समाचारबुधबार, आषाढ १, २०७३
सर्पले टोक्यो हातमा, रिपोर्टमा लेखियो खुट्टामा
अस्पतालको लापर्वाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्त आन्दोलित, अस्पतालद्धारा छानबिनको आश्वासन
–दीपक ज्ञवाली, बुटवल
बुटवलको लुम्बिनी अञ्चल अस्पतालले उपचारमा लापरबाही गर्दा आफ्नो बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलित भएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६, गणेशनगरका विशाल हिताङ(१६)लाई सर्पले डसेपछि आफन्तले अस्पतालमा उपचारका लागि पुर्याएका थिए । अस्पतालले भरतपुर रिफर गर्यो र, भरतपुरको अस्पतालले ढिला आएको भन्दै सोही दिन मृतक घोषणा गर्यो ।
हातमा सर्पले टोकेको भएपनि रिफर गर्दा अस्पतालको रिपोर्टमा खुट्टामा टोकेको लेखिएको र ढिलो रिफर गरेकाले मृत्यु भएको भन्दै आफन्त आक्रोशित भएका हुन् । राति सुतेको समयमा ३० जेठमा सर्पले टोकेपछि आफन्तले भोलिपल्ट बिहान लुम्बिनी अञ्चल अस्पतालमा लगेका थिए ।
अस्पताल पुग्दासम्म सामान्य अवस्थामा रहेका हिताङलाई दुई घण्टा उपचारपछि आइसीयु खाली नभएको कारण देखाउदै भरतपुर रिफर गरेको आफन्तले बताए ।
भरतपुरमै उपचारको क्रममा उनको मृत्यु भएको हो । । मृतकका बाबु तिलक हिताडले हातमा सर्पले टोकेकालाई खुट्टामा लेखिएको, ढिलो रिफर गरिएको र गलत रिपोर्ट दिएका कारण छोराको मृत्यु भएको दावी गरे ।
आफन्तहरुले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाहीको माग गर्र्दै अस्पताल प्रशाशनलाई पत्र बुझाएका छन् । तीन दिनभित्रमा घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही नभए थप आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।
३२ जेठ विहान अस्पताल परिसरमा पत्रकार सम्मेलन समेत आयोजना गरी अस्पताल र चिकित्सकका नाममा पटक पटक विरामीमाथि हुने गल्ती सच्चाउन माग गरेका छन् ।
ध्यानाकर्षणपत्र बुझाउँन गएका आफन्तलाई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विकासदेवकोटाले तत्काल घटनाको छानबिन गरी तथ्य बाहिर ल्याउने बताए ।
उक्त अस्पतालमा केही बर्षअघि पनि अर्कै खुट्टामा समस्या भएकी पाल्पाकी एक बालिकाको अर्कै खुट्टामा अप्रेशन गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
