समाचारबुधबार, आषाढ १, २०७३
अर्को वर्ष वैशाख-जेठमा प्रदेशको निर्वाचन: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको पूर्ण कार्यान्वयन, सङ्क्रमणकालको सुखद् समाप्ति गर्दै मुलुकलाई अघि लैजान सरकार सचेत ढङ्गले क्रियाशील रहेको दाबी गरेका छन् ।
लोक सेवा आयोगको ६६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले डेढ वर्षभित्रै स्थानीय निकाय, प्रदेश र संसदको निर्वाचन गरिसक्ने दाबी गरे । उनले भने, ‘‘अब बाँकी रहेको डेढ वर्षको समयमा स्थानीय निकाय, प्रदेश र संसद्को निर्वाचन लगभग सिध्याउने छौँ, आगामी भदौसम्ममा आवश्यक ऐन बनाएर मङ्सिरसम्ममा स्थानीय तहको, आगामी वैशाख–जेठमा प्रदेशको तथा अर्को वर्षको कात्तिक–मङ्सिरसम्ममा संसद्को निर्वाचन गरेर संवैधानिक व्यवस्थालाई पूर्णता दिइनेछ ।’’
राज्यको शासन प्रणाली असफल भएमा सरकार मात्र होइन, कोही पनि सफल हुन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकार, संसद्, संवैधानिक निकाय र राजनीतिक दल सबै पक्ष सफल हुने ढङ्गबाट प्रस्तुत हुन आग्रह गरे ।
लोकतन्त्रको अनुभूति आम जनतामा प्रत्याभूति भएको खण्डमा सबै निकायले स्वतन्त्र ढङ्गले काम गर्न सक्छन् भन्दै उनले जनताका दक्ष सेवक योग्यता र प्रतिस्पर्धाका आधारमा छनोट गर्ने कार्यमा आयोगले गर्दै आएको योगदानको प्रशंसा गरे ।
उनले भने, ‘‘आम जनतामा आयोगले विश्वास भरेको छ, सबैभन्दा ठूलो कुरा विभेद, पक्षपात र भेदभावको मनसाय छैन, पारदर्शिता र निष्पक्षताको विधिलाई आत्मसात् गरेको छ ।’’
लोकतन्त्र सन्तुलनको व्यवस्था भएकाले पारदर्शिता र स्वच्छताले आयोगलाई सवल र प्रभाकारी तुल्याउने कार्यमा आवश्यक सहयोग पुर्याउन सरकारबाट कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाए ।
निजामती प्रशासनमा रहने कर्मचारीको भर्ना, छनोट र सरुवाका लागि अनुमति दिने जिम्मेवारी निभाउँदै आएको आयोगले पछिल्लो समय सरकारी स्वामित्वमा रहेका एवम् सरकारको ५० प्रतिशतभन्दा बढी लगानी भएका सङ्घसंस्थामा समेत परीक्षा सञ्चालन गर्ने जिम्मेवारी पाएको छ ।
रासस