समाचारसोमबार, जेठ ३१, २०७३
अख्तियार प्रमुख लोकमानको निवेदन सर्वोच्चद्वारा खारेज
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले ‘कामु प्रधानन्यायाधीश सुशीला कार्की आफ्नो नातेदार भएकाले आफूविरुद्धको मुद्दा हेर्न नमिल्ने’ जिकिर गर्दै दर्ता गरेको निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
लोकमानले कामु प्रधानन्यायाधीशसँग आफ्नो सातपुस्ते नाता पर्ने भन्दै आफूविरुद्धको मुद्दा हेर्न नमिल्ने दाबीसहितको निवेदन सर्वोच्च अदालतमा दर्ता गरेका थिए।
लोकमानले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा परेको रिट ३१ जेठमा कामु प्रधानन्यायाधीश कार्कीको इजलासमा परेको थियो।
इजलासमा मुद्दाको पालो आएपछि लोकमानका तर्फबाट ’सात पुस्ताभित्रको नातासम्बन्धी पर्ने भएकाले लोकमानविरुद्धको मुद्दा प्रधानन्यायाधीशले हेर्न नमिल्ने’ जिकिर गर्दै पेस गरिएको थियो ।
तर अख्तियार प्रमुख कार्कीको आफूसँग कुनै नाता नपर्ने भन्दै कामु प्रधानन्यायाधीश कार्कीको एकल इजलासले निवेदन खारेज गरिदिएको हो ।
प्रधानन्यायाधीशको नाता सम्बन्धी समाचार भ्रामक: सर्वोच्च