समाचारआइतबार, जेठ ३०, २०७३
राष्ट्रपतिको भारत भ्रमण उपयुक्त समयमा हुन्छ: उपप्रधानमन्त्री थापा
तीन दिने भारत भ्रमण सकेर फर्किएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आफ्नो भ्रमण अत्यन्तै फलदायी एवम् सफल रहेको बताएका छन् ।
सार्क विश्वविद्यालयको पहिलो दिक्षान्त समारोहमा भाग लिन दिल्ली पुगेका थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण अन्तिम समयमा रद्द भएकाप्रति भारतको चित्त दुखाइ रहेको तर भारतीय समकक्षी सुष्मा स्वराजसँगको भेटवार्तामा नेपालमा अचानक राजनीतिक अस्थिरता आइपरेको र त्यो अस्थिरताको सामनाका लागि राष्ट्रपति भण्डारीको उपस्थिति अनिवार्य भएका कारण अन्तिम समयमा भारत भ्रमण रद्द गर्नुपरेको बताएको जानकारी दिए।
उनले राष्ट्रपति भण्डारीले चाँडै नै भारतको भ्रमण गर्ने भन्दै भारतका राष्ट्रपतिले पनि उपयुक्त समयमा नेपालको भ्रमण गर्ने दाबी गरे । “उच्चस्तरमा हुने भ्रमणको महत्वलाई दृष्टिगत गरी अझ सामीप्यता कायम गर्न दुवै मुलुकका राष्ट्रपतिको भ्रमणको तयारी कूटनीतिक माध्यमबाट उपयुक्त समयमा मिलाइने सहमति भएको छ,” थापाले भने ।
भारतमा रहँदा उपप्रधानमन्त्री थापाले पूर्वप्रधानमन्त्री मनमोहन सिंह र विदेशमन्त्री सुष्मा स्वराजलगायतका नेता र उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।
थापा आफूले भारत भ्रमणका क्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधान कार्यान्वयनको अवस्थाबारे जानकारी गराएको तर कुनै ‘प्रेसक्रिप्सन’ भने नल्याएको बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री थापाले भने– “नेपाल र भारतबीचको सम्बन्ध सुदृढ हुँदै गएको छ ।” दुई देशबीचको सम्बन्धमा तिक्तता र असमझदारी छ भनेर चर्चा र आशङ्का गरिए पनि यथार्थमा त्यो सही नभएको भन्दै परराष्ट्रमन्त्री थापाले दुई देशबीचको सम्बन्धमा कहीँ कतै अवरोध नदेखिएको दाबी गरे ।
नेपालको संविधानमा सबैको स्वामित्व कायम हुन सकोस्, नेपालमा शान्ति, स्थायित्व र प्रजातन्त्र बलियो हुन सकोस् भन्ने भारतीय पक्षको चासो र चिन्ता रहेको बताउँदै परराष्ट्रमन्त्री थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षमा समीक्षा भएको जानकारी दिए । उनले भने– “अहिले दुवै देशबीचको सम्बन्ध सुमधुर ढङ्गबाट अघि बढेकामा दुबै पक्षबाट सन्तोष व्यक्त गरिएको छ ।”
नेपाल र भारतबीच आगामी जुलाइभित्र १३ वटा द्विपक्षीय बैठक तथा आगामी अक्टोबरमा संयुक्त संयन्त्रको अर्को बैठक बस्ने तयारी गरिएको मन्त्री थापाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
