अन्तर्वार्ता/विचारसोमबार, जेठ ३१, २०७३
नेपाली संगीतका महर्षि
राष्ट्रले अम्बर गुरुङलाई राष्ट्रगानको सङ्गीत भर्ने जिम्मेवारी दियो र उनको अन्तिम यात्रामा राजकीय सम्मान गरेर कृतज्ञता पनि व्यक्त गर्यो । तर, राष्ट्रगानको सङ्गीत मात्र उनको योगदान हो त ?
नेपाली सङ्गीतको आकाशमा अम्बर गुरुङको पदार्पण त्यसबेला भयो जतिबेला ‘शिरमाथि नेपाल आमालाई, काँधमाथि महेन्द्र राजालाई’ भन्ने धर्मराज थापाको काल सकिन बाँकी नै थियो । आधुनिक भनिने गीतहरू नबनेका होइनन्, तर सबैले मन पराएर गाउने साझा गीत थिएनन् । गाउन रुचाउनेहरू यसोउसो हिन्दी फिलिमका गीतकै सहारा लिन्थे ।
नातिकाजीको ‘पहाड बसी वनमा खेली हुर्केकी अकेली’ र पन्नाकाजीको ‘तिरिरी मुरली बज्यो वनैमा’ निकै चलेका थिए, तर हिन्दीको डङ्का कहाँसम्म भने नातिकाजी र पन्नाकाजीको गलामा पनि तलत महमूदको खोजी हुन्थ्यो । त्यस्तो बेलामा आएको थियो ‘नौ लाख तारा’ जो सङ्गीत रचनाका दृष्टिले नितान्त नौलो धारको थियो ।
हिन्दी फिलिमका प्रसिद्ध सङ्गीतकार ओ पी नय्यर शब्दलाई गीतको आत्मा, सङ्गीतलाई शरीर र स्वरलाई लिवास भन्थे । ‘नौ लाख तारा’ मा आत्मा, शरीर र लिवासको अद्भुत सङ्गम भएको थियो ।
दार्जीलिङवासी नेपालीभाषी समुदायले उसबेला महसूस गरेको छटपटी, असन्तुष्टि र उहापोहले अभिव्यक्ति पाएको थियो त्यस गीतमा । कालान्तरमा त्यो असन्तुष्टि गोर्खाल्यान्ड आन्दोलनका रूपमा विस्फोटन हुन पुग्यो ।
गीतको मर्म आफ्नो ठाउँमा छँदैछ तर त्यसको सङ्गीत सृजनामा आधुनिक मात्र होइन उत्तर आधुनिक आयाम भेटिन्छ, ‘आर्ट एकेडेमी’ कालदेखिकै अम्बर गुरुङका गिटारवादक चेला, विश्वासपात्र र परिवारका सदस्य सरहका पीटर कार्थकको विचारमा ।
अम्बर दाइ कहिलेकाहीं आश्चर्य प्रकट गर्थे, ‘नौ लाख तारा’ को असीमित लोकप्रियतामा । जहाँ गए पनि त्यो गीत नगाई नहुने मानौं, उनको सृजना त्यसबाट एक पाइला अघि बढेकै थिएन । उनको हिसाबमा ‘ए माइनर’ बाट थालिएको त्यस गीतको सङ्गीत सीधा, सोझो र खर्खरी बगेको थियो ।
त्यस गीतमा गिटार बजाउने पीटर कार्थकको भनाइमा चाहिं त्यो क्रान्तिकारी कदम थियो– रचना, संयोजन, कर्ड प्रोग्रेसन, स्केल, हार्मोनी, अर्केस्ट्रेसन– हरदृष्टिमा । त्यस गीतमा पाश्चात्य सङ्गीतको जुन ढाँचा र ढब छ, त्यो अम्बर गुरुङको साङ्गीतिक हस्ताक्षर र बेञ्चमार्क पनि बन्न पुग्यो नेपाली आधुनिक सङ्गीतमा ।
‘ए कान्छा मलाई सुनको तारा खसाई देऊ न’ वा ‘घाम जून पञ्च राखी बाचा मार’ जस्ता गीतमा नेपाली लोकलयको झल्को पाइन्छ तर पाश्चात्य सङ्गीतको रङ अम्बर गुरुङको रचनामा स्थायी भावका रूपमा टाँसिएर बस्यो ।
रेलको छुक् छुक् जस्तो तालको ‘म अम्बर हुँ तिमी धर्ती’ होस् या ‘तिमी आऊ बहार पर्खिरहेको छु’ वा भूपि शेरचन रचित अरुणा लामाको स्वरको ‘किन यौवन उदास उदास छ मेरो’ होस् तिनमा त्यही रङको प्राधान्य पाइन्छ ।
‘तिमी आऊ बहार’ त दार्जीलिङका गोरा साहेब र मेमहरूबीच पनि लोकप्रिय भएको सुनाउँथे, अम्बर दाइ । उनीहरूलाई शब्दले होइन, सङ्गीतको धुनले तानेको थियो, जो ‘वाल्ज’ को बिटमा थियो । त्यसको रेकर्ड बजाएर नाच्थे रे उसबेलाको नामुद ग्लेनरिज रेष्टुराँमा विदेशी जोडीहरू ।
‘हेर जूनले भन्यो, फूलमा बहार छ’ भन्ने एउटा गीत थियो अम्बर दाइले अरुणा लामासित गाएको । त्यसमा मोत्जार्टको सिम्फोनीको स्पष्ट प्रभाव सुन्न पाइन्छ । ‘तिमी भूलमा पर्यौ, म पनि झुक्किएँ’ त यस्तो गीत हो, जसको सङ्गीत, रचना अम्बर गुरुङबाहेक अरूबाट हुने कल्पनै गर्न सकिन्न ।
त्यो गीत कसरी रचियो र किन धेरै वर्षसम्म प्रकाशमा आएन, त्यसको रोचक प्रसङ्ग छ । शब्दमा मर्म बाहेक त्यसमा चरमोत्कर्षमा पुगेको छ अम्बर गुरुङको हस्ताक्षर सङ्गीत । डी मेजरबाट थालेर त्यसको स्थायीलाई एक अन्तरापछि उकासेर इ फ्ल्याटमा गाइएको त्यो गीत बेजोडा छ ।
अम्बर दाइ भन्ने गर्थे, “यसमा पूरै दार्जीलिङ गन्हाउँछ ।” अर्थात् त्यसमा दार्जीलिङको पूरापूर महक छ, सुगन्ध छ ।
दार्जीलिङ भनेको ब्रिटिशहरूले बनाएर ‘पहाडकी रानी’ का रूपमा स्याहारेका र आफ्नो भाषा, शिक्षा, संस्कृति, कला, धर्म यावत् कुराले सजाएको ठाउँ हो । पाश्चात्य शास्त्रीयदेखि आधुनिक रक एन रोलसम्मका रेकर्ड सुन्न पाइने वातावरण थियो त्यो ब्रिटिशमय दार्जीलिङमा ।
चर्चमा गाइने भजन या सामूहिक गीत ‘कोयर’ सुन्न पाइन्थ्यो । अर्गनदेखि सबै किसिमका आधुनिक बाजा बजाउन पाइने सुविधा उपलब्ध थियो त्यहाँ, जसको भरपूर उपयोग भयो अम्बर गुरुङबाट । त्यसैले, थाहै नपाई उनको रक्तकोषमा पाश्चात्य सङ्गीतप्रतिको अनुराग घोलिएको हुन सक्छ । अम्बर गुरुङका सृजनामा प्रस्फुटित हुने रङ यसैको परिणाम हो ।
पश्चिमी सङ्गीतका हरेक पक्षलाई उतार्ने प्रयत्नमा पीटर कार्थकहरूको ब्यान्ड ‘हिलियन’ का लागि भनेर बिटल्सकै ढाँचामा ‘राम्रा राम्रा भावमा, मीठा मीठा ती कुरा’ भन्ने गीत बनाइदिनेदेखि ‘क्यान्टेटा’ र ‘कोयर’ को अनि सिम्फोनी अर्केष्ट्राको सङ्गीत रचना गर्नेसम्मको काम अम्बर गुरुङबाट भयो ।
क्यान्टेटालाई साङ्गीतिक काव्य र कोयरलाई भिन्न स्वर श्रेणीलाई समायोजन गरेर गाइने सामूहिक गान भनेर बुझे हुन्छ । क्यान्टेटाको आस्वाद लिने मौका कतिलाई मिल्यो कुन्नि, तर संवत् २०५४ मा रेडियो सगरमाथाको उद्घाटन नेपाल एकेडेमीको हलमा कोयरको प्रस्तुतिबाट भएको सम्झना धेरैलाई अझै होला । त्यसमा अम्बर गुरुङले पियानो बजाएका थिए ।
दार्जीलिङ छँदै उनीबाट रचना भएको सिम्फोनी अर्केष्ट्रा सङ्गीतलाई उनकै चेला राजकुमार श्रेष्ठको निर्देशनको वाद्यवृन्दले केही अघि मात्र काठमाडौंमा प्रस्तुत गरेको थियो ।
तर अम्बर गुरुङलाई नेपाली आधुनिक सङ्गीतमा पश्चिमा शैलीको रचनाधर्मिता मिश्रण गर्ने सङ्गीतकारका रूपमा मात्रै बुझ्नु गलत हुनेछ । एकाङ्गी हुनेछ । एक पटक यलमाया केन्द्रमा आयोजित एकल प्रस्तुतिमा उनले राग गाएर हिन्दूस्थानी शास्त्रीय सङ्गीतमा रहेको आफ्नो पकड देखाएका थिए ।
उनका अनेकौं गीत रागआधारित छन् । ‘रातभरि दीयो जलाइरहें’, ‘सम्हालेर राख’, ‘बिर्से पनि अरू सबै’ लगायतका गीतहरू त्यसका केही उदाहरण हुन् । ‘किन यौवन उदास उदास छ मेरो’ गीतलाई ठुमरीमा पनि स्वरबद्ध गरिएको थियो भन्ने थाहा पाउँदा मलाई झैं धेरैलाई आश्चर्य लाग्ला ।
शान्ति ठटाल झैं सङ्गीत सिक्न कलकत्ता नझरे पनि शायद दार्जीलिङको माहोलमा रवीन्द्र सङ्गीतको तान पनि कतै घुसेको थियो अनायासै अम्बर गुरुङको सङ्गीतमा । सन् ६० को दशकमा रेडियो नेपालबाट बजेको ‘आँखाभरि तिम्रो तस्वीर छातिभरि गीत’ भन्ने गीतमा रवीन्द्र संगीतको प्रभाव फेला पार्न सकिन्छ । कति त वैरागी काइँला रचित ‘मेरो दुःखी मन सपना नै खोज’ मा पनि त्यो प्रभाव रहेको मान्छन् ।
अम्बर गुरुङको सङ्गीतमा पाइने पूर्वीय र पाश्चात्य सङ्गीत परम्पराको समागम नै उनको वैशिष्ट्य बन्न पुग्यो । नेपालका लोकगीत र लोकलयलाई नेपालीको मौलिक पहिचान मान्थे उनी । तर आफ्नो मिजास र अभ्यासले गर्दा स्वतः आधुनिकतर्फ डोरिनु उनको स्वभाव बनिसकेको थियो ।
सृजनशीलता र विलक्षणताका हिसाबले अम्बर गुरुङ र हिन्दी फिल्मका मानिएका सङ्गीतकार सलील चौधरीबीच समानताहरु फेला पर्छन् । चौधरीले पनि हिन्दूस्थानी र पश्चिमा सङ्गीत खर्लप्पै निलेका थिए । उनले मोत्जार्टलाई सर्लक्क उतारेका छन् सन् १९६१ मा प्रदर्शित फिल्म ‘छाया’ को ‘इतना न मुझ से तु प्यार बढा’ भन्ने गीतमा, जो तलत महमुद र लता मङ्गेसकरले गाएका थिए ।
सलील चौधरी कम्पोजर, गायक, गीतकार, अरेञ्जर र कन्डकटर थिए । उनले लेखेको कथामा केही फिल्म पनि बने । उनी पियानोका अतिरिक्त बाँसुरी र इसराज बजाउँथे । अम्बर गुरुङमा ती सब गुणहरू मौजूद थिए– गायक, संगीतकार, गीतकार, अरेन्जर सबैथोक ।
सृजनात्मक संगीतमा अग्रसर हुनुअघि उनी भायोलिन र मेन्डोलिन बजाउँथे । सलीलले झैं उनले फिल्मका लागि कथा त लेखेनन्, तर त्यो कमी पनि पूरा गरे, संस्मरणात्मक लेखहरूको सँगालोबाट ।
अम्बर गुरुङको गद्यमा आफ्नै मिठास र शैली पाइन्छ । ‘गीतमा भाषा हामीले हाल्ने हो, तर सङ्गीतको भाषा सङ्गीत नै हो, त्यसको अन्तर्राष्ट्रिय अपिल हुन्छ र त्यो सीमाहीन हुन्छ’ भन्ने मान्यता थियो उनको ।
साँध र सीमानाहीन सङ्गीत सृजनाको त्यस्तै मान्यता सलील चौधरीले पनि बोकेका थिए । अनि दुवैमा सङ्गीतको व्याकरण तोड्न सक्ने सामथ्र्य थियो । व्याकरण त्यसैले तोड्छ जसले बनाउन सक्छ ।
कहाँनिर बाख छुस्स पस्यो, कहाँ बिथोबीनको टुक्रा छिर्यो, कहाँ मोत्जार्ट वा सुबर्ट घुसे, त्यो सङ्गीत मर्मज्ञले मात्र थाहा पाउँछ । हामी जस्ता सामान्य श्रोताले त प्राविधिक पक्षभन्दा समग्र प्रतिफलमा ध्यान दिन्छ, कुन गीतले मन छुन्छ, त्यो खोज्छ ।
त्यसैले स्तरीयता र लोकप्रियतालाई एकसाथ हिंडाउनु गाह्रो छ, तर अम्बर गुरुङका अधिकांश रचनाले ती दुवैलाई साथ हिंडाएका छन् ।
संयोग मान्नुपर्छ, अम्बर गुरुङको साङ्गीतिक उदय भइरहेकै बेला इन्द्रबहादुर राई, बैरागी काइँला र ईश्वरबल्लभबाट नेपाली साहित्यमा ‘तेस्रो आयाम’ नामको नौलो आन्दोलन थालिएको थियो, दार्जीलिङमा ।
यी त्रिमूर्तिका साथै अगमसिंह गिरीको सान्निध्यबाट हुनुपर्छ उनको बौद्धिक चेत तिखारिएको । त्यही कारण उनले काठमाडौंमा पनि शंकर लामिछाने, भूपि शेरचन, उत्तम कुँवर, बालमुकुन्ददेव पाण्डे प्रभृति साहित्यकारहरूसित काँधमा काँध मिलाउन सके ।
यदि अम्बर गुरुङको सृजनामा पाइने उच्च बौद्धिक स्तर र जटिलताको अंश कसैले फेला पार्छ भने त्यो उनको साहित्यिक उठबस र अध्ययनशीलताको परिणाम हो ।
अल्पभाषी, अल्पाहारी र अन्तर्मुखी अम्बरको व्यसन, अभीष्ट जे भने पनि त्यो सङ्गीत सृजना थियो । सांसारिक वृत्तिबाट बेखबर, भौतिक लाभहानिबाट निस्पृह, सङ्गीतमा लिप्त, त्यसैमा एकाग्र ।
मानिसहरू फूटबल म्याच हेर्न घर छेउबाट ग्वारग्वार गइरहेछन्, अम्बर गुरुङ एकाग्र भएर कुनै बाजा बजाइरहेछ । म्याच सकिएर मानिसहरू त्यही बाटो ग्वारग्वार फर्किरहेछन्, अम्बर गुरुङ बजाइरहेछ ।
त्यो देखेर इन्द्रबहादुर राई भन्थे रे, “अम्बरको जस्तो एकाग्रता हुनुपर्छ ।” एकलव्यतुल्य एकाग्रता थियो अम्बर गुरुङको । एकलव्यले द्रोणाचार्यलाई गुरु थापेका थिए, को थिए त अम्बर गुरुङका द्रोणाचार्य ? कसैको प्रतिमा स्थापना गरेर गुरु थापेको उनलाई शुरूदेखि चिन्नेलाई पनि थाहा छैन । उनले जे सिके स्वाध्यायले, जे गरे स्वाध्यायले । उनी जुन सोपानमा पुगे, निरन्तरको प्रयास र विलक्षणताको बलमै पुगे ।
राजाले बोलाएको व्यक्तिलाई किन अधिकृत स्तरको पद मात्रै मिल्यो, शुरूमै एकेडेमिसिएन वा कम्तीमा पनि निर्देशकको पद किन मिलेन, त्यो अनुत्तरित प्रश्न हो । यसबाट केही खिन्नता हुँदो हो । त्यसले केही सीमा र बन्देज पनि खडा गरेको हुँदो हो ।
तथापि, रोयल एकेडेमीमा रहेकै समयमा ‘मुनामदन’ र ‘मालती मङ्गले’ को सङ्गीत रचना हुनसकेको तथ्यलाई बिर्सन हुँदैन । यी दुवैको सङ्गीत आधुनिक नेपाली सङ्गीतका कोसेढुङ्गा हुन् । अम्बर गुरुङको सङ्गीतले नारायणगोपालको स्वर पाएको समय पनि त्यही हो ।
सैनिक सेवालाई एक मात्र पुरुषोचित कर्म ठान्ने कठोर स्वभावका पिताको निरन्तर कोपभाजनमा परेर पनि अम्बर गुरुङले सङ्गीतलाई आजीवन अँगाल्नुको कारण पीटर कार्थकले भने झैं सम्भवतः ‘दैवी’ थियो ।
अम्बर गुरुङलाई वृक्षको मूलको रूपमा कल्पना गरेर गोपाल योञ्जन, कर्म योञ्जन, शरण प्रधान, अरूणा लामा, जितेन्द्र बर्देवा, शान्ति ठटाल, रनजीत गजमेर आदिलाई शाखा–प्रशाखा बताउने पीटर कार्थक आफ्ना हरेक लेखोटमा अम्बर गुरुङका लागि ‘मायस्ट्रो’ विशेषण प्रयोग गर्छन् ।
अङ्ग्रेजी ‘मायस्ट्रो’ को नजिक उर्दूको ‘उस्ताद’ होला या संस्कृतमा ‘पण्डित’ वा ‘आचार्य’ हुन सक्ला । मलाई भने महर्षि शब्दले अम्बर गुरुङलाई राम्ररी चिनाउँछ भन्ने लाग्छ– सङ्गीतका यस्ता महर्षि जसको जन्म घरीघरी हुँदैन ।