रमझमआइतबार, जेठ ३०, २०७३
भारतीय कूटनीतिको आँखीझ्याल
भारतका प्रतिष्ठित कूटनीतिज्ञ महाराजकृष्ण रसगोत्राको आत्मकथा ‘अ लाइफ इन डिप्लोमेसी’ संयोगले नेपाल–भारत सम्बन्ध तिक्ततापूर्ण अवस्थाबाट गुज्रिरहेको बेला सार्वजनिक भएको छ। नेपाल–भारत सम्बन्धका कतिपय विवादास्पद पक्षहरूमा प्रकाश पार्ने प्रसंगहरू नेपाली पाठकका लागि चाखलाग्दो हुने नै भयो।
२००७ सालको क्रान्तिताका राजा त्रिभुवन दिल्लीमा रहँदा रसगोत्रा ‘लियाजो अफिसर’ थिए। त्यसरी नेपाल बुझ्न थालेका उनलाई त्यसलगत्तै काठमाडौं दूतावासमा द्वितीय सेक्रेटरीको जिम्मेवारी मिल्यो। पछि प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा संकटकाल लगाउने बेलामा यिनै रसगोत्रालाई नेपालका लागि राजदूत नियुक्ति गरिन्। त्यतिबेला पनि नेपाल–भारत सम्बन्ध सहज अवस्थामा थिएन। राजा वीरेन्द्रको ‘शान्ति क्षेत्रको प्रस्ताव’ प्रति इन्दिरा बेखुस थिइन्। भर्खर राजा भएका वीरेन्द्र पनि आफ्नो शासनव्यवस्थालाई कमजोर पार्न भारतले नेपाली कांग्रेसलाई भारतीय भूमिमा संरक्षण दिइरहेको ठान्थे।
रसगोत्राले आफूलाई नेपालको लागि भारतीय राजदूत नियुक्त गर्दा प्रधानमन्त्री इन्दिरा गान्धीले बीपी कोइरालालाई नेपाल फिर्ता गराउनेबारे ठोस भूमिका खेलुन् भन्ने अपेक्षा राखेको उल्लेख गरेका छन्। आफ्ना प्रधानमन्त्रीको इच्छा–आदेश अनुसार काम थाल्दा उनी बीपीकी बहिनी विजयालक्ष्मीको सन्मुख हुन पुगे। तिनै विजयालक्ष्मी, जसको सुन्दरतामा रसगोत्रा पहिलो पटक काठमाडौं आउँदै मोहित भएका थिए। त्यसबेला अविवाहित रसगोत्रालाई विवाहको प्रस्ताव राख्नेसम्मको हुटहुटी चलेको तर विजयालक्ष्मीको मगनी भइसकेको थाहा पाएर रोकिएको उनले सम्झेका छन्।
उनले विजयालक्ष्मीमार्फत बीपीसमक्ष आफ्नो सन्देश पुर्याएर भारतीय संस्थापनले नेपाली कांग्रेसलाई सहयोग नगरेको जनाउ राजा वीरेन्द्रलाई दिंदै बीपीको नेपाल फिर्तीको माहोल बनाउन आग्रह गरे। त्यो बेला भारतमा इन्दिराले संकटकालको वहानामा विरोधीहरूलाई धमाधम जेल हालिरहेकी थिइन्। छिमेकी देशको पूर्व प्रधानमन्त्रीलाई पक्राउ गरेर जेल पठाउनु उनका लागि अन्तर्राष्ट्रिय निन्दाको विषय हुन्थ्यो। तर, बीपीको उठबस आफ्ना प्रखर विरोधी जयप्रकाशनारायण, चन्द्रशेखर, जर्ज फर्नान्डिजलगायतका नेताहरूसँग भएकोले इन्दिरा बीपीलाई हरतरहले भारत निर्वासनबाट पन्छाउन चाहन्थिन्।
रसगोत्राका अनुसार, राज्य विरुद्धको अभियोग लगाइएका बीपीलाई नेपालमा शान्तिपूर्ण आन्दोलन गर्ने अवसर प्रत्याभूत गराइएको थियो भने राजालाई प्रजातान्त्रिक पक्षधरले आन्दोलन गरे भारत राजाको पक्षमा रहने आश्वासन दिइएको थियो। रसगोत्राले यस कार्यमा सहजताका लागि राजालाई चिठी लेख्न बीपीलाई सुझाएको र त्यसको केही समयपछिको डिनरमा वीरेन्द्रले आफूलाई बीपीले दुईवटा चिठी पठाएको स्वीकार गरेको खुलासा पनि गरेका छन्।
बीपीमा नेपाल पुनरागमनको छटपटाहट ओखलढुंगा विद्रोहको असफलतापश्चात् उठेको थियो। त्यसका लागि उनी उपयुक्त समयको पर्खाइमा थिए र आफ्ना साथी तथा कार्यकर्ताहरूसँग छलफल पनि चलाइरहेका थिए। इन्दिरा गान्धीको अकस्मात् गलहत्याइबाट फिर्ता पठाइएका भए बीपीले १७ पुस २०३३ मा राष्ट्रिय एकता तथा मेलमिलापको पर्चा लेख्ने समय पाउने थिएनन्। त्यसैले तीन वटै पक्ष– वीरेन्द्र, बीपी र इन्दिराको अलग–अलग स्वार्थ मिल्न पुग्दा बीपीको नेपाल फर्कने निर्णयले ठोस रुप लिएको देखिन्छ।
रसगोत्राको आत्मकथा पढ्दा बीपी इन्दिराको कारणले मात्र नेपाल फर्केका थिएनन् भन्ने स्पष्ट हुन्छ। उनको आत्मकथाले कनकमणि दीक्षित र शास्त्री रामचन्दरनद्वारा सम्पादित ‘स्टेट अफ नेपाल’ मा बीपीको नेपाल फिर्तीका विषयमा उल्लेख भएका कुराहरूलाई सही प्रमाणित गरेको छ। योसँगै रसगोत्राले ‘एक थोक भन्दै, अर्को थोक गर्दै’ जाँदा मातृकाप्रसाद कोइरालाले जवाहरलाल नेहरूको विश्वास गुमाएको संकेत गरेका छन्।
रसगोत्राले नेपालले भारत विरुद्ध प्रयोग गर्ने ‘चाइना कार्ड’ लाई ‘डुरान्ड सिन्ड्रोम’ भनेका छन्। मेजर इ.एल. डुरान्ड सन् १८९० मा काठमाडौंमा ब्रिटिश रेजिडेन्ट थिए। आफ्नै पालादेखि काठमाडौंको भारतीय राजदूतावासमा सांस्कृतिक सहचारीको व्यवस्था भएको र त्यो परम्पराको शुरुआतमा मित्र हरिवंश रायबच्चनलाई अतिथि बनाएको उल्लेख गरेका रसगोत्राले नेपालका शासकहरू आफ्नै भूगोलसँग पर्याप्त सम्मिलित नहुँदा समस्या आउने गरेको लेखेका छन्।
दृढ, स्थिर र अविचलित छिमेक नीतिको आवश्यकता उपशीर्षक अन्तर्गत रसगोत्राले नेहरू र इन्दिरा बाहेक सबै प्रधानमन्त्रीको नेपाल नीतिबारे खुलेर आलोचना गरेका छन्। उनले हिन्दू धर्मका आडमा सत्तामा पुगेको मोदी सरकारले लिएको नेपाल नीतिको घुमाउरो शैलीमा विरोध र समग्र कूटनीतिको तारीफ पनि गरेका छन्। र, विदेश नीति कहिल्यै पनि ‘भावना’ र ‘अति उत्साह’ का आधारमा तय गर्नु खतरनाक हुने पाठ विस्मार्क र तेलरेन्डले सिकाएर गएको उल्लेख गरेका छन्। उनले धार्मिक आस्थालाई कूटनीतिबाट पर राख्नुपर्ने सुझाव दिएका छन्।
मधेशको अधिकारको बारेमा खुला वकालत गरेका उनले कुनै पनि देश आधा स्वतन्त्र र आधा उपनिवेशका रुपमा लामो समयसम्म रहन नसक्ने तथ्य काठमाडौंका ‘कम्युनिष्ट शासक’ ले छिटो बुझेको राम्रो भनेर टिप्पणी गरेका छन्। आश्चर्यको कुरा, नेपालले हालै चीनसँग गरेको व्यापार र पारवहन सम्बन्धी विशेष सन्धि सम्झौतालाई रसगोत्राले नेपाल भारतका अलावा चीनबाट पनि वेष्ठित भएकाले र भारतको बोझ चीनले कम गर्न सघाएको भन्दै स्वागत गरेका छन्।
भारतका पूर्व परराष्ट्र सचिव रसगोत्राको यो पुस्तकले पाकिस्तान, अमेरिका, रुस र चीनसँग दिल्लीले कसरी डिल गर्छ भन्ने कुरा पनि बुझाउँछ। उनले भारत–पाकिस्तान युद्ध र बंगलादेशको जन्मबारे किसिंजरको दावा र ग्यारी जे. व्यासको प्रसिद्ध किताब ब्लड टेलिग्रामको वर्णनभन्दा फरक ढंगले प्रकाश पारेर पुस्तकलाई रोचक बनाएका छन्।