ब्लगशनिबार, जेठ २९, २०७३

सुगम संगीतका सगरमाथा

रविन गिरी

‘सी–माइनर मेरो जिन्दगी’ मा अम्बर गुरुङ भन्छन्– नेपालमा संगीत गर्नु भनेको संघर्ष गर्नु हो । संगीतको यो हिमाल चढ्नु बेलाबेला वास्तविक हिमाल चढ्नुभन्दा पनि दुरुह हुन्छ ।

Ambar_Gurung_BR02

२०५३ सालमा रेडियाे सगरमाथाकाे ‘अम्बरका अमर भाकाहरु’ नामक कार्यक्रमकाे तयारीमा अम्बर गुरुङ र अन्य कलाकार (बाँया) । तस्वीरः विकास राैनियार

२०३१ सालमा रत्नशमशेर थापा स्वास्थ्योपचारका लागि भारतको नयाँदिल्ली पुग्दा नेपाली दूतावासमा उनकै मावली दाजु सैन्य सहचारी र साहित्यकार धुस्वाँ साय्मि सांस्कृतिक सहचारी थिए । उनीहरू दुवैले ‘ब्याचलर’ थापालाई केही महीना भारतमै रमाइलो गर्न उक्साए ।

एक दिन थापा दूतावासमै गफिरहँदा एकाएक एउटा चिनेको अनुहार टुप्लुक्क कोठामा देखापर्‌यो ।

“अरे, थापाजी तपाईं यहाँ कसोरी ?” अम्बर गुरुङ छक्क परे । उस्तै आश्चर्यका साथ थापाले पनि यही प्रश्न गरे । चलचित्र मनको बाँध को पाश्र्वसंगीत रेकर्ड गराउन मुम्बई झरेका गुरुङ ट्रान्जिट मिलाएर दिल्ली दूतावास पसेका रहेछन् ।

उनले २०२५ सालमा राजा महेन्द्रको जन्मोत्सवको अवसरमा दार्जीलिङबाट नेपाल आएर ‘नौलाख तारा उदाए’ गाएदेखि नै यी दुईबीच मित्रता भइसकेको थियो । गुरुङले ‘ए कान्छा ठट्टैमा लौ यो बैंस जान लाग्यो’ का रचनाकारको सामथ्र्य बुझेर पहिलो पटक विश्ववल्लभमार्फत थापासँग रचना मागेका थिए, जुन गीत बनिसकेको थिएन ।

“अनि कर्नाट प्यालेसमा कफी पिउँदै तीनघण्टा गफियौं”, थापा सम्झन्छन्, “उहाँले तपाईंसँग मिलेर काम गर्न मन छ, काठमाडौं आएपछि भेटौं भन्नुभयो ।”
त्यसको सात महीनापछि काठमाडौं फर्केका थापा भोलिपल्टै ज्ञानेश्वरस्थित गुरुङको डेरामा पुगे । अनि शुरु भयो– रचनाः रत्नशमशेर थापा, संगीतः अम्बर गुरुङको शृङ्खला । २५ जेठ २०७३ को बिहानै गुरुङ कहिल्यै नफर्कने गरी गएको खबरले रन्थनिएका थापाले भने, “म पनि उहाँसँगैको हो, ७९ वर्षको ।” १४ फागुन १९९४ मा दार्जीलिङको लालढिकीमा जन्मिएका गुरुङ ३२ वर्षको उमेरमा सधैंका लागि नेपाल आए ।

राजा महेन्द्रले २०२५ सालमै नेपाल बस्न आग्रह गरेकोमा उनी एक वर्षपछि सपरिवार काठमाडौं आइपुगे । तर, राजाको आग्रह र रहरभन्दा आफ्नै बाध्यताले ।

नौलाख तारा

रत्नशमसेरका साथ अम्बर गुरुङ । तस्वीर साैजन्यः रत्नशमसेर थापाकाे फेसबुकबाट ।

रत्नशमसेरका साथ अम्बर गुरुङ । तस्वीर साैजन्यः रत्नशमसेर थापाकाे फेसबुकबाट ।

अम्बरले पटक–पटक भनेका छन्– नौलाख तारा उदाए ले नै मलाई चिनाएको हो । इन्द्रबहादुर राईले सस्ता गीतका पछि नलाग्न भनेपछि उनी कवि अगमसिंह गिरीसँग नजिकिए अनि २०१८ मा उनको रचना नौलाख तारा कलकत्तामा रेकर्ड गराए ।

अम्बरले गाएको यो गीतले दार्जीलिङ पहाड मात्र होइन, भारतभरका नेपाली भाषीलाई जुरुक्क उचाल्यो । अल इण्डिया रेडियोले ‘अराष्ट्रिय’ भन्दै नौलाख तारा लाई प्रतिबन्धित गर्दा अम्बरको चर्चा झनै चुलियो ।

२०१९ सालपछि उनै राईले दार्जीलिङमा भाषा आन्दोलन शुरु गरेपछि अम्बरले गिरीको अर्को रचना ‘सुगौली सन्धि हामीले, भुलेको छैन भनिदेऊ’ दार्जीलिङको चोकचोकमा घन्काउन थाले । त्यसपछि ‘भारतको जागिर खाएर, नेपाली राष्ट्रियता फैलाउने’ भन्दै पश्चिम बंगाल सरकार अम्बरको पछि लाग्यो । उनलाई जासूसहरूमार्फत मानसिक डरत्रास–यन्त्रणा दिएर लोक मनोरञ्जन शाखाको संगीत निर्देशक पद छाड्न बाध्य पारियो ।

त्यसपछिको परिवार पाल्ने संघर्षमा अम्बरले पिटर जे कार्थक लगायतका हिमालय कला मन्दिरका आफ्ना शिष्यहरूलाई खर्च जुटाउने कन्सर्टको आग्रहसम्म गर्नुपर्‍यो ।

गुरुले लेखेको पत्रको बोली कार्थकलाई अहिले पनि याद छ– प्रिय पिटर, म परिवार धान्न केही कलेज र स्कूलमा कन्सर्ट गर्न चाहन्छु । कृपया मलाई सघाऊ, तिम्रो हिलियन्ससहित ।

र भयो पनि त्यस्तै, तर चेलाहरू गुरुप्रति जति नै असीम रुपले संलग्न भए पनि यस्ता कन्सर्टहरूले अम्बरको ६ सदस्यीय परिवार थेग्ने अवस्था थिएन । यस्तैमा हो, राजाको जन्मोत्सवको लागि नेपालबाट निम्तो गएको । अनि अम्बर आएर गाए–
सुनको सपना आँशुमा किन हो बाँधिहाल्यौं नि
घरको माया बिर्सेर किन पो यहाँ आयौं नि…
नसम्झ आज नेपाली सञ्चोले यहाँ बाँचेको
काँडाकै माझ फूल छैन र कहाँ हाँसेको… ।

महेन्द्रको ‘वन्स मोर’ पाएपछि गुरुङ हौसिए । पुर्खाको भूमिको स्नेहले गद्गद् भए । अनि गिरीकै अर्को गीत पनि गाए–
नजाऊ फर्की नेपाल उठेर भन्छ देउराली
फर्केर हेर मुगलानको मायालु पाखा चियाबारी

अगमसिंह गिरीले ‘अम्बर नेपाल गएपछि’ शीर्षकको लेखमा उनी नेपाल पस्नुको विवशताको चर्चा गरेका छन् । उनले त्यही काठमाडौं, त्यही पहाड, त्यही खोल्सा, त्यही भञ्ज्याङ, त्यही चाँप–गुराँसका वनपाखाबाट कैयन् विवशता बोकेर, बाध्यताले घचेट्दै लखेट्दै यहाँसम्म आएको भन्दै लेखेका छन्– सरकारी चाकरी उसले छोडिदियो, अनेकले उसलाई दोस्याए ।

त्यस चाकरीबाजीमा कलाकारको स्वतन्त्र व्यक्तित्वको कुठाराघात अनुभव गर्‍यो उसले । संगीतकार र गायक अम्बर गुरुङ त्यहाँ पुगेर आफूलाई मरेको पायो । …रक्सी पिउँदै गरेको एक साँझ उसले मलाई भनेको पनि थियो, “म नोकरी छोड्छु ।” “सोचेर निर्णय गर्नुहोस्”, मेरो छोटो उत्तर थियो । निष्कर्षमा पुगेछ ऊ । उसले बन्धन रुचाएन ।

दार्जीलिङमा नौलो बिहानी खोज्ने आफ्नो र अम्बरको चाहनाको असमयमै निधन हुनुमा गिरीले तत्कालीन दार्जीलिङलाई दोष दिएका छन् । हामीले हाम्रा माया र सहानुभूतिहरू शायद अम्बरका चिहानमा चढाउन साँचिरह्यौं– मृत्युपछि दिइने आडम्बरपूर्ण श्रद्धाञ्जलीको रुपमा– एक कोरा श्रद्धाञ्जली !
गिरीको यो आलेखलाई अम्बरले आफ्नो निबन्धसंग्रह ‘कहाँ गए ती दिन’ मा समेटेका छन् । संग्रहलाई गिरी, शंकर लामिछाने र इन्द्रबहादुर राईप्रति समर्पित गरेका उनले लेखेका छन्– गिरी दाइ, जसले मलाई नेपालीत्वको पाठ पढायो ।

नेपाल आएपछि

स्केचः भानु भट्टराई

स्केचः भानु भट्टराई

आफूलाई मिलिङ कमान (दार्जीलिङ) की रेणुका र नेपालको रिसिङ गाउँ (गोरखा जिल्ला) का उजिरबीचको प्रेमको परिणाम मान्ने अम्बरले काठमाडौं आएलगत्तै तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको संगीत विभागमा नियुक्ति पाए । २०५४ सालमा विभागको संगीत निर्देशक पदबाट निवृत्त भएपछि उनी नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपति बने । यसरी नेपालमा ४७ वर्ष बाँचेका अम्बरले नेपाली आधुनिक संगीतमा यसअघि कहिल्यै नगरिएका प्रयोगहरू गरे ।

क्वायर र कान्टाटा भित्र्याए । नेपाली मौलिक अर्केष्टाको सपना पनि देखे, देखाए । तर, पूरा गर्न सकेनन्, जस्तो कि काठमाडौंमा उनको घर–सपना पूरा भएन ।

अम्बरले एकहजारभन्दा बढी गीतमा संगीत भरेका छन् । त्यसमा ‘रातो र चन्द्र सूर्य’ देखि मालती मंगलेसम्म पर्छन् । त्यसरी उनले शिवशंकर, नातिकाजीको समयमा पनि आफूलाई कायम राखे, एक से एक उत्कृष्ट संगीत दिइरहे ।

उनले आफ्नै रचना, संगीत र स्वरमा ‘कहिले लहर कहिले तरंग’ अल्बम पनि निकाले । अम्बरको नेपाल आगमनमा राजाको निम्तो जोडिए पनि उनी सदैव जनताको रहे । र नै, संघीय गणतन्त्र नेपालको राष्ट्रगानको संगीतकार बन्ने दुर्लभ अवसर पाए । अम्बरको संगीत क्षमताप्रति राष्ट्रिय विश्वासको परिणाम पनि थियो, ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ मा उनको संगीत ।

शंकर लामिछानेले २०२७ सालमा अम्बरबारे लेखे– काठमाडौंमा नातिकाजी र अन्य झल्याकझुलुक देखा पर्ने एक दुई व्यक्तिबाहेक हाम्रो संगीतमा नयाँ मोड दिने काम प्रवासी भाइले नै गरे । ऊ सबैभन्दा बढी संगीतज्ञ हो, त्यसपछि चित्रकार, त्यसपछि कवि र त्यसपछि गायक ।

भेटअघि लामिछाने भूपि शेरचनसँग अम्बरबारे सोध्छन्– ऊ कस्तो मान्छे हो ? भूपिले दिएको गहन परिचयको उल्लेख गर्दै लामिछाने लेख्छन्– ऊ मान्छे शायद होइन, ऊ मित्र हो र जसका लागि मित्र होइन, उसका लागि कलाकार हो र जसका लागि कलाकार होइन, उसका लागि गायक हो र जसका लागि ऊ गायक होइन, उसका लागि ऊ जन्मेको पनि छैन ।

समयको लय
कतिपयको विचारमा, कि भजन कि त लोकगीत चलिरहेको समयमा नेपाली संगीतलाई पाश्चात्य संगीतसँग संयोजन गर्ने कामको थालनी अम्बरबाटै भयो । कसैका विचारमा अम्बरले नेपालमा रवीन्द्र संगीतको प्रयोग गरे । कवि/गीतकार श्रवण मुकारुङको विचारमा भने, अम्बरको पूर्वाद्र्धका रचनाहरूमा रवीन्द्र संगीतको प्रभाव देखियो । “उनी प्रभावको छनक नदिने उपल्लो स्तरका प्रयोगशील संगीतकार थिए”, मुकारुङ भन्छन्, “संगीतको गम्भीर अध्ययन, खोज र प्रयोगका दृष्टिले अम्बर गुरुङ नेपाली संगीतका शिखर हुन् ।”

काठमाडौं विश्वविद्यालयका संगीत विभागका संयोजक लोचन रिजालको विचारमा, अम्बर आफैंमा संगीत विद्यालय हुन् । हरेक संगीतले त्यो समयको इतिहास, समाज र प्रविधिको लय भर्ने हुनाले अम्बरको संगीतको संरचनात्मक अध्ययन गरेर विशेषताहरू पहिल्याउने काम नयाँ पुस्ताको हुने उनी बताउँछन् ।

म दूर भएर के भो
अम्बर गुरुङका कान्छा छोरा शरण गीतकार रत्नशमशेर थापालाई बोलाउन एकाबिहानै कमलपोखरीस्थित थापा निवास पुगे । अनि गुरुङको डेरा पुग्दा थापाले मित्रलाई हार्मोनियमसहित तयार अवस्थामा पाए ।

“रत्नजी गएको राति राम्रो निद्रा परेन, कौशीमा टहलिरहेको थिएँ, अचानक एउटा राम्रो ट्यून आयो । तपाईंलाई सुनाऊँ ?”

उत्सुक थापाले टाउको हल्लाएपछि गुरुङले ट्यून सुनाए ।

“ल भन्नुस्, यो ट्यूनमा म कस्तो भावको गीत लेखूँ ?’

निकैबेर घोरिएपछि गुरुङले भने, “मलाई खोला भन्ने शब्द असाध्यै मन पर्छ ।”

त्यही रात थापाले लेखे–
खोला कति ओभानो, बस्ती बस्ती अँध्यारो
जीवन यात्रामा यी पाइला पाइला
उड्दैछ के विघ्न छारो,
हुँदैछ सास लिन गाह्रो… ।

थापा ती रचनाकार हुन्, जसका सबभन्दा बढी २५ वटा गीतमा गुरुङले संगीत भरे । फुटकर त छँदैछन्, स्वप्निल आँखाभरि देखि शुरु भएको यो दोस्ती दोभान र स्वराञ्जली क्वायरसम्म सघन भयो । “मलाई रत्नशमशेर थापा र अरुणा लामासँग गरेका काम सबभन्दा प्रिय लाग्छन्”, गुरुङले एक अन्तर्वार्तामा भनेका थिए ।

“उपचारका लागि दिल्ली जानुअघि भने उहाँले तपाईसँग मिलेर फेरि केही गर्नुछ हैं रत्नजी भन्नुभएको थियो”, थापा सम्झ्न्छन् । यी दुईको अन्तिम भेट १२ जेठमा राजधानीमा आयोजित सर्र्वज्ञान–विष्णुदेवी संस्कृति पुरस्कार वितरण समारोहमा भएको थियो । तर, त्यहाँ दुवै बोल्न सकेनन् । गुरुङ रित्ता आँखाहरुले एकोहोरो थापातिर हेरिरहेका थिए । र, सायद अन्तिमपटक आफ्नै शब्द र संगीतमा गुन्गुनाइरहेका थिए–

जति भावना छन् सबै रित्ता छन् यति रित्ता
यी आवरणका जम्मै उत्साह छन् रित्ता रित्ता
आफ्नै यी धड्कनहरू भिन्न छन् यति भिन्न
बद्लेछु म स्वयं नै लाचार छु स्वयं चिन्न
म दूर भएर के भो…

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...