल पाठेघरमा ठीक ठाउँमा बसेको छैन वा पाठेघरको तल्लो भाग र मुखतिर आई बसेको छ भने गर्भावस्थाको दोस्रो त्रैमासिकपछि रगत बग्न सक्छ। पहिला थोरै देखिए पनि पछि अत्यधिक रक्तस्राव हुनसक्छ। साल कहाँ बसेको छ भनेर थाहा पाउन भिडियो एक्सरे (अल्ट्रासाउण्ड) गरिन्छ। त्यो पत्ता लागेपछि पनि भिडियो एक्सरे दोहोर्याइरहनुपर्छ।
बच्चा जन्मिनु अगाडि नै पाठेघरबाट साल छुट्दा बेथा लाग्नु ठीक अगाडि वा लाग्ने बित्तिकै अत्यधिक रक्तस्राव हुन्छ। गर्भावस्थामा उच्च रक्तचाप हुँदा, पेटमा चोट पुग्दा, पाठेघरमा पानी धेरै हुँदा वा जुम्ल्याहा बच्चा हुदा यस्तो परिस्थिति आउने सम्भावना बढी हुन्छ।
बच्चा जन्मिसकेपछि सालनाल र अन्य झिल्ली पाठेघरबाट छुट्टिने एवं निस्कने क्रममा थोरै रगत बग्न सक्छ। सुत्केरी भएपछि पाठेघर राम्ररी नखुम्चिए, भित्र सालका टुक्रा वा झ्िल्ली बाँकी रहे वा सालनाल छुट्टिनु अगाडि बल गरेर तानेको अवस्थामा भने अत्यधिक रक्तस्राव हुन सक्छ।
योनीद्वारको भित्ता वा पाठेघरको मुख च्यातिए, सुत्केरी महिलामा रगत जम्ने समस्या भए, रक्त अल्पता भए, पाठेघर वा योनी मार्गमा संक्रमण भएको अवस्थामा पनि बढी रक्तस्राव हुन सक्छ। यस्तो अवस्थाको उपचारमा सलाइन पानी र रगतको जरुरत पर्ने हुनाले अस्पतालबाहेक अन्य ठाउँको प्रसूति जोखिमपूर्ण हुन्छ।