थप समाचारसोमबार, जेठ ३१, २०७३
अनुदान वितरणका लागि ५९ बैंकसँग सम्झौता
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घर पुनःनिर्माणका लागि दिने अनुदान रकम वितरणका लागि ५९ वटा बैंकसँग सम्झौता गरेको छ ।
अनुदान रकम वितरणलाई व्यवस्थित बनाउन बैंक मार्फत रकम वितरण गर्ने प्राधिकरणको नीति अनुसार बैंकसँग सम्झौता गरिएको प्राधिकरणका सह प्रवक्ता डा. भिष्म भुषालले बताए ।
प्राधिकरण र बैकर्स एशोसियसनबीच भएको समझदारीपत्र अनुसार अनुदान रकम वितरणका लागि प्राधिकरण र ५९ वटा बैंकबीच छुट्टाछुट्टै सम्झौता भइसकेको उनले जानकारी दिए ।
प्राधिकरणले भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि ११ जिल्लाका ७४ हजार ४ सय ८१ घरधनीसँग सम्झौता गरेको छ ।
उपत्यका बाहिरका भूकम्प अतिप्रभावित ११ जिल्लामा गाविस सचिव र घरधनीबीच अनुदान सम्झौता भएको सह प्रवक्ता डा. भुषालले बताए । ।
अनुदान रकम बैंकमार्फत वितरण गर्न प्राधिकरणले केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई निर्देशन समेत दिईएको उनले बताए ।
नेपाल बैंकर्स एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियसन र नेपाल फाइनान्सियल इन्स्टिच्यूसन एशोसियसनसँग १४ जेठमा गरिएको समझदारी पत्र अनुसार प्राधिकरणले केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई स्थानीय स्तरमा जिल्ला विकास समिति मार्फत सेवा प्रदायक बैंकहरुसँग समन्वय गरी अनुदान वितरणको कार्य अघि बढाउन निर्देशन दिएको हो ।
अनुदान रकम वितरणका लागि यसअघि नै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई १२ अर्ब ४४ करोड ६८ हजार रुपैयाँ निकासा गरिसकेको छ ।भूकम्पले क्षति पुगेका ११ जिल्लामा ७ लाख १७ हजार ७ सय १८ घरधनीको प्राधिकरणले सर्वेक्षण गरेकोमा ५ लाख ३३ हजार ४ सय ५४ घरधनी अनुदान पाउने सूचीमा परेका छन् । सर्वेक्षणका क्रममा घरको क्षतिलाई १,२,३,४ र ५ तहमा वर्गिकरण गरेर राखिएको छ ।