थप समाचारसोमबार, जेठ ३१, २०७३
अमेरिकाः नाइटक्लबमा गोली चल्दा ५० को मृत्यु
अमेरिकाको फ्लोरिडास्थित ओरल्याण्डो शहरको नाइटक्लबमा भएको गोलीबारीमा मृत्यु हुनेको संख्या ५० पुगेको छ ।
शहरको पुरुष समलिंगीहरुको क्लब पल्समा आइतबार राति करिब २ बजे एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ५० जनाको मृत्यु भएको र थप ५३ जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
फ्लोरिडाका २९ वर्षीय युवक ओमार मतिनले क्लबमा एक्कासी गोली चलाएको प्रहरीले जनाएको छ । मतिनले क्लबमा आक्रमण गर्नुअघि प्रहरीको आकस्मिक सेवामा फोन गरी आफूले गोली हान्न लागेको र आफू इस्लाम चरमपन्थी आइएसको सदस्य भएको बताएका थिए ।
अमेरिकी अनुसन्धान संस्था एफबीआईले उनी अफगानिस्तानबाट आएका आप्रवासीका छोरा भएको तर, आइएससँग प्रत्यक्ष सम्पर्कमा रहेको कुनै प्रमाण नरहेको बताएको छ ।
राष्ट्रपति बराक ओबामाले घटनालाई आतंकवादी भन्दै चरमपन्थी र घृणाको कारवाही भनेका छन् । उनले हत्याराको नियतबारे अझै पनि स्पष्ट हुन नसकेको उल्लेख गरेका छन् ।
घटनापछि फ्लोरिडामा संकटकाल लागू गरिएको छ ।
प्रहरीका अनुसार क्लबमा अन्य व्यक्तिलाई बन्धक समेत बनाएका आक्रमणकारीको प्रतिकार्वाहीमा क्लबमै मृत्यु भएको छ ।
आक्रमणकारी मतिनका बारे तीन वर्षअघि नै प्रहरीले सोधपुछ गरेको थियो जब उनले सहकर्मीसामू उग्रवादी बयान दिई आफ्नो चरमपन्थीसँग सम्बन्ध रहेको दाबी गरेका थिए ।
मतिनका पिता मीर सादिकले एनबीसी न्यूजसँग कुरा गर्दै यो घटनाको धर्मसँग कुनै सम्बन्ध नरहेको बरु समलिंगीहरुले आपसमा चुम्बन गरिरहँदा आफ्नो छोरा आक्रोशित भएको हुनसक्ने बताएका छन् ।
यसअघि सन् २००७ मा भर्जिनिया टेक युनिभर्सिटीमा एकजना गोली चलाउँदा ३२ जनाको ज्यान गएको थियो ।
बीबीसीका अनुसार सन् २०१५ मा मात्रै अमेरिकामा भएका आम गोलीकाण्डका करीब ३२७ घटनामा ४७५ जनाको ज्यान गएको छ भने १८७० जना घाईते भएका छन् ।
अमेरिकी कानून अनुसार आम नागरिकहरुले सहजै बन्दुक किन्न पाउँछन् । तर, यस्ता घटनहरु भइरहँदा बन्दुक राख्न पाउने नियम परिवर्तनका लागि सरकारलाई दबाब पर्ने गरेको छ ।