समाचारमंगलबार, जेठ ३२, २०७३
लोकमानको सम्पत्ति विवरण अख्तियारले नदिएपछि सूचना आयोगमा उजुरी
तीन पटकसम्म निवेदन दिँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्तको सम्पत्ति विवरण उपलब्ध नगराएपछि सुमन श्रेष्ठले सूचना आयोगमा उजुरी दर्ता गराएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पारदर्शी र जवाफदेही हुनुपर्ने भन्दै प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै आएका श्रेष्ठले आज, ३२ जेठमा सूचना आयोगमा उजुरी दर्ता गराएका हुन् ।
श्रेष्ठले जारी गरेको विज्ञप्तिमा सूचना आयोगमा उजुरी दर्ता गराउनु अगाडि तीन पटकसम्म प्रमुख आयुक्त कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरी अख्तियारमै निवेदन दिएको तर कुनै सुनुवाई नभएपछि सूचना आयोग गएको उल्लेख छ ।
आफ्नो निवेदन उपर अख्तियार प्रमुख र आयुक्तहरु मौन रहनुले अख्तियारको नियतमा प्रश्न उठाएको बताउँदै उनले अख्तियार अझै स्वेच्छाचारी ढंगले अगाडि बढ्न खोजेको उल्लेख गरेका छन् ।
अख्तियारले मेडिकल शिक्षाको क्षेत्रमा समेत हस्तक्षेप गरिरहेको उल्लेख गर्दै श्रेष्ठले विज्ञप्तिमा भनेका छन्, ‘अख्तियार प्रमुखको रुपमा लोकमानले विधिको शासनमा देखाएको उपेक्षालाई नागरिक र संसदीय तहमा निगरानी गर्न सकिएन भने भ्रस्टाचार निवारण होइन भयको शासनलाई मात्र बढावा दिने देखिन्छ ।’
लोकमानले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेसम्म उनका कुनै कार्यप्रति विश्वास गर्न नसकिने श्रेष्ठको जिकिर छ ।